गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ) – Nepal Press

गाउँपालिका अध्यक्षको खुलेआम बहुविवाह, ‘जेठी’ लाई ‘कान्छी’ बनाएर अलपत्र पारे (भिडिओ)

बचाउ गर्दै कांग्रेस भन्छ- कोही दूधले धोएको हुँदैन

काठमाडौं । हिमालय राई (३८), एक महिनादेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडियाको दैलोमा भौतारिइरहेकी छन् । भोजपुर साल्पासिलिछो गाउँपालिका अध्यक्ष महेश राईले करिब चार महिनाअघि आफूसँग विवाह गरेर अहिले घर न घाटको बनाइदिएको उनको गुनासो छ ।

गत मंसिर १३ गते महेशले हिमालयलाई विधिपूर्वक विवाह गरी श्रीमती बनाएका थिए । तर, त्यसको तीन महिनामै अर्की श्रीमती भित्र्याएर पतिले उनलाई घरबाट निकाले । किराँत रितिरिवाज पछ्याउँदै सुम्निमा-पारुहाङ साक्षी राखी गरेको विवाह लत्याउँदै जनप्रतिनिधि श्रीमान्‌ले उनलाई अथाह चोट दिएका छन् । महेश कानूनीरूपमा सजायका भागीदार भए पनि अहिलेसम्म हिमालयको बेदना प्रहरीले दर्तासम्म गरेको छैन ।

महेशले भित्र्याएकी कान्छी श्रीमती माया राई नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन् । पछि भित्र्याएको भए पनि मायालाई ‘जेठी’ देखाउने गरी उनले सरकारी कागजपत्र मिलाएका छन् । हिमालयसँग बिहे भएको मितिभन्दा ११ दिनअघि (मंसिर २) को मिति राखेर महेशले मायासँग विवाह दर्ता गराउन सफल भए ।

अहिले तुम्लिङटारको जग्गा र पैसा दिने भनेर आफूलाई राईले पन्छाउन खोजिरहेको बताउँछिन् हिमालय ।

यस्तो छ बहुविवाहको कथा

महेश राई (४८), २०७४ को स्थानीय निर्वाचनमा भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेसको महासमिति सदस्य पनि छन् ।

महेशकी पहिलाकी श्रीमती सरवती गिरी (सरु) को २०७८ जेठ अन्तिम साता हृदयघातका कारण निधन भएको थियो । त्यसको ६ महिनामै महेशले भोजपुर षडानन्द नगरपालिका सिक्तेलटार घर भइ हाल सुनाकोटी ललितपुर बस्दै आएकी हिमालयलाई मंसिर १३ मा विवाह गरे । सुनाकोटीमा रहेको घरबाटै विधिपूर्वक उनीहरूको बिहे भएको थियो । महेशसँगको बिहेको फोटो/भिडिओ हिमालयसँग सुरक्षित छ ।

हिमालय साल्पासिलिछोको सीमा जोडिएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईको आफन्त (पत्नी मालती राईको ठूलीआमाकी छोरी) पर्छिन् । वीरबलकी पत्नी मालती राईले नेपाल प्रेससँग भनिन्, ‘मलाई घर चलाउन एउटा साथ नभइ भएन, तपाईंकी बहिनीलाई जे-जसो गरेर भए पनि सुखैले पाल्छु भनेपछि मेयर सा’व समेत लागेर हामीले बहिनीको परिवारसँग कुरा चलायौं । त्यसरी विवाह भएको हो ।’

मंसिर १३ मा विवाह भएपश्चात केही समय ठीकै चलेको थयो । पुसको अन्तिमतिर राई अर्जेन्ट काम परेको बहाना गरेर गाउँ गएको र माघ १ बाट आफूसँग सम्पर्कविहीन बनेको हिमालयले बताइन् । महेशले अर्की श्रीमती (माया राई) लाई घरमा ल्याएर आफूलाई फागुन १६ गतेदेखि घर पस्न नदिएको हिमालले बताइन् ।

‘फागुन १६ मा काठमाडौंको कपनमा भएको घरमा आउनुभएछ । बेलुका घरमा फर्किँदा मलाई ढोका खोलिएन… एकजना छोरी मान्छेले माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन्,’ उनले सुनाइन् ।

हिमालयका अनुसार कपनमा रहेको घरमा छिर्न नदिएपछि फागुन १६ कै बेलुका उनले प्रहरीमा हारगुहार गरेकी थिइन्, तर सुनवाइ भएन ।

त्यसको केही दिनमै महेशले अगाडिको मिति राखेर बिहे दर्ता गरेको हिमालयको माइती पक्षले थाहा पाए । बिहे दर्ताको कागजमा स्पष्ट जालसाज देखिन्छ । साल्पासिलिछो गाउँपालिका-२ चौकिडाँडामा २०७८ फागुन १ को मितिमा विवाह दर्ताको लागि सूचना फाराम भरिएको छ । जबकि विवाह दर्ता फाराममा महेश राई र माया राईबीच साल्पासिलिछो गाउँपालिका-२ मा २०७८ मंसिर २ गते नै विवाह भएको उल्लेख छ ।

(महेश राई र माया राईको विवाह सूचना दर्ता फाराम ।)

वडामा पेस गरिएको नागरिकताअनुसार मायाको जन्ममिति २०३८/५/१३ हो । उनको ठेगाना भोजपुरकै साविक खैराङ गाविस वडा नं १ रहेको छ । खैराङ हाल हतुवागढी गाउँपालिकामा पर्छ । माया कांग्रेसको १४ औं महाधिवेशनबाट महिला जनजातितर्फबाट निर्वाचित केन्द्रीय सदस्य हुन् ।

(वडा कार्यालयमा पेस गरिएको महेश र मायाको नागरिकता ।)

‘कानूनमा तल पार्न मलाई कान्छी देखिने गरी कागज बनाएछन् । त्यसै जहाँ जाँदा पनि साथ पाएको छैन,’ हिमालयले भनिन् ।

प्रभावदेखि प्रलोभनसम्म

मायालाई भित्र्याएको थाहा पाउँदादेखि आफूहरू प्रहरी चौकी, महिला सेल, महिला आयोग धाए पनि कहीँबाट साथ नपाएको हिमालय र उनको माइतीले बताएका छन् । उल्टै कानूनीरूपमा तल पर्ने भन्दै सबैले त्यही बिहे दर्ता देखाउने गरेको उनीहरूले सुनाए ।

‘ललितपुरको सुनाकोटी घरमा मसँग बिहे भएको फोटो/भिडिओ प्रमाण छ । देख्ने समाज छ । धेरैतिर न्यायका लागि धाए पनि कसैले साथ दिएनन्,’ हिमालयले भनिन् ।

हिमालयका जेठा दाइ प्रेम राई कसैले सुनुवाइ नगरेकाले राजनीतिक पावर देखिएको बताउँछन् ।

‘सबै गतिविधि हेर्दा राजनीतिक पावर प्रयोग भएको शंका हामीलाई छ । फोटो/भिडिओ प्रमाण देखाउँदा प्रहरीले पनि बिहे भएको होइन चाहिँ भन्न सक्दैन । प्रमाणले अर्कोलाई जेठी नै बनाएछ ल ठीक छ । तर, एउटा पुरुषले ११ दिनको अन्तरमा दुईवटा विवाह गर्न सक्छ ? त्यसमा प्रहरीले चासो नदिएको किन हो ?’ दाजु प्रेमले भने ।

आफूहरूलाई अहिले पैसा र जग्गा दिने भन्दै अनेक लोभ देखाएर थुमथुम्याउन खोजेको पनि प्रेमले खुलाए ।

‘हिजो मात्र फोनमार्फत कुरा आएको थियो । हामीले मान्छेलाई मात्र होइन भगवान्लाई साक्षी राखेर छोरीचेली देका छौं । मगनीदेखि हरेक रित पुर्‍याएर गरेका छौं । बिहेपछि दुल्हन फर्काएर सम्मान-सत्कार गरेका छौं । उसको पैसा लिएर तुरुन्त छाड्ने हामी खान नपा’को हो ? त्यही हो नेताको नैतिकता ? अर्को श्रीमती भएको जान्दाजान्दै भित्रिने नेतृको नैतिकता त्यही हो ?’ दाजुले आक्रोश पोखे ।

हिमालयकी सानिमाकी छोरी (दिदी) मालतीले घटना सामसुम पार्न कांग्रेस नै लागेको आशंका व्यक्त गरिन् । माया राईले जिम्मेवार पार्टीको महिला नेता भएर महिलामाथि नै अन्याय गरेको उनको भनाइ छ ।

‘जालसाजी गरेर कागज बनाए । पीडकहरू खुलेआम हिँडिरहनुभएको छ । नेताज्यूहरूले पनि नराम्रोलाई नराम्रो भन्न सक्नुपर्‍यो । अपराधीलाई जोगाउने अपराधी नै हुन्छन्,’ उनले भनिन् ।

बचाउ गर्दै कांग्रेस भन्छः कोही दूधले धोएको हुँदैन

नेपाली कांग्रेस साल्पासिलिछो गाउँपालिका कमिटीले एक विज्ञप्ति निकालेर पालिका अध्यक्ष महेश राई अहिले एउटा जटिल समस्याभित्र फसेको प्रतिक्रिया दिएको छ । यो परिस्थितिलाई व्यक्तिगत बाध्यता भनेर बुझिदिन कांग्रेसको अनुरोध गरेको छ ।

गाउँपालिका कमिटीका सचिव सेभेन गिरी (श्याम) ले बुधबार विज्ञप्ति निकाल्दै ‘सोझो मान्छेको टाउको टेक्दै रजाइँ गर्नेहरूको पोल बिस्तारै खुल्ने’ बताएका छन् ।

‘पाँच वर्षभित्रको विकास र परिवर्तन हेरेर महेश राई कुनै गलत नियतको भारी बोकेर हिँड्ने मान्छे होइन, बरु भ्रष्टाचारविरोधी काम गर्नु पर्छ भन्ने सिधा आदिवासी जनजातिको छोरा हो । विकास र अहिले भएको कुरा फरक पाटो हो, तर मान्छे सबै दूधले धोएको कोही हुँदैन । गल्ती हुन्छ तर यहाँ यो समस्या कसरी आयो भन्ने कुरा जसले उहाँलाई नजिकबाट नियाल्नु भएको छ उहाँहरूलाई मात्रै थाहा छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गलत नियतले आफ्नै सहपाठीहरूबाट कसरी जालोमा परिन्छ भन्ने कुरा परे पछि मात्रै थाहा हुने रहेछ । साल्पासिलिछोमा मात्रै नभएर समग्र भोजपुरबाट भोलि केन्द्रमा हैसियत राख्न सक्ने एउटा होनहार जनजातिको छोराप्रति पूर्वाग्रहका साथ हानिएको बाणहरु बिस्तारै देखिँदै जानेछ । कानूनभन्दा माथि कोही नरहेको र कानूनमाथि टेकेर सोझो मान्छेको टाउको टेक्दै रजाइँ गर्नेहरूको पोल बिस्तारै खुल्दै जानेछ ।’

गाउँपालिका अध्यक्ष महेश राईलाई हामीले सम्पर्क गर्न थुप्रैपटक प्रयास गर्दा सफल भएनौं । उनको एनटीसी/एनसेल दुवै फोन स्वीचअफ छ । गाउँपालिका स्रोतका अनुसार उनी सीमित मान्छेबाहेक कोहीसँग पनि सम्पर्कमा छैनन् । महेशकी ‘कान्छी’ बनेर भित्रिएकी मायाको फोन लागे पनि उनले रिसिभ गरिनन् ।

नेपाल प्रेसको कार्यालयमा आएर हामीमाझ पीडितले सुनाएको घटना विवरण उनीहरूकै शब्दमाः

हिमालय राई

यही २०७८ साल मंसिर १३ गते भोजपुरको साल्पासिलिछो गाउँपालिका प्रमुख महेश राई र मेरो विवाह भयो । सबै कुराहरु ठीकठाक नै चलिरहेको थियो । काम छ भनेर उहाँ पुसको लास्टतिर गाउँ जानुभयो । माघको १ गतेतिरबाट चाहिँ सम्पर्कविहीन हुनुभयो ।

फागुन १६ मा म नभएको बेला काठमाडौं घर (कपन) मा आउनुभएछ । म बिहान ११ बजेतिर खाना खाएर काममा निस्केको थिएँ । बेलुका फर्किँदा ढोका खोलिएन । घरमा सहयोगी बहिनी २ जना थिए । उनीहरूलाई फोन गर्दा ढोका नखोल्दिनू, भित्र नपसाउनू, फोनहरू नउठाउनू भन्नुभएको छ भने ती बहिनीहरूले ।

मैले मेरो दाइदिदीलाई फोन गरेर जानकारी गराएँ । कपन चौकीबाट २ जना प्रहरी लिएर आउनुभयो । मलाई ढोका खोलिएन । महेश राईको मुख पनि देखिएन । एकजना छोरी मान्छे माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन् । छिर्न नदिएपछि हामी बौद्ध, कपन, महिला सेल, टेकु परिसर, महिला आयोग गयौं । कहिँबाट सहयोग पाइएन । प्रहरीले के छ त बहुविवाह गरेको भन्दै प्रमाण खोज्यो । अहिले त लिभिङ टूगेदरमा पनि बस्ने चलन छ भन्यो ।

हामीले माया राईसँग बिहे दर्ता गराएको प्रमाण फेला पार्‍यौं । त्यो लिएर जाँदा प्रहरीले उनीहरूको नै बिहे दर्ता बलियो प्रमाण भएको बतायो । ललितपुरको सुनाकोटी घरमा मसँग बिहे भएको फोटो/भिडिओ प्रमाण छ । देख्ने समाज छ । मंसिर १३ मा हाम्रो बिहे भएको हो तर उनीहरूले मंसिर २ गतेकै मिति राखेर विवाह दर्ताको फाराम भरेको रैछ । उल्टै मलाई कान्छी बनाएर ल्याको भनेर कानूनमा तल पारे । जहाँ गए पनि साथ पाइराको छैन । अहिले फोन अफ गरेर बस्नुभाको छ ।

प्रेम राई (जेठा दाजु)

जुन दिन त्यो घटना भयो, (फागुन १६) म पनि गएको थिएँ । दुईजना प्रहरी पनि थिए । हामी न्याय माग्दै जानुपर्ने जति सबै ठाउँ गइसक्यौं । प्रहरीले पनि केही गर्न सकेन ।

त्यो बेलुका निरीह भएर दुईवटा जति चौकी घुमेर १२ बजेतिर फर्कियौं । भोलिपल्ट (फागुन १७) बिहानै महिला सेल गयौं । बौद्ध चौकी पनि गयौं । महिला सेल, टेकु प्रहरीले पनि झुल्याउने काम भएको छ । जाहेरी लिएर जाँदा पनि त्यो बिहे दर्ता देखाउँदै उल्टै बहिनीलाई नै थुन्न सकिन्छ भनेर हामीलाई तर्साउने काम भइराको छ । हाम्रो कुरा सुन्दैन । अनुसन्धानका लागि थुन्छ भने थुनोस् भन्दा पनि प्रहरीले मानिरा’को छैन ।

यी गतिविधिले राजनीतिक पावर प्रयोग गरेको झस्का हामीलाई छ । फोटो/भिडिओ प्रमाण देखाउँदा प्रहरीले पनि बिहे भएको होइन चाहिँ भन्दैन । प्रहरीकै एक हाकिमले २ गते उसँग बिहे गरेको भए १३ गते चाहिँ के गर्दै थियो त भनेर सोधेको भन्नुभो । प्रहरी परिसरले किन कारबाही गर्न सक्दैन त ?

अहिलेको प्रमाणले उसलाई जेठी नै बनाएछ ल ठीक छ । तर, केटाले दुईवटा बिहे गर्न सक्छ ११ दिनमा ? त्यसमा प्रहरीले चासो नदिनूको कारण के हो ? यसले गर्दा हामीलाई झन् पीडा थपिरहेको छ । अहिले अनेक लोभ देखाएर थुमथुम्याउन खोज्दैछन् ।

हिजो मात्र फोनमार्फत कुरा आएको थियो । मैले कानूनी तरिकाभन्दा अर्को कुनै विकल्प देख्दिनँ, जेठी देखाएको श्रीमतीलाई पन्छाउने र मिलाउने तिम्रो के योजना छ, डिटेल कुरा बताऊ भनेँ । तर उल्टै मेरो बहिनीलाई श्रीमती स्वीकार्न नसक्ने, पैसा दिने, जग्गा दिने भनेर हामीलाई भनेका छन् ।

हामीले मान्छेलाई मात्र होइन भगवान्‌लाई साक्षी राखेर छोरीचेली देका छौं । मगनीदेखि हरेक रित पुर्‍याएर दिएका छौं । बिहेपछि दुल्हन फर्काएर सम्मान सत्कार गरेका छौं । उसको पैसा लिएर तुरुन्त छाड्ने हामी खान नपाको हो ? त्यही हो नेताको नैतिकता, नेतृको नैतिकता त्यही हो ?

मालती राई, दिदी (सानीआमाकी छोरी)

प्रमुख महेश राईले मागिदिनू भनेर हामीमार्फत नै मगनी भयो, बिहे भयो, हामी जन्त गयौं । बहिनी राम्रै तरिकाले भित्र्याएको हो उहाँले । ३ महिनाको बीचमै अर्को श्रीमती लिएर जानुभो ।

नेपाली कांग्रेसको केन्द्रीय सदस्यजस्तो मान्छे भएर महिलामाथि नै अन्याय गर्नुभएको छ । पीडकहरू माया राई र महेश राईमाथि हदैसम्मको सजाय हुनुपर्छ ।

न्याय माग्न जाँदा पनि के कारणले हो न्याय पाएका छैनौं । प्रहरीमा जाँदा जसले पनि त्यही बिहे दर्ताको कागजको कुरा ल्याउँछन् । जालसाजी गरेर बनाएको रहेछ । पार्टीदेखि नै भाको छ कि किन हो यहाँ झुलाइराको छ । पीडकहरू खुलेआम हिँडिरहनुभएको छ । गाउँगाउँमा गएर प्रचारप्रसारमा लागिराख्नुभाको छ ।

नेताज्यूहरूले पनि नराम्रोलाई नराम्रो भन्न सक्नुपर्‍यो । कांग्रेस पार्टी होस् या जुनसुकै पार्टी होस् नराम्रोलाई नराम्रो भन्नुपर्छ । अपराधीलाई जोगाउने अपराधी नै हुन्छन् ।

के छ कानूनी व्यवस्था ?

एक पुरुषले एकैपटक एकभन्दा बढी श्रीमती राख्नु गैरकानूनी हो । मुलुकी अपराध संहिता २०७४ को दफा १७५ ले बहुविवाहसम्बन्धी सजायको व्यवस्था गरेको छ । दफा १७५ को उपदफा १ मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा कुनै पुरुष र उपदफा २ मा पुरुष विवाहित भएको भन्ने जानीजानी कुनै महिलाले विवाह गर्न नहुने उल्लेख छ ।

सो कानूनअनुसार बहुविवाह गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्मको कैद र १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिबाना हुनेछ । साथै त्यस्तो विवाह स्वतः बदर हुनेछ ।

गाउँपालिका अध्यक्ष महेश राईको घटनामा यदि उनको विवाह दर्तालाई नै मान्यता दिएर पहिलो विवाह माने पनि बहुविवाह स्पष्ट देखिन्छ । मंसिर १३ मा हिमालयसँग बिहे गरिसकेपछि फागुन १ गते विवाह दर्ताका लागि वार्ड कार्यालयमा स्थानीय पञ्जिकाधिकारी नविनकुमार यादवसमक्ष सूचना फाराम भर्नुले मिलेमतो र छलकपट त प्रष्टै देखिन्छ ।

नेपाली कांग्रेस गाउँपालिका कमिटीले निकालेको विज्ञप्ति 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर