सामूहिक रूपमा एमाले प्रवेशको तयारीमा पूर्वलडाकु, लेनिन विष्टले भेटे ओली – Nepal Press

सामूहिक रूपमा एमाले प्रवेशको तयारीमा पूर्वलडाकु, लेनिन विष्टले भेटे ओली

काठमाडौं । बहिर्गमित जनमुक्ति सेना नेपालको नेतृत्वमा माओवादी लडाकुहरू सामूहिकरूपमा एमाले प्रवेश गर्ने तयारी गरेका छन् ।  ‘युद्धकालीन अपराध र मुद्दा’ लाई सम्बोधन गर्न एमाले तयार भएकाले समूहमै एमाले प्रवेश गर्ने तयारीमा उनीहरू रहेका हुन् ।

यसै साता एक कार्यक्रम गरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वलडाकुहरूलाई पार्टी प्रवेश गराउन लागेका छन् ।  ‘जनमुक्ति सेनाका योद्धाहरूको माग, गुनासा र अप्ठ्यारा सम्बोधन गर्न एमालेसँग सकारात्मक देखिएको छ । छलफलहरू सकारात्मक हुँदै गएका छन्,’ बहिर्गमित सेनाका अध्यक्ष लेनिन विष्टले भने, ‘सामूहिक पार्टी प्रवेशको लागि मिति चाँडै तोक्ने भन्ने छ ।’

उनका अनुसार एमाले अध्यक्ष ओलीले सामूहिक पार्टी प्रवेश कार्यक्रमका लागि सचिव टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएका छन् ।
अध्यक्ष ओली र विष्टबीच पूर्वमाओवादी लडाकुका माग र मुद्दाका बारे तीन चरण छलफल भइसकेको र त्यसको बन्दोबस्त रायमाझीले गराएका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलगायतसँग पनि विष्टको टोलीले पटक-पटक छलफल गरिसकेको छ ।

ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत राहत रकम दिने घोषणा गरेका थिए । बहिर्गमित लडाकुलाई ८४ करोड बजेट छुटाए पनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो । तर, गत १ फागुनमा रकम निकासा गर्न आदेश दिए पनि सरकारले त्यसलाई सम्बोधन भने गरेको छैन ।

‘राहत मात्र होइन, पूर्वजनमुक्ति सेनालाई राज्यको तर्फबाट सम्मानपत्र, परिचयपत्रको व्यवस्था पनि ओलीज्यू प्रधानमन्त्री हुँदा नै भएको हो । यसले पनि हामीलाई हाम्रा माग सम्बोधन हुनेमा आशावादी बनाएको छ,’ विष्टले भने । उनका अनुसार सामूहिक प्रवेश गर्ने पूर्वमाओवादी लडाकुहरूको नाम संकलन भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर