कन्ट्रोलर भन्दै सोलारको ब्याट्री आयातमा व्यापक कर छली – Nepal Press

कन्ट्रोलर भन्दै सोलारको ब्याट्री आयातमा व्यापक कर छली

४३ प्रतिशत तिर्नुपर्नेमा १ प्रतिशत तिरेर ल्याइँदै

काठमाडौं । सोलार बत्तीमा प्रयोग हुने लिथियम आयन व्याट्री आयात गर्दा ठूलो परिमाणमा कर छली भइरहेको तथ्य भेटिएको छ । ब्याट्रीलाई कन्ट्रोलर भनेर न्यून बिजकीकरण गर्दै कर छलिएको हो ।

सूर्य इनर्जी प्रालि नामक कम्पनीले २० देखि २२ हजारसम्म पर्ने ब्याट्रीलाई ७ हजार ९ सय ६४ रूपैयाँको बिल बनाएर भन्सार पास गराएको प्रमाण नेपाल प्रेसलाई प्राप्त भएको छ । कम्पनीले १ सय थान ब्याट्री आयात गर्दा ७ लाख ९६ हजार ४ सय ८० रूपैयाँ मात्रै लागत परेको हामीलाई प्राप्त रसिदमा देखिन्छ ।

सोलार बत्तीका लागि चार किसिमका सामानहरू नेपालमा आयात हुने गरेका छन् । सोलार प्यानल, चार्ज कन्ट्रोलर, लिथियम आयन ब्याट्री र बत्ती । यीमध्ये लिथियम ब्याट्री सबैभन्दा महंगो हुन्छ । प्यानल र कन्ट्रोलर भने सस्ता हुन्छन् । प्यानल प्रतिवाट ३५ रूपैयाँसम्ममा पाइन्छ । यस्तै, कन्ट्रोलरको पाँच सयदेखि २ हजार रूपैयाँसम्म पर्छ ।

प्यानल र ब्याट्रीको स्वरूप फरक हुनाले सजिलै छुट्याउन सकिन्छ । तर, ब्याट्री र कन्ट्रोलर उस्तै हुन्छन् । सौर्यऊर्जालाई प्रवर्द्धन गर्न सरकारले प्यानल र कन्ट्रोलरमा भारी कर छुट दिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सिफारिसमा सडकका सोलार बत्तीमा प्रयोग हुने कन्ट्रोलर मात्र १ प्रतिशत भन्सार तिरेर नेपाल ल्याउन पाइन्छ ।

लिथियम आयन व्याट्री आयात गर्दा भने भ्याट १३ प्रतिशत, भन्सार शुल्क २० प्रतिशत र अन्य १० प्रतिशत गरेर ४३ प्रतिशत कर लाग्ने गरेको छ । त्यसैले ब्याट्रीका आयातकर्ताहरूले ब्याट्रीलाई कन्ट्रोलर भनेर १ प्रतिशत मात्रै कर तिरेर ल्याउने गरेको स्रोतले बताएको छ । कतिपयले चाहिँ न्यून बिजकीकरण (थोरै रकमको बिल बनाउने) गरेर पनि ल्याइरहेका छन् ।

विदेशबाट नेपालमा वस्तु आयात गर्दा आयातकर्ताहरूले न्यून बिजकीकरण गर्ने पुरानै समस्या हो । वास्तविकभन्दा कम मूल्यको बिल देखाउँदा भन्सार थोरै तिर्नुपर्छ । भन्सारका कर्मचारी चनाखो नभएर वा आयातकर्तासँग मिलेमतो गरेर न्यून बिजकीकरण भएका वस्तुहरू सहजै भन्सार पास हुने गरेका छन् ।

विश्व बजारमा कुन वस्तुको मूल्य कति पर्छ भनेर भन्सारका कर्मचारीलाई राम्रो जानकारी पनि हुँदैन । त्यसैले आयातकर्ताले देखाएको बिल हेरेर नै धेरै वस्तुको भन्सार जाँचपास हुने गरेको छ । कुनै सामानमा शंका लागेको अवस्थामा भन्सारका कर्मचारीले गाडीबाट निकालेर हेर्न सक्छन् । तर, सबै यसरी हेरेर साध्ये हुँदैन । नेपालमा स्क्यानर मेसिन पनि भन्सारमा प्रयोग भएको छैन । आयातकर्ताहरूले सामान ल्याउँदा कर छली गरेको पाइए बेला-बेलामा भन्सार राजस्व र नेपाल प्रहरीले नियन्त्रणमा लिने गरेका छन् ।

विदेशबाट कर छलेर ल्याइने ब्याट्रीले गर्दा नेपालका ब्याट्री उत्पादकहरू मारमा परेका छन् । नेपालमै ठूलो लगानी गरेर उद्योग सञ्चालन गरिरहेका उद्योगीहरू आयातित ब्याट्रीका कारण आफूहरू समस्यामा परेको बताउँछन् । नेपालमा ब्याट्रीको बजार करिब एक अर्बको छ । त्यसमध्ये ४० देखि ५० करोडको ब्याट्री भारत र चीनबाट आयात हुने गरेको छ ।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले ब्याट्री आयातमा भन्सार छलिएको भए असुली हुने बताए ।

उनले भने, ‘भन्सारमा आयातकर्ताले एउटा वस्तुलाई अर्को भनेर घोषणा गरेको हो वा भन्सारले नै वस्तु नचिनेको हो भन्ने कुरामा छानबिन हुन्छ । भन्सार छली गरेर वस्तु आयात भएको अवस्थामा हामीले पुनः भन्सार असुल्न सक्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *