गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको जाहेरी लिन आलटाल, के भन्छन् बौद्धका डीएसपी ? – Nepal Press

गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको जाहेरी लिन आलटाल, के भन्छन् बौद्धका डीएसपी ?

काठमाडौँ । भोजपुरको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष महेश राईविरुद्ध बहुविवाहको जाहेरी दर्ता गर्न प्रहरीले आलटाल गरेको छ ।

हिमालय राईले नेपाली कांग्रेसका नेतासमेत रहेका राईविरुद्ध शुक्रबार महानगरीय प्रहरी वृत्त बौद्धमा बहुविवाहको जाहेरी दर्ता गर्न खोजे पनि प्रशासनले नमानेको गुनासो गरिन् ।

बौद्धका डीएसपी ढुण्डिराज न्यौपानेले भने दुवै पक्षलाई छलफलका लागि कालीमाटी महिला सेलमा पठाइएकाले त्यहाँ के भयो भन्ने कुरा बुझेर मात्र जाहेरी दर्ता गरिने बताए ।

‘उहाँ (हिमालय राई) ले कालीमाटी महिला सेलमा उजुरी गर्नु भएको रहेछ। त्यहाँबाट मान्छे झिकाई दिनु पर्‍यो भनेपछि हामीले विपक्षीलाई त्यहाँ पठाएका थियौँ । त्यहाँ के भयो बुझेको छैन । आज उहाँहरू जाहेरी दिन आउनु भएको थियो । हामीले कालीमाटीमा के कुरा भयो बुझेर मात्र दर्ता गर्छौँ भनेका छौँ’, डीएसपी न्यौपानेले भने, ‘जाहेरी त कालीमाटीमा पनि दर्ता गर्न मिल्थ्यो । हामी सबै प्रमाणहरू हेर्छौँ पनि भनेका छौँ ।’

यो पनि पढ्नुहोस् – गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ)

नेपाली कांग्रेसका नेताहरूको दबाबमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको पीडित पक्षको गुनासो छ। हिमालयले महेश र भोजपुरको हतुवागढी-४ स्थायी घर भई काठमाडौँको बुढानिलकण्ठ-१० कपन बस्दै आएकी ४५ वर्षीया माया राईलाई विपक्षी बनाएर बहु विवाहको जाहेरी दर्ता गर्न खोजिरहेकी थिइन् ।

हिमालयका अनुसार महेशले उनलाई गत मंसिर १३ गते राई सम्प्रदायको परम्पराअनुसार विवाह गरेका थिए । त्यसपछि महेशको बुढानिलकण्ठ-१० कपनस्थित घरमा बस्दै आएकी हिमालयलाई गत फागुन १६ गते घर प्रवेश गर्नबाट रोकिएको थियो ।

मायाले आफू महेशको श्रीमती भएको दाबी गर्दै गेटमा साँचो लगाएर घर प्रवेश गर्नबाट रोक लगाइएको थियो । जेठी श्रीमतीको मृत्युपछि महेशले आफूलाई विवाह गरेर जेठीपट्टिकी छोरीसँग कपनमा राख्दै आएको भए पनि विवाह दर्ता प्रमाणपत्र नगरेको मौकामा आफूलाई निकालेर मायालाई भित्र्याउन खोजेको आरोप हिमालयको छ ।

उनका अनुसार महेशले मायासँग विवाह गरेको भनी दर्ताका लागि मिति सच्याएर गत मंसिर २ गते नै निवेदन दिएजस्तो बनाएको पनि बताएकी छिन् । आफूसँग महेशको श्रीमती भएको प्रमाण प्रशस्त भएकाले महेशले बहु विवाह मुद्दामा सजाय पाउनु पर्ने उनले माग गरेकी छिन् ।


प्रतिक्रिया

One thought on “गाउँपालिका अध्यक्षविरुद्ध बहुविवाहको जाहेरी लिन आलटाल, के भन्छन् बौद्धका डीएसपी ?

  1. डिएसपीले मोटो रकम लिएको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर