मानव अधिकार उल्लंघन गरेकालाई उम्मेदवार नबनाउन आयोगको आग्रह – Nepal Press
स्थानीय चुनाव

मानव अधिकार उल्लंघन गरेकालाई उम्मेदवार नबनाउन आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनमा दोषी देखिएकालाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउन राजनीतिक दललाई आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख राजनीतिक दललाई पत्राचार गरेर यस्तो आग्रह गरेको हो ।

आयोगको प्रदेश कार्यालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, ‘खोटाङ, ओखलढुंगा र सोलुखुम्बु जिल्लामा सक्रिय प्रमुख राजनीतिक दलहरूलाई पत्राचार गरी मानव अधिकार उल्लंघनमा दोषी किटान गरी नाम सार्वजनिक भएका व्यक्तिहरूलाई निर्वाचनमा उम्मेद्वार नबनाउन आग्रह गरेको छ ।’

साथै निर्वाचनमा समानुपाति समावेशी सिद्धान्तको आधारमा उम्मेद्वारी तय गर्न पनि आयोगको आग्रह छ ।

निर्वाचन प्रचार-प्रसारको क्रममा बालबालिकाहरूको प्रयोग नगर्न, निर्वाचन अवधिमा हुने विभिन्न कार्यक्रमहरूमा घृणा, द्वेष फैलनेजस्ता अमर्यादित किसिमका शब्दहरू कोही पनि उम्मेद्वार तथा नेतृत्वबाट व्यक्त नगर्न, आचार-संहिता पालना गर्न पनि आयोगले ध्यानाकर्षण गराएको छ ।

आयोगका कार्यालय प्रमुख उपसचिव श्यामबाबु काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा मानव अधिकारसँग सम्बन्धित विषयहरूलाई प्राथमिकताका साथ पालना गर्न अनुरोध गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *