सिके राउतका कार्यकर्ताबाट टाउको फुटाइएका जसपा सांसदलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो – Nepal Press

सिके राउतका कार्यकर्ताबाट टाउको फुटाइएका जसपा सांसदलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

जनकपुरधाम । सर्लाहीको इश्वरपुरमा भएको दुई पक्षीय झडपमा घाइते जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक तथा संघीय सांसद प्रमोद साहलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

सिम्रिक एयरको हेलिकप्टरबाट थप उपचारका लागि सांसद साहलाई काठमाडौं लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी माधव बुढाथोकीले जानकारी दिए । उनकाक अनुसार झडपमा सांसद साहको टाउको फुटेको छ ।

इश्वरपुर नगरपालिका-६ बयलबासमा दुई पक्षबीच भएको झडपमा सांसद साह र उनलाई बचाउने क्रममा सुरक्षा गार्ड घाइते भएको थियो । सांसद साहको टाउकोमा गम्भीर चोट लागेको र अत्यधिक रगत बगेकाले काठमाडौं लगिएको छ ।

डिएसपी बुढाथोकीका अनुसार क्लवको जग्गा विषयमा विवादपछि झडप भएको थियो । एक पक्षले क्लवको जग्गाको बीचबाटै बाटो बनाउनुपर्ने र अर्का पक्षले क्लवको जग्गाको साइडबाट बाटो बनाउनुपर्ने अडान लिएको थियो । सोही क्रममा झडप हुँदा ढुंगाले वा भाटाले हानेर सांसद साहको टाउकोमा प्रहार गरेको हुनसक्छ ।

उनले कुन पक्षको के अडान रहेको कुरा समेत अहिले विस्तृत रुपमा बुझ्न नपाएको बताए । घटनामा संलग्न कोही पक्राउ नपरेको र थप अनुसन्धान भइरहेको उनको भनाई छ । सुरक्षा गार्डको हतियार नखोसेको उनको दावी छ ।

यता, प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुलबहादुर कार्कीले सीके राउतका जनमत पार्टी र जसपाका कार्यकर्ताबीच झडप भएको बताएका छन् ।

उनका अनुसार क्लवको उद्घाटन गर्न पुगेका सांसद साहमाथि सीके राउतका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै अवरोध गर्न खोज्दा झडप भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर