इटाली फुटबलको दुर्भाग्य- महादेशीय च्याम्पियन तर विश्वकपमा छनोट हुन असफल – Nepal Press

इटाली फुटबलको दुर्भाग्य- महादेशीय च्याम्पियन तर विश्वकपमा छनोट हुन असफल

रोम । गत वर्ष युरो कप जितेको इटाली आगामी नोभेम्बर-डिसेम्बरमा आयोजना हुने विश्वकपमा देखिने छैन । महादेशीय छनोटबाटै बाहिरिएपछि विश्वकप लगातार दोस्रो पटक इटालीविहीन हुने भएको हो। प्ले अफ सेमिफाइनलमा इटालीले नर्थ मेसेडोनियासँग १-० गोलको हार बेहोर्‍यो ।

दोस्रो हाफको इन्जुरी समयमा नर्थ मेसेडोनियाका अलेक्जान्डर त्राकोभ्स्कीले गोल गरेका थिए । २९ वर्षीय यी फरवार्डको गोलमा इटाली स्तब्ध भयो । इटालीका लागि यस पटकको असफलता दुर्भाग्यपूर्ण रह्यो ।

महादेशीय छनोटमा समूह उपविजेता बनेपछि इटाली प्ले अफमा पुगेको थियो । समूहका अन्तिम पाँच खेलमा इटालीले चार बराबरी र एक जितको नतिजा निकालेको थियो । सुरुका तीन खेल भने जितेको थियो ।

८ खेलबाट १८ अंक भएको स्वीट्जरल्यान्ड समूह विजेता बन्दै विश्वकपका लागि छनोट भएको थियो । इटालीले ८ खेलबाट १६ अंक जोडेको थियो । समूहगत चरणका पछिल्ला अनपेक्षित प्रदर्शनका कारण इटाली लगातार दबाबमा परेको थियो ।

समूहगत चरणका अन्तिम खेलमा इटालीले नर्दन आयरल्यान्डसँग गोलरहित बराबरी र स्वीट्जरल्यान्डसँग १-१ गोलको बराबरी खेलेको थियो । समूहगत चरणमा स्वीट्जरल्यान्डले अन्तिम चार खेलमा तीन जित र एक बराबरीको नतिजा निकालेको थियो ।

इटालीले गत वर्ष स्पेनलाई हराएर युरो कपको उपाधि जितेको थियो। सन् २००६ को विश्वकप जितेको इटालीले त्यसयता विश्व स्तरीय प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको छ । सन् २०१० र २०१४ को विश्वकपमा समूहगत चरणबाटै बाहिरिएको थियो । सन् २०१८ को विश्वकपपछि भने इटालीले विश्व कीर्तिमानी प्रदर्शन गरेको थियो ।

यसबिचमा सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक खेलको अपराजित यात्रा बनाउने टोली बन्यो । सन् २०१८ को सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएपछि इटालीलाई फेरी हार बेहोर्न तीन वर्षभन्दा बढी समय लागेको थियो । सन् २०२१ को अक्टोबरमा इटालीलाई स्पेनले हराउँदै विश्व कीर्तिमानी ३७ खेलको अपराजित यात्रा तोडेको थियो । त्यसबिचमा इटालीले ३० जित र ७ बराबरीको नतिजा निकालेको थियो ।

इटालीलाई निराश बनाएको नर्दन मेसेडोनियाले विश्वकपमा स्थान बनाउन अब पोर्चुगललाई हराउनु पर्ने छ। पोर्चुगलले टर्कीलाई ३-१ गोलले हराएर प्ले अफको फाइनलमा पुगेको हो । नर्दन मेसेडोनियाले हालसम्म विश्वकप खेलेको छैन ।

उसले सन् २०२१ मा आयोजित युरो कप भने खेलेको थियो जुन महादेशीय प्रतियोगितामा पहिलो सहभागिता थियो । इटालीविरुद्ध निर्णायक गोल गरेका त्राकोभ्स्की नर्दन मेसेडोनियाको वर्तमान राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता हुन् । उनको नाममा २० गोल रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर