निर्माण सामग्रीको मनलाग्दी मूल्यवृद्धि, व्यवसायीसँगै उपभोक्ता मारमा – Nepal Press

निर्माण सामग्रीको मनलाग्दी मूल्यवृद्धि, व्यवसायीसँगै उपभोक्ता मारमा

एक महिनामै फलामे डण्डी प्रतिकेजी ५० रुपैयाँ महंगियो

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थसँगै हरेक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढिरहेको छ । अरु सामग्री जस्तै निर्माण सामग्रीको मूल्य पनि आकाशिएपछि निर्माण व्यवसायीसँगै आमउपभोक्ता चिन्तित भएका छन् ।

खसगरी स्टील र सिमेन्टको मूल्य मनोमानी ढंगले बढाइएको छ । त्यस्तै इँटा, बालुवा र गिट्टीको मूल्य पनि बढेको छ । स्टीलको मूल्य प्रतिकेजी ८० रुपैयाँबाट अहिले १३० रुपैयाँ पुगेको छ । स्टील उद्योगीले खासै मूल्य नबढेको बताउँछन् । तर बजारमा भने निरन्तर मूल्य बढिरहेको छ ।

स्टीलको मूल्य प्रतिकेजी ९०, १००, १०५, ११५, १२०, १२५ हुँदै १३० रुपैयाँ पुगेको हो । त्यस्तै इँटा, बालुवा र गिट्टीको मूल्य पनि सोही अनुपातमा बढेको छ ।

बिक्रेताहरुले रुस र युक्रेनबीच भएको युद्धको असरस्वरुप स्टीलको मूल्य बढेको दाबी गरिरहेका छन् । रुस तथा युक्रेनबाट स्टीलको कच्चा सामग्री नेपाल आउन ३–४ महिना लाग्छ । तर, युद्ध सुरु भएको एक महिनामै स्टीलको मूल्य निरन्तर बढिरहेको छ ।

त्यस्तै पेट्रोलियम पदार्थको मूल्य बढेका कारण बालुवा र गिट्टीको मूल्य बढेको बिक्रेताहरुको भनाइ छ । बालुवा प्रशोधन र गिट्टी उत्पादन गर्दा डिजल प्रयोग हुने, र डिजलको मूल्यसँगै ढुवानी शुल्क बढेकाले समस्या भएको उनीहरु बताउँछन् ।

‘सरकारले स्टील उत्पादकबीच नै विभेद गरेको छ । अहिले स्पञ्ज आइरन ल्याएकाहरुले बजारमा लुट मच्चाइ रहेका छन्’, फलामे छड उत्पादन गर्ने रोलिङ मिल्स एसोसिएसनका एक पदाधिकारीले भने, ‘नेपालमा ६ वटा उद्योगले स्पञ्ज आइरनबाट स्टील बनाउने गरेका छन् । ३० वटा उद्योगमा ६ वटाभन्दा बाहेकका उद्योगले विलेट आयत गरेर स्टील उत्पादन गर्ने गरेको थियो ।’

वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत विलेटको अन्तःशुल्क र कर बढाएको थियो । त्यसपछि स्टील उत्पादन गर्ने उद्योगहरुले विलेट ल्याएका थिएनन् । स्पञ्ज आइरनको भने नेपालमा स्टीलको भन्दा कयौं गुणा धेरै माग आएको थियो । अहिले ती उद्योगीहरुले नै बजारमा ८० रुपैयाँबाट १३० रुपैयाँ मूल्य पुर्याएको ती अधिकारीले बताए ।

सरकारले संशोधित बजेटमा पत्रु पगालेर फलामे छड उत्पादन गर्दा त्यसमा मिसाउन चाहिने कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क नलाग्ने व्यवस्था गरिएको थियो । तर, विलेट आयात गर्दा भन्सार ४.७५ रुपैयाँ र प्रतिमेट्रिकटन १ हजार ६५० बाट अन्तःशुल्क वृद्धि गरी २ हजार ५ सय पुर्याइएको थियो ।

स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने उद्योगसँग मात्रै अहिले स्टील उत्पादन गर्न आवश्यक पर्ने कच्चापदार्थ रहेको उद्योगीहरु बताउँछन् । सरकारले संरक्षण गरेका उद्योगहरुले नै अहिले बजारमा स्टीलको मूल्य वृद्धि गरेर बिक्री गरिरहेका हुन् ।

अहिले स्पञ्ज आइरनबाट स्टील उत्पादन गर्ने अम्बे, लक्ष्मी, जगदाम्बा, पशुपति, कमला र नारायणी स्टील उद्योगले नै स्टील उत्पादन गरिरहेका छन् । ती उद्योगहरुले नै अहिले स्टीलको मूल्य वृद्धि गरेका हुन् ।

अहिले सिमेन्टको मूल्य प्रतिबोरा ५० रुपैयाँले वृद्धि भएको छ । सिमेन्ट उद्योगले भने मूल्य वृद्धि नभएको बताइरहेको छ । तर डिलरबाट मूल्य बढाएर बिक्री भएको भए थाहा नहुने उद्योगीको भनाइ छ ।

सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले उद्योगले सिमेन्टको मूल्य वृद्धि नगरेको बताए । उनले भने, ‘विश्व बजारमा सबै वस्तुको मूल्य वृद्धि भएको छ । त्यसको असर सिमेन्ट बजारमा पनि देखिन्छ । केही समयपछि सिमेन्ट उद्योगले नै प्रतिबोरा एक सय रुपैयाँ बढाउने अवस्था आउनसक्छ । ढुवानी भाडा वृद्धिको असर सिमेन्टमा देखिने छ ।’

ग्रिल तथा स्टील व्यवसायी संघका अध्यक्ष मोहन कटुवाल निर्माणजन्य सबै निर्माण सामग्रीको मूल्य वृद्धि भएको बताए । केही सयमअघि १०२ रुपैयाँ रहेको डण्डीको मूल्य अहिले १३० रुपैयाँभन्दा धेरै पुगेको बताए ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ठेक्का लिँदा ९० रुपैयाँ प्रतिकेजी डण्डी रहेकोमा अहिले १३० रुपैयाँ पुगेकाले निर्माणको काम गर्न समस्या परेको बताए ।

उनले भने, ‘केही सयमदेखि निर्माण सामग्रीको मूल्य आकाशिएको छ । सबै निर्माण सामग्रीको मूल्यवृद्धि भएर ठेक्का लिएको काम नै गर्न नसक्ने अवस्था आएको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर