नवलपरासीको चुनावी सरगर्मी बढ्यो: एमालेलाई विरासत जोगाउन गठबन्धनको चुनौती – Nepal Press

नवलपरासीको चुनावी सरगर्मी बढ्यो: एमालेलाई विरासत जोगाउन गठबन्धनको चुनौती

रुपन्देही । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पश्चिम नवलपरासीमा चुनावी महोल तातेको छ । दुईवटा संघीय र चारवटा प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा रहेका सातवटा पालिकाहरुमध्ये तीन वटा नगरपालिका छन् ।

बर्दघाट,सुनवल र रामग्राम जिल्लाभित्र रहेका नगरापलिकाहरु हुन् भने सुस्ता,सरावल,प्रतापुर र पाल्हिनन्दन गरी चारवटा गाउँपालिका छन् ।गत निर्वाचनमा नेपाली काङ्ग्रेसले रामग्राममा मेयर र उपमेयर अनि सुनवल नपामा मेयर जितेको थियो ।

सरावल,प्रतापपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको थियो । सुस्तामा अध्यक्ष र उपाध्यक्ष एमालेले हात पारेको थियो । सुनवल नगरपालिकामा उपप्रमुख एमालेले जितेको थियो । पाल्हिनन्दन गाउँपालिकामा भने माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

चासोको रुपमा रहेको बर्दघाट नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले १६ वटा वडामध्ये ९ वटा वडासहित मेयर र उपमेयर आफ्नो पोल्टामा पारेको थियो ।

६ वटा वडा नेपाली काङग्रेसले र बाँकी एउटा नेकपा माओवादी केन्द्रले जितेको थियो । यहाँ पाँच वर्षको दौरानामा राजनीतिक र जनसंख्यामा समेत धेरै परिवर्तन आइसकेको छ । पार्टीहरु विभाजन र एकीकृत भएको अवस्थासमेत छ ।

धेरैको चासो पश्चिम नवलपरासीको बर्दघाटप्रति देखिन्छ । नेकपा एमालेले आफ्नो शाख जोगाउला वा काङग्रेसले एमालेबाट सत्ताको बागडोर खोस्ला ? काङग्रेससहितको गठबन्धनले एमालेलाई घेराबन्दीमा पारेर स्थानीय सत्ताबाट च्यूत गर्ला ? यीनै प्रश्नका सेरोफेरोमा चुनावले बर्दघाट तातेकै छ ।

नेकपा एमाले जिल्ला कमिटीका सचिव धीरज शर्मा बस्याललाई मेयरमा दोहो¥याउने अड्कल काटिरहँदा नेकपा एमाले नगर कमिटीका अध्यक्ष एवम् नगर प्रवक्ता रवीन्द्र विक्रम हमालले आफ्नो मेयर बन्ने दाबी छाडेका छैनन् । कावील नेताका रुपमा परिचित हमालले मेयर पदमा हमला गर्दैछन् ।

त्यतिमात्र होइन मेयरको दाबी गर्नेहरुमा पश्चिम नवलपरासी एमालेका इन्चार्ज सरिता खनाल,सचिवालय सदस्य गोपाल आले र बौद्धिक नेता एवम् दिव्यज्योति क्याम्पसका पूर्व प्रमुख बद्री खनालसमेत छन् ।

काङग्रेसले शम्भुलाल श्रेष्ठलाई मेयरमा उठाउने तयारी गरिरहेको छ । एक्लाएक्लै चुनाव लड्दा मञ्जु चालिसे उपप्रमुखको उम्मेदवार बन्नेछन् । कम्युनिष्टहरु विभाजनको स्थितिमा रहँदा काङग्रेसले विजयको माला पहिरनसक्ने अनुमान काङग्रेस वृत्तमा चलिरहेको बेला गत स्थानीय निर्वाचनमा काङग्रेसबाटै मेयरका उपविजेता विश्वप्रेम पाठक चुनावी माहोल आफ्नो पक्षमा पार्ने तयारीमा देखिन्छन् ।

माओवादी केन्द्र र काङग्रेसबीच गठबन्धन भएमा माओवादीका रुद्रप्रकाश उपाध्याय नगर उपप्रमुखमा चुनाव लड्ने पक्कापक्कीजस्तै छ । यता एमालेका केही नेताहरुले जनमुक्ति पार्टीसँग उपप्रमुख साट्ने तयारी गरिरहेता पनि स्थानीय एमाले पार्टी पंतिm भने त्यसो गर्न नहुने बताउँदैछ ।

खासै जनाधार नभएको जनमुक्ति पार्टी अनि एमाले आफै शक्तिशाली रहेको अवस्थामा एमालेलाई कसैसँग तालमेल जरुरी नरहेको बताउँदै एमाले एक्लै चुनाव लड्नुपर्नेमा स्थानीय एमाले नेता कार्यकर्ताहरु बताउँदै आएका छन् । २०७४ सालमा माओवादी केन्द्रबाट नगर उपप्रमुखको उम्मेदवार रहेकी सीमा गिरी नेकपा विभाजनसँगै एमालेमा समाहित रहेको कारण समेत तालमेल जरुरी देख्दैनन् एमाले कार्यकर्ताहरु ।

नगर उपप्रमुखमा मायादेवी पौडेल दोहोरिने इच्छा प्रकट गरेकी छन् भने जिल्ला कमिटी सदस्य एवम् वडा नं. २ की वडाध्यक्ष दया दर्लामीसमेत नगर उपप्रमुखको दाबी गरेकी छन् । संसदीय फिल्डमा अनुभव हासिल गरेको,आदिवासी महिला भएको र युवा नेताको हैसियतले दर्लामीको उपप्रमुख टिकटमा दावी स्वभाविक रहेको उनका समर्थकहरु बताउँछन् ।

बर्दघाटमा पुराना केही नेताहरु नेकपा एसमा लागेका कारण चुनावमा नेकपा एमालेलाई केही क्षति हुनसक्ने भएपनि माओवादीबाट एमालेमा आएको समूहले त्यसको क्षतिपूर्ति गर्ने दावी एमाले नेताहरुको छ ।

गत स्थानीय तहको निर्वाचनमा बर्दघाट नगरपालिकाको मेयरमा एमालेले १२ हजार ८१४, कांग्रेसले ११ हजार ७७४ र माओवादीले १ हजार ८५० मत ल्याएका थिए ।

 

 


प्रतिक्रिया

One thought on “नवलपरासीको चुनावी सरगर्मी बढ्यो: एमालेलाई विरासत जोगाउन गठबन्धनको चुनौती

  1. म उम्मेदवारी दिदा मलाई मत आउछ कि नाइँ भनेर आफुलाइ आत्मसमिक्षा गर्न जरुरि छ।अनि पार्टी ले सहि उम्मेदवार र आम्जनताले चाएको ब्याक्ती उठाएमा गठबंधन गर्न नपर्ला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर