यूएईविरुद्ध ब्याटिङमा चुकेको नेपाल : सहज लक्ष्य पनि पहाड बनेपछि… – Nepal Press

यूएईविरुद्ध ब्याटिङमा चुकेको नेपाल : सहज लक्ष्य पनि पहाड बनेपछि…

काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एक सय ६९ रनको लक्ष्य सामान्य हुन थालेको छ । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा यसलाई सहज रुपमा पुरा गर्न सकिने योगफल मानिन्छ । तर शुक्रबार नेपाल सोही लक्ष्य पूरा गर्नबाट असफल भयो र यूएईसँग ४८ रनले पराजित भयो ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा सामान्य लक्ष्य पाएको नेपाल दुईपटक चुकेको थियो । जितका लागि करिब ३.५ रन प्रति ओभर चाहिएको अवस्थामा नेपालले २७ रनमै तीन विकेट गुमाएको थियो ।

दुवै प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेल र आसिफ शेखसहित लयमा रहेका दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । पहिलो विकेटका लागि १८ रन जोडेको नेपाललाई त्यसपछि ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले सम्हाल्ने प्रयाश गरेका थिए । उनीहरुबीच चौथो विकेटका लागि ५५ रनको साझेदारी भएको थियो ।

नेपालले चौथो विकेटका रुपमा ज्ञानेन्द्रलाई गुमाउँदा ८२ रन जोड‍ेको थियो जतिबेला २७ ओभरको खेल बाँकी नै थियो । त्यो अवस्थामा नेपाललाई ८७ रन आवश्यक थियो अर्थात प्रतिओभर करिब ३ रन जोडे पुग्ने । छक्का र चौका प्रहार नगरि पनि नेपालले सहजै खेललाई आफ्नो पक्षमा पार्न सक्ने अवस्था थियो ।

आरिफ शेख, रोहित पौडेल, सोमपाल कामी, करन केसीहरु बाँकी नै थिए । तर नेपाल सम्हालिन सकेन । थप २६ रन जोड्दा ४ विकेट गुमाएर १०८-८ को अवस्थामा पुगेको थियो । अन्तत: नेपाली टोली करिब १५ ओभरको खेल बाँकी रहँदै एक सय २० रनमा समेटियो । उत्कृष्ट बलिङ गर्दै सहज जितको आधार तयार गरेपनि नेपाली ब्याट्सम्यानहरु फेरी एकपटक चुके ।

यसअघि पहिलो खेलमा पपुआ न्युगिनीलाई २ विकेटले हराएको नेपालले निकै संघर्षपूर्ण जित हात पारेको थियो । त्यतिबेला पनि नेपालले ४२ रन जोड्दा ४ विकेट गुमाएको थियो । रोहित र आरिफले पाचौँ विकेटका लागि एक सय रनको साझेदारी गर्दै नेपालको आशा जगाएका थिए ।

विश्वकप लिग-२ मा ९ खेलबाट १० अंक जोडेको नेपाल सात टोली सहभागी टोलीमध्ये छैटौँ स्थानमा रहेको छ । १६ खेलबाट २० अंक भएको यूएई दोस्रोमा छ । २८ खेलबाट ३६ अंक भएको ओमान शीर्षस्थानमा रहेको छ । नेपालले शृंखलाअन्तर्गत तेस्रो खेलमा सोमबार पीएनजीसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर