उद्योगको नाममा सुपारी आयात खुल्यो, अनुमतिपत्र भने व्यापारिक फर्मलाई (सूचीसहित) – Nepal Press

उद्योगको नाममा सुपारी आयात खुल्यो, अनुमतिपत्र भने व्यापारिक फर्मलाई (सूचीसहित)

काठमाडौं । औद्योगिक प्रयोजनका नाममा सुपारीमाथिको परिमाणात्मक बन्देज हटाउने निर्णय गरेलगत्तै उद्योगले होइन ९ वटा व्यापारिक फर्मले सुपारी आयातको अनुमति पाएका छन् ।

उद्योग विभागको सिफारिसमा औद्योगिक प्रयोजनका लागि दिने भनेर राजपत्रमा प्रकाशित भए पनि वाणज्यि विभागबाट सीधै प्रधानमन्त्री निवासको दबाबमा ९ वटा व्यवसायिक फर्मको नाममा अनुमतिपत्र दिएको वाणिज्य मन्त्रालयका उच्च अधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार सुपारी, केराउ र मरिच औद्योगिक प्रयोजनको लागि उद्योग विभागको सिफारिसमा सम्बन्धित उद्योगले आफैं आयात गर्न सक्नेगरी वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयात अनुमति प्रदान गर्न स्वीकृति दिएको जनाइएको छ ।

तर, अनुमति पाउने ९ वटा फर्म कुनै पनि उद्योग होइनन् । यिनीहरू व्यापारिक फर्म हुन् । व्यापारीलाई सुपारी आयातका लागि अनुमति दिने उद्देश्यले ठूलो आर्थिक डिल गरेर आयात खुलाइएको थियो ।

अनुमतिपत्र पाउनेमा उद्योग होइन, विगतमा पनि तेस्रो मुलुकबाट सुपारी आयात गरेर भारत तस्करी गर्नेमा ख्याती कमाएका दिनेश राठी, कमलकिशोर मालपानीलगायतका व्यक्तिका व्यापारिक फर्म रहेका छन् ।

उद्योग विभागले सिफारिस नगर्दै फर्मले अनुमति पाएपछि मन्त्रालयमै खैलाबैला मच्चिएको छ । मन्त्रालयका उद्योग सचिव अर्जुन पोखरेलले आयात अनुमतिसम्बन्धी निर्देशिका नै आफूकहाँ मंगलबारमात्र आइपुगेको भन्दै त्यसरी अनुमतिपत्र दिनै नमिल्ने बताए ।

उनले भने, ‘राजपत्रमा सूचना प्रकाशित भएपछि निर्देशिका बनेर मकहाँ आजमात्र आइपुगेको छ । उद्योगले परिणाम खुलाएर कच्चा पदार्थका रूपमा ल्याउन पाउने हुन् । ट्रेडिङ फर्महरूले अनुमति पाउँदैनन् ।’

यसबारेमा जानकारी लिन खोज्दा वाणिज्य सचिव गणेश पाण्डे सम्पर्कमा आउन चाहेनन् । स्रोतका अनुसार सुपारी आयातको अनुमति पाएका फर्महरूले पत्र बुझ्न थालिसकेका छन् ।

विभागको निकासी, पैठारी इजाजत तथा सहजीकरण विभागबाट सोमबारै ९ वटा फर्मको नाममा पत्र बनाइएको बताइन्छ । प्रत्येक फर्मले एक हजार मेट्रिक टनका दरले दाना सुपारी ल्याउन पाउनेगरी स्वीकृति भएको स्रोतले जनाएको छ ।

उद्योग वाणिज्य मन्त्रालयमा मन्त्री नभएको कारण यो सबै निर्णय र निर्देशन सीधै प्रधानमन्त्रीकैबाट भएको छ । सुपारी आयातको अनुमति खुलाउने निर्णय भएलगत्तै प्रधानमन्त्री पत्नी आरजु देउवा र व्यापारीसँग आर्थिक डिल गरेका प्रधानमन्त्रीका गृहजिल्लाबासी बिचौलिया रामचन्द्र भट्ट विदेशतिर लागिसकेका छन् ।

यो पढ्नुस् : ५० करोडको डिल सफल- सुपारी, केराउ र मरिचको तस्करीका लागि आयात खुला

यो पनि पढ्नुस् : सुपारी आयात खुलाउन ५० करोडको डिल, यी हुन् खटाइएका विचौलिया

यो पनि पढ्नुस् : सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव


प्रतिक्रिया

One thought on “उद्योगको नाममा सुपारी आयात खुल्यो, अनुमतिपत्र भने व्यापारिक फर्मलाई (सूचीसहित)

  1. श्रीमती समेतलाई लुटनमा खटाउनेहरूकाे जमात हाे याे गठबन्धन । यस्ता लुटेराहरूबाट देशले विनाश बाहेक केही आश गर्न सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर