सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव – Nepal Press

सुपारी तस्करीको लाइन खुलाउन आर्थिक चलखेल, आयात बन्देज हटाउन मन्त्रिपरिषदमा प्रस्ताव

काठमाडौं । सुपारी आयात खुलाउन ठूलो आर्थिक चलखेल भइरहेको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारीहरू झस्किएका छन् । विभागीय मन्त्री नभएको बेला सीधै प्रधानमन्त्री निवास र कार्यालयबाटै सुपारीको ‘लाइन’ खुलाउन दबाब आएको हो ।

स्रोतकाअनुसार अघिल्लो सरकारले परिणात्मक बन्देज लगाएको सुपारी केही व्यापारीलाई फाइदा पुग्ने गरी आयात अनुमति दिन मन्त्रालयबाट फाइल अघि बढेको छ । प्रधानमन्त्री कार्यालय र निवासबाट दबाब आएपछि सुपारी आयात खुलाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको हो ।

आयात खुलाउन मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्छ । अहिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिरहेका छन् । तर, सुपारी आयात खुलाउने चाँजोपाँजो भने कांग्रेसका पूर्वसांसद तथा व्यवसायी अनिल रुङ्टा र प्रधानमन्त्रीको गृहजिल्ला डडेलधुरा घर भएका विवादस्पद पूर्वप्रशासक रामचन्द्र भट्टले गरिरहेका छन् ।

भट्टले यसबीचमा नेपालकै ठूलो सुर्ती कम्पनी श्रीराम टोबाको कम्पनीका किशोर मालपानी, विजयकुमार मालपानी र उमाशंकर मालपानी दाजुभाइसँग डिल गरेर भैरहवाबाट फर्किएका छन् । सुपारी तस्करीको लाइन खुलाउ कम्तीमा ४० देखि ५० करोड रूपैयाँको डिल भएको उच्च व्यापारिक घरानामा चर्चा छ ।

यसको संयोजन पूर्वमा विराटनगरका व्यवसायी दिनेश राठीले गरेको बताइन्छ । औद्योगिक कच्चा पदार्थ आयात भनेर आयात खुलाउने तयारी भइरहेको स्रोतले जनाएको छ । नेपालमै ७ हजार टन सुपारी उत्पादन हुने गरेकोमा अहिले एकाएक चलखेल गरेर खुलाउनुको मुख्य कारण यसको तस्करीबाट मनग्गै पैसा आउने भएकैले हो ।

मागभन्दा बढी परिणाममा तेस्रो मुलुकबाट सुपारी आयात गरेर ती व्यापारीले भारततिर तस्करी गर्छन् । नेपालको भन्सार दर सस्तो भएकाले तस्करहरूले नेपालमा चलखेल गरेर आयात खुलाउने र सुपारी ल्याएर भारततिर लैजाने गर्छन् ।

सुपारी मुख्यतया इन्डोनेसिया, मलेसिया, थाइल्याण्डलगायतका तेस्रो मुलुकबाट नेपाल आयात हुन्छ । आयात भएको सुपारी भारत तस्करी हुने गरेकाले अघिल्लो सरकारले परिमाणात्मक बन्देज लगाएको थियो । पछिल्लो समय केही व्यवसायीले पैसा संकलन गरेर आयात खुलाउन खर्च गरेका हुन् ।

केही वर्षअघि सुपारी तस्करले पूर्वका उच्च सरकारी अधिकारीहरूको सरुवामै दख्खल राख्थे । केही व्यवसायीहरूको सुपारी आयात नै मुख्य धन्दा हो । भारतमा सुपारी आयात बन्देज छ । त्यसैले नेपालका केही व्यापारीले सरकारलाई प्रभावित पारेर आफूलाई फाइदा हुनेगरी आयात खुलाउने र तेस्रो मुलुकबाट आयात गरेर अवैध बाटो हुँदै भारत लैजान्छन् ।

झापा, मोरङतिर सुपारी खेती हुन्छ । केही व्यापारीले तेस्रो मुलुकबाट सुपारी आयात गरी भन्सारका कर्मचारीसँग मिलेमतोमा विदेशी सुपारीलाई नेपाली उत्पतिको प्रमाणपत्रसमेत लिने गरेका थिए । जबकी हाम्रो सुपारी निर्यात भएन, विदेशी सुपारी नेपाली भनेर निर्यात गरियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर