जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न, भोलि मात्र होली मनाइने – Nepal Press

जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न, भोलि मात्र होली मनाइने

जनकपुरधाम । जनकपुरधाममा अन्तगृह परिक्रममा सन्पन्न भएको छ । जनकपुरधामको अन्गरगृह परिक्रममा पश्चात १५ दिने ऐतिहासिक एवं धार्मिक मिथिला माध्यमिकी परिक्रमा सन्पन्न भएको हो ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिन्छ ।

मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । ‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालु श्री मिथिला विहारीका डोला पछिपछि श्रद्धा भक्तिका साथ परिक्रमा गर्ने गर्दछन् । अन्तरगृह परिक्रममामा लाखौं श्रद्धालु सहभागी भएका थिए ।

परिक्रमामा सहभागीले दान पनि गर्ने चलन रहेको छ । परिक्रममाको समयमा जनकपुरधाम परिक्रमा क्षेत्रमा जताततै गरिब विपन्नहरुले सडकमा लुगा ओछ्याएर माग्न बसेका थिए भने परिक्रमा गर्ने यात्रुहरुले ति लुगामा अन्न (चामल) र रुपैयाँ दान गर्दै हिडिरहेका थिए । आजको दिन दान गर्दा ठूलो पूण्य हुने गरेको जनविश्वास रहेको छ ।

यो परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास रहेकाे छ । वैष्णव, शैव र शाक्त सम्प्रदायको धार्मिक अनुष्ठानका रूपमा माध्यमिकी परिक्रमालाई लिइन्छ ।

मिथिला परिक्रमाअन्तर्गत श्रद्धालुहरुले आज १३० किलोमिटरको यात्रा पुरा गरेका छन् । यात्रामा सामजिक उत्तरदायित्व बहनताको समृद्धि, आपसी सम्बन्ध प्रगाढताको सन्देश लुकेको पाइन्छ । इतिहासकारहरूका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो भने हाल बस्ती रहेको छ ।

अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उनका शिष्य लाडली शरणले सो जिम्मेवारी सम्हालेका र उनी कचुरी पठका महन्त थिए । त्यसैबेला देखि परिक्रमाको मूल डोला कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको मान्यता रही आएको छ ।

परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएको र विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरित्रमा उल्लेख गरिएको छ । परिक्रममा सहभागी साधु, सन्त, महन्थ र श्रद्धालुहरुले नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजापछि न्यायमूर्तिमाथिको दर्शन र आशीष लिने चलन रहेको छ ।

परिक्रमा आज विधिवत रुपमा समापन भएपछि जनकपुरधाम क्षेत्रमा भोलि मात्र होली पर्व मनाउने चलन छ । पहाडी जिल्लाहरुमा हिजो नै होली मनाइएको छ । आज तराई मधेसमा होली मनाइँदैछ । तर जनकपुर क्षेत्रमा भने भोलि (शनिवार) मात्र होली मनाइन्छ ।

मिथिला माध्यमिकी परिक्रमामा जनकपुधाम प्रवेश गर्ने भएकाले चैत ३ र ४ गते सूर्याेदयदेखि सूर्यास्तसम्म माँस–मदिराको खरिद विक्री र सेवनमा स्थानीय प्रशासनले  प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *