लुम्बिनीमा किसानले घरमै बसेर बीउविजनको जानकारी पाउने सफ्टवेयर – Nepal Press

लुम्बिनीमा किसानले घरमै बसेर बीउविजनको जानकारी पाउने सफ्टवेयर

रुपन्देही । किसानले कुन बीउबिजन कुन समयमा लगाउने र कुन बीउबिजन लगाएमा बढी उत्पादन हुनसक्छ भन्ने जानकारी नपाएका कारण धेरै पीडित हुनुपरेको छ ।

समयमा बीउबिजन नपाउनु, सूचिकृत बीउबिजन नपाउँदा त्यसबाट उत्पादन नभए लगानी डुब्ने तर क्षतिपूर्ति नपाउने, परम्परागतरुपमा तानिदै आएका बीउबिजनलाई परीक्षण गरी उत्पादनमूलक छ वा छैन भन्ने जानकारीबिना नै प्रयोग गर्नुपर्ने र किसानलाई लोभ देखाएर कमसल बीउबिजन बेच्नेलाई कुनै कारबाही नभएका कारण धेरै किसानहरु यसको चपेटामा परेका छन् ।

लुम्बिनी प्रदेशमा ६ वटा जिल्ला भारतसँग खुला सीमा भएका कारण कमसल बीउबिजन भारतबाट आएपनि त्यसको परीक्षणका कुनै विधि नहुने र सिंगो प्रदेशका १२ जिल्लाका लागि रुपन्देहीको भैरहवा र बाँकेको खजुरामा गरी २ वटा मात्र बीउबिजन प्रयोगशाला रहेकाले किसानको पहुँच पुगेको छैन।

यो प्रयोगशालाका लागि किसानलाई आउनजान नै झन्झट भएकाले परीक्षण विधिमै किसान जान नचाहेका कारण कर्मचारीलाई नै यो विषयमा किसानलाई सुनाउन समस्या परेको थियो । किसानको यस्तो समस्यालाई समाधान गर्ने उपायको समन्वय गर्दै लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालले प्रदेशमा बीउविजन परिक्षण सम्बन्धी सफ्टवेर लागू गर्ने भएको छ ।

किसानले ल्याएको बीउ परीक्षणको लागि किसान स्वयम् नै वीउविजन प्रयोगशालामा लैजानुपर्ने बाध्यतालाई निराकरण गर्दै स्थानीय तहमार्फत नै बीउ विजन परीक्षण प्रक्रिया सुरु गर्ने गरी नयाँ प्रविधि ल्याइएको हो ।

यसका लागि प्रदेशमा रहेका विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित कृषि ज्ञान केन्द्रका प्राविधिकहरुलाई राखेर यो संचालनको तालिम प्रदान गरिएको छ । कृषि विकास निर्देशनालयका प्रमुख यामनाराराण देवकोटाले किसानले आफ्नो बीउको गुणस्तरियता, उत्पादन दर लगायतका विषयमा जानकारी लिनको लागि अब सफट्वेरमार्फत नै जानकारी पाउने बताए ।

कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले किसानको सहजीकरणका लागि नयाँ प्रविधिमा आधारित सफ्टवेरमार्फत बीउविजन परीक्षणको योजना ल्याइएको जानकारी दिए ।

‘अब कुनै किसानले बीउ परीक्षणका लागि बोकेर प्रयोगशाला धानुपर्दैन, स्थानीय सरकारमा हामीले त्यो प्रविधिसहितको व्यवस्था गरेका छौं, नागरिकले त्यहीँबाट नै आफ्नो बीउ प्रयोग गर्न उचित छ वा छैन भन्ने विषयमा जानकारी पाउनेछन्, कुन बीउ लगाएर प्रतिफल आउँदैन भन्ने जानकारी भएपछि किसानको मेहनतल लगानी खेर जानेछैन’उनले भने ।

यो सफ्वेयर निर्माण गरेका ड्रिमवर्क सोलुसन प्रालिका कार्यकारी प्रमुख सन्तोष जोशीले स्थानीय सरकारलाई प्रदेश सरकारले समन्वय गरेर यो विधि अगाडि सारिएको बताए । उनले अब प्रविधिको प्रयोगबिना किसानले लागत उठाउन नपाउने भएकाले बीउका बारेमा प्रशस्त जानकारी पाउने बताए ।

बागवानी विकास अधिकृत सुनैना बराली र कृषि अधिकृत दयाराम बस्यालले यो प्रविधिले प्रदेश सरकार र स्थानीय सरकारबीच थप समन्वय आवश्यक हुने र किानले लाभ लिनेगरी स्थानीय सरकारको कृषि शाखा लाग्नुपर्ने र नागरिकले त्यो सूचना पाएपछि सजिलै बीउ परीक्षण गरेर मात्रै प्रयोग गर्नुपर्ने विधिमा जानुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर