पर्यटन प्रवर्द्धनार्थ पनौतीमा ‘साइक्लिङ’को सुरुआत – Nepal Press

पर्यटन प्रवर्द्धनार्थ पनौतीमा ‘साइक्लिङ’को सुरुआत

पनौती । पर्यटन प्रवर्द्धनार्थ पनौती नगरपालिकाले पर्यटकीय क्षेत्र फुल्चोकी र नागी डाँडामा साहसिक खेल ‘साइक्लिङ’को सुरुआत गरेको छ । औपचारिक रूपमा आज उक्त साहसिक खेल नगरको १ नम्बर वडास्थित सबैभन्दा अग्लो पर्यटकीय स्थल फुल्चोकी डाँडाबाट २ नम्बर वडाको नागी डाँडासम्म आयोजना गरियो ।

नगरपालिकाको आयोजनामा ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा नेपाल, क्यानडा र भारतका करिब २०० राइडरले साइक्लिङ गरेका थिए । साइक्लिङको नगर उपप्रमुख गीता बन्जाराले आज एक कार्यक्रमबिच उद्घाटन गरिन् । ६ किलोमिटर दूरी रहेको उक्त साकिलिङ ट्रेल रुटमा खेल सञ्चालन गर्न पाइनेछ । ‘यो गन्तव्यमा साइक्लिङका लागि खुला भएको छ, यसका लागि पर्यटन बोर्डले प्रचारमा समेत ल्याइसकेको छ’, बन्जाराले भनिन् ।

उक्त ट्रेलमा हाइकिङका लागि पनि उपयुक्त रहेकाले राजधानी नजिक रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने नगरप्रमुख भीम न्यौपानले बताए । उनका अनुसार पनौती धार्मिक, ऐतिहासिक, सांस्कृतिकसँगै ‘एग्रो टुरिजम, एड्भेन्चर टुरिजम’ प्रवेश गरिएको हो । सरकारले यहाँबाट दृश्यावलोकन गर्न सकिने मनोरम दृश्य र भौतिक एवं प्राकृतिक सौन्दर्यका कारण पर्यटकीय गन्तव्यमा समेत समेटेको छ ।

नेपाल पर्यटन बोर्डले गत असोजमा विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवर्द्धन घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको थियो । यसका लागि बोर्डले नगरपालिकाभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीय स्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको हो ।

उक्त नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम–शृङ्खलाहरूको दृश्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको बोर्डले निष्कर्ष निकालेको छ ।

यस्तै साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल रहेको बोर्डले जनाएको छ ।

पनौती पर्यटन समितिको सक्रियतामा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीय स्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको नगरप्रमुख न्यौपानले बताए ।

पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर