लोकसेवा आयोगको माग– पदाधिकारीको मर्यादाक्रमलाई पुनरावलोकन गरियोस् – Nepal Press

लोकसेवा आयोगको माग– पदाधिकारीको मर्यादाक्रमलाई पुनरावलोकन गरियोस्

रुपन्देही । लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीहरुको राष्ट्रिय सम्मेलनले पदाधिकारीको नियुक्ति र बर्खास्ती तथा मर्यादाक्रमलाई पुनरावलोकन गर्न माग गर्ने निर्णय गरेको छ । रुपन्देहीको तिलोत्तमा सम्पन्न दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो ।

सम्मेलनले ०७६ वैशाख १६ गते निर्धारण भएको लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको मर्यादाक्रमलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय गरेको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनले सरकारले मर्यादाक्रम सम्बन्धी कानुनमा नियुक्ति र बर्खास्तको प्रक्रियाका साथै वहन गर्नुपर्ने जिम्मेवारीलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय सम्मेलनबाट भएको जानकारी दिए ।

रेग्मीले प्रदेश लोकसेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दरसंग मिल्ने गरी एकरुपताका लागि पहल गर्नेसमेत निर्णय भएको बताए । परीक्षालाई प्रभावकारी बनाउन हरेक आर्थिक बर्ष वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोकसेवा आयोगहरुले एकैपटक प्रकाशन गर्ने पनि निर्णय सम्मेलनले गरेको छ ।

त्यस्तै संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानिय सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने विषयमा सम्बन्धित कानून वा लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग ऐनमा आवश्यक व्यवस्था मिलाउन पहल गर्ने समेत उनले बताए ।

कुनै लोकसेवाले कारबाही गरेका उम्मेदवारलाई सवै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा आवेदन गर्न नपाउने विषयमा पनि ऐनमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको उनको भनाइ छ ।

सम्मेलनमा ७ वटै प्रदेश लोकसेवा आयोगका प्रमुखहरुको सहभागिता रहेको छ । सम्मेलनले हरेक वर्ष फागुनको २३ र २४ गते लोकसेवा आयोगहरुको राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर