लोकसेवा पदाधिकारीको सम्मेलन : नियुक्ति, बर्खास्त र मर्यादाक्रम मापदण्ड पुनरावलोकनको माग – Nepal Press

लोकसेवा पदाधिकारीको सम्मेलन : नियुक्ति, बर्खास्त र मर्यादाक्रम मापदण्ड पुनरावलोकनको माग

रुपन्देही । लोकसेवा आयोगका अध्यक्ष तथा पदाधिकारीहरूको राष्ट्रिय सम्मेलनले पदाधिकारीको नियुक्ति र बर्खास्त तथा मर्यादाक्रमलाई पुनरावलोकन गर्न माग गर्ने निर्णय गरेको छ । रुपन्देहीको तिलोत्तमामा सम्पन्न दुई दिने दोस्रो राष्ट्रिय सम्मेलनले यस्तो निर्णय गरेको हो ।

सम्मेलनले २०७६ वैशाख १६ गते निर्धारण भएको लोकसेवा आयोग र प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरूको मर्यादाक्रमलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय गरेको आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनले सरकारले मर्यादाक्रमसम्बन्धी कानूनमा नियुक्ति र बर्खास्तको प्रक्रियाका साथै बहन गर्नुपर्ने जिम्मेवारीलाई पुनरावलोकन गर्न सरकारलाई माग गर्ने निर्णय सम्मेलनबाट भएको जानकारी दिए ।

रेग्मीले प्रदेश लोकसेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोकसेवा आयोगबाट स्वीकृत दररेटसँग एकरूपता हुने गरी लागि पहल गर्ने समेत निर्णय भएको बताए । परीक्षालाई व्यवस्थापनलाई प्रभावकारी बनाउन हरेक आर्थिक वर्ष वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोकसेवा आयोगहरूले एकैपटक प्रकाशन गर्ने पनि निर्णय सम्मेलनले गरेको छ ।

त्यस्तै संघीय निजामती सेवा, प्रदेश निजामती सेवा र स्थानीय सेवाको पदमा कार्यरत स्थायी कर्मचारीलाई उमेरको हद लाग्ने विषयमा सम्बन्धित कानून वा लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग ऐनमा आवश्यक व्यवस्था मिलाउन पहल गर्ने समेत उनले बताए ।

कारबाही परेका जुनसुकै उम्मेदवारलाई सबै लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा आवेदन गर्न नपाउने विषयमा पनि ऐनमा आवश्यक व्यवस्था मिलाउने निर्णय भएको उनको भनाइ छ ।

प्रदेश तथा स्थानीय तहहरुले प्रक्रियाविपरीत बढुवा, तहवृद्धि गर्ने कार्यहरूलाई प्रदेश लोकसेवा आयोगले कानुनअनुसार रद्दतर्फ कारबाही अगाडि बढाउने निर्णय पनि सम्मेलनले गरेको छ ।

सम्मेलनमा ७ वटै प्रदेश लोकसेवा आयोगका प्रमुखहरुको सहभागिता रहेको छ । सम्मेलनले हरेक वर्ष फागुनको २३ र २४ गते लोकसेवा आयोगहरुको राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने पनि निर्णय गरेको छ ।

सम्मेलनले योग्य सक्षम र इमान्दार जनशक्तिलाई सार्वजनिक सेवामा आकर्षित गर्ने गरी घोषणापत्र समेत बनाएको छ । घोषणा पत्रमा नविनतम प्रविधिलाई प्राथमिकतामा राखी सार्वजनिक प्रशासनमा जनताको अपेक्षा अनुसार जनशक्ति भित्राउन प्रतिबद्ध हुने उल्लेखसमेत छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *