एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि : गृहमन्त्री खाण – Nepal Press

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् ।

नेपाल निजामति कर्मचारी संगठन गृह विभागीय १२ औं अधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने पनि प्रष्ट पारे ।

‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न,’ गृहमन्त्री खाणले भने ।

एमसीसीले विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाणले बताए ।

उनले विद्युतको तारबाट विद्युत आउने, विदेशी सेना नआउने बताए ।

‘विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन,’ गृहमन्त्री खाणले भने, ‘राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको हो ।’

उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए ।

एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनियता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ थियो ।

एमसीसी ऋण नभइ अनुदान भएको बताउँदै उनले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको बताए । ‘एमसीसी ऋण होइन, अनुदान हो,’ गृहमन्त्री खाणले भने, ‘आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’

एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा जुनसुकै कम्पनीले पनि टेण्डर हालेर काम पाउन सक्ने उनको भनाइ थियो । उनले भने, ‘एमसीसी सहयोगबाट सञ्चालन हुने परियोजनामा अन्तर्राष्ट्रिय टेण्डर आह्वान हुन्छ । प्रक्रिया पु¥याएर जुनसुकै कम्पनीले पनि टेण्डर पार्न सक्छन् । बाहिर आएजस्तो हल्ला होइन ।’

यो सहयोगबाट परिचालित आयोजनाको लेखा परिक्षण गर्ने अधिकार महालेखा परिक्षकको कार्यालयलाई हुने उनले बताए ।

फरक प्रसंगमा गृहमन्त्री खाणले राष्ट्रसेवक कर्मचारीलाई उचित पारिश्रमिक दिन सकियोस् भन्ने पक्षमा सरकार रहेको बताए । साधन र स्रोतको अभावमा सोचेजति पारिश्रमिक दिन नसकिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर