निर्वाचन आचारसंहिताप्रति नगरपालिका र गाउँपालिका महासंघको आपत्ति – Nepal Press

निर्वाचन आचारसंहिताप्रति नगरपालिका र गाउँपालिका महासंघको आपत्ति

काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवार बन्न राजीनामा दिनुपर्ने निर्वाचन आयोगको ‘आचारसंहिता’ प्रति नगरपालिका र गाउँपालिका राष्ट्रिय महासंघले आपत्ति जनाएको छ ।

१५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा ‘उम्मेदवारी अघि राजीनामा दिनुपर्ने’ व्यवस्था कायम गरिएपछि महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले विरोध जनाएका हुन् ।

स्थानीय तहले नागरिकलाई १ मिनेट पनि सेवा प्रवाहबाट बञ्चित राख्न नमिल्ने बताउँदै संविधान र कानुनले स्थानीय तह जनप्रतिनिधिविहीनको परिकल्पना समेत नगरेको सिन्धुपाल्चोकको जुगल गाउँपालिका अध्यक्षसमेत रहेका श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले आचार संहिता नसच्याइए संवैधानिक र कानुनी उपचार खोज्नुपर्ने अवस्था आउनसक्ने चेतावनीसमेत दिए ।

‘यो निर्वाचन आचारसंहितामा हाम्रो आपत्ति छ । त्यसबारे पहिले पनि आयोगका प्रमुख आयुक्तसँग छलफल भएको थियो, हामीले विरोध जनाएका थियौं,’ उनले भने, ‘निर्वाचन अयोगले संविधान अनुसार काम गर्न सक्छ । तर, संविधानविपरीत काम गर्न सक्दैन, आचार संहिता संविधान विपरीत छ । जनप्रतिनिधिले पाँच वर्षसम्म सेवा दिने व्यवस्था संविधानमा छ ।’

यस्तै नगरपालिका संघका उपाध्यक्ष कविता ढुंगानाले पनि निर्वाचन आचारसंहिता संविधानसँग बाझिएको बताएकी छन् ।  उनले ‘बहालवाला जनप्रतिनिधि फेरि उम्मेदवारी दिन सक्छन् । तर, राजीनामा दिनुपर्ने व्यवस्था कहिँकतै छैन । १ दिन अगाडि राजीनामा दिनु भनेको पनि कानुन विपरीत हुन्छ । संविधानले स्थानीय तहका जनप्रतिनिको कार्यकाल पाँच वर्ष भनेको छ । आचारसंहिता संविधानसँग बाझिएको छ ।’  यसबारे नगरपालिका संघको बैठक बसेर स‌ंघकाे आधिकारीक धाराणा आउने उनले बताइन् ।

आयोगले बनाएको संहिता बिहीबार मात्र राजपत्रमा प्रकाशित भएको थियो । यो आचारसंहिताप्रति विरोध जनाएका श्रेष्ठले महासंघमा छलफल गरेर आधिकारिक धारणा पनि सार्वजनिक गरिने बताए । निर्वाचन आयोगले बिहीबार आचारसंहिता प्रकाशित गर्दै आफ्नो नाममा पेस्की वा बेरुजु भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ ।

त्यस्तै जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने, उम्मेदवारीअघि राजीनामा दिनुपर्ने व्यवस्था पनि कायम गरिएको छ । स्थानीय तहको निर्वाचन  वैशाख ३० मा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर