माओवादीको बुटवल उपमहानगरमा भाँडभैलोः नेतृत्व छान्ने चार महिनादेखिको प्रयास असफल – Nepal Press

माओवादीको बुटवल उपमहानगरमा भाँडभैलोः नेतृत्व छान्ने चार महिनादेखिको प्रयास असफल

बुटवल । नेकपा (माओवादी केन्द्र) बुटवल उपमहानगर कमिटीको विवाद पुनः सतहमा आएको छ । मंसिर १८ गते बुटवलको अधिवेशन भएपनि विवादका कारण अहिलेसम्म नेतृत्व छनौट हुन सकेको छैन । यही विवाद मिलाउन मंसिर २२ गते बसेको बैठकमा हात हालाहालमा पुगेको थियो भने चार महिनापछि पुनः बसेको बैठक पनि उस्तै विवादास्पद बनेको छ ।

पार्टीका जिल्ला संयोजक निर्मल जिसीले बुधबार बसेको भेलामा महेन्द्र भुसालको अध्यक्षतामा पदाधिकारी छान्ने प्रस्ताव गरेपछि असन्तुष्ट समूहले विरोध गरेपछि त्यो निर्णय गुपचुप राखिएको हो । फागुन २५ गते जिसीको संयोजकत्वमा बुटवल जितगढीको साइनो पार्टी प्यालेसमा भेला आयोजना गरिएको थियो, त्यो भेलामा महेन्द्र भुसालको अध्यक्षतामा ७ सदस्य पदाधिकारी पेश भएपछि हंगामा भएको सहभागी एक नेताले बताए ।

सचिवमा प्रस्तावित मन्जु भुसालले नै ‘कमिटीको मापदण्ड के हो ? कसरी फेरबदल भयो भनेर प्रश्न गरेपछि अन्य सहभागीले दलित खै, जनजाति खै, मुस्लिम खै’ भनेर प्रश्न गरेका थिए। हिजोको निर्णय सुनाउन आज बुटवलको सापकोटा मिस्ठान्न भण्डारमा पत्रकार सम्मेलन गर्ने तयारी भए पनि त्यसलाई स्थगित गरिएको छ ।

बुटवलको नेतृत्वमा आफू अनुकलका नेता ल्याउन जिल्ला अध्यक्ष निर्मल जिसी र केन्द्रीय सदस्य तथा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्री कस्सिएपछि मनोज राना, मणि भट्टराई, विष्णु ढकाललाई अध्यक्ष बनाउन तयार भएको अर्को समूह प्रतिवादमा उत्रिएको हो । यसअघि पुष्प ढकाललाई बनाउन खोजिएपनि विवाद बढ्दै गएपछि उनी प्रदेश कमिटीमा गएका छन् ।

अधिवेशन मंसिर १८ गते नै ७३ सदस्य नगर कमिटी बनाएर पनि पदाधिकारी छनौटमा विवाद बढ्दै गएपछि नेताहरुलाई पदाधिकारी छनौटको जिम्मेवारी दिइएको थियो । यही विषयमा मंसिर २२ गते बसेको बैठकमा केही नेताहरुले आफूखुसीका व्यक्तिलाई नेतृत्वमा ल्याउन खोजेको भन्दै यहाँका पुराना नेता कार्यकर्ताले विरोध गरेपछि हात हालाहालको अवस्थामा आएको थियो ।

माओवादीका पुराना नेता कार्यकर्ताले बुटवलमा स्थायी नेतृत्व नचाहेका कारण पार्टीको संगठन ध्वस्त भएको बताउँदै भूगोलमा काम गर्ने स्थानीय नेतालाई अगाडि सार्न दवाव दिएका छन् ।

‘१८ गते सकिएको अधिवेशनले अहिलेसम्म नेतृत्व छान्न सकेको छैन, यहाँभन्दा सांगठनिक अराजकता के हुन्छ ? चुनाव गर्न पनि नदिने, आफ्नो मान्छे पार्न सहमतिका लागि बस्न पनि नदिने ?’ एक स्थानीय नेताले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर