विवादित गाउँपालिका भवन उद्‍घाटन गर्न तनहुँ जाँदै प्रधानमन्त्री देउवा – Nepal Press

विवादित गाउँपालिका भवन उद्‍घाटन गर्न तनहुँ जाँदै प्रधानमन्त्री देउवा

तनहुँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज तनहुँ जाँदैछन् । जिल्लामा हुने चार कार्यक्रममा सहभागी हुनलाई देउवा तनहुँ जान लागेका हुन् ।

बिहान १० बजेपछि प्रधानमन्त्री देउवा तनहुँ आउने साहयक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । देउवा स्याङजाको कार्यक्रममा सहभागी भएर तनहुँ आउने उनले बताए ।

‘तनहुँ आएपछि सुरुमा प्रधानमन्त्रीज्यूले तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन गर्ने कार्यक्रम छ’, उनले भने । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गरेपछि देउवा कांग्रेसको पार्टी कार्यालय दमौलीमा हुने छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

प्रधानमन्त्री देउवाले आठौँ तनहुँ महोत्सवको उद्घाटन गर्ने गैरेले जानकारी दिए । बिहीबार नै ऋषिङ गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको देउवाले उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्री देउवाले ऋषिङ गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम एमालले भने बहिष्कार गर्ने भएको छ । सर्वदलीय समितिले सिफारिस गरेको स्थानविपरीत गाउँपालिकाको केन्द्र कायम गरेर भवन बनाएकाले बहिष्कार गर्ने घोषणा गरेको नेकपा एमाले ऋषिङ गाउँ कमिटीका सचिव कविराज श्रेष्ठले बताए । गाउँपालिकाको केन्द्र परिवर्तनको अनुमति समेत नलिएर भवन बनाइएको उनले उल्लेख गरे ।

२०७६ असोज दोस्रो साता भवन शिलान्यासको बखतमा तत्कालीन नेकपाले अवरोध गरेको थियो । भवन शिलान्यास गर्न आएका नेपाली कांग्रेसका नेता डा।मिनेन्द्र रिजालमाथि आक्रमण गरिएको थियो । विवाद र अवरोधकैबीच शिलन्यास गरिएको भवन प्रधानमन्त्री देउवाले उद्घाटन गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर