कमिसन नबढाएको भन्दै पेट्रोलियम व्यवसायीद्वारा खरिद बन्द – Nepal Press

कमिसन नबढाएको भन्दै पेट्रोलियम व्यवसायीद्वारा खरिद बन्द

काठमाडौँ । पेट्रोलियम पदार्थ बिक्री गरेवापतको कमिसन वृद्धि नगरेको भन्दै विक्रेताहरुले खरिद बन्द गरेका छन् । हिजो रातिबाट नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे पनि आफूहरुको कमिसन नबढाएको भन्दै व्यवसायी आन्दोलित बनेका हुन् ।

इन्धन विक्रेताहरुले मूल्यवृद्धिको आधारमा ३।१४ प्रतिशत प्रतिलिटर कमिसन पाउने गरेका थिए । हिजो भएको मूल्य वृद्धिमा व्यवसायिक कमिसन रोकिएको छ । मूल्यवृद्धि अनुसार व्यवसायीलाई ०.१५ पैसा कमिसन थपिनुपर्नेमा निगमले थपेन ।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बिक्रेता कमिसनको हिसाबमा केही समस्या आएकाले इन्धन ढुवानी रोकिएको बताए ।

उनले भने, ‘देशभरका प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) राखिएन । त्यसैले इन्धन ढुवानी रोकिएको हो । निगमले पीडीओ मिलाउदै होला । पीडीओ मिलेपछि हामी ढुवानी गर्ने छौं ।’

निगमका अनुसार दैनिक करिब ७ सयदेखि ८ सय किलोलिटर पेट्रोल र १ हजारदेखि १ हजार १ सय किलोलिटर डिजेल बिक्री हुने गरेको छ । ढुवानी बन्द भएपछि पम्पहरुमा लामो लाइन हुनसक्छ ।

निगमले हिजो रातिबाट पेट्रोल र डिजेल तथा मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले बढाएर काठमाडौं (निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र) मा प्रतिलिटर नयाँ खुद्रा विक्रीमूल्य एक सय ५० र एक सय ३३ रुपैयाँ कायम गरेको छ । ग्यास सिलिण्डरमा ६ सय ६५ रुपैयाँ ३४ पैसा घाटा भए पनि मूल्य बढाइएको छैन । हवाई इन्धनको मूल्यमा केही समायोजन गरिएको छ ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले निगमलाई जानकारी दिएर नै ढुवानी व्यवसायीले ढुवानी रोकेको बताए । उनले भने, ‘व्यवसायीले आज बिहानदेखि नै इन्धन नउठाउने भनेर जानकारी दिएका थिए । ढुवानी व्यवसायीको कमिसन वृद्धि नभएको भनेर देशैभर इन्धन डिपोबाट इन्धन ढुवानी रोकेका हुन् ।’

पेट्रोलियम पदार्थ अतिआवश्क बस्तुमा पर्छ । त्यस्ता बस्नुको ढुवानी र आपूर्ति रोक्न पाइदैन । तर पेट्रोलियम पदार्थ ढुवानी गर्ने ढुवानीकर्ताहरुले कमिसन वृद्धि नगरेको भन्दै ढुवानी रोकेका हुन् ।

निगम संचालक समितिले मूल्य समायोजनको निर्णयसँगै निगमका स्थायी कर्मचारीलाई उपलब्ध गराउँदै आएको पोशाक संरक्षण खर्च कटौती गर्ने, मूल्य संरचनामार्फत् प्रतिशतमा दिइँदै आएको विक्रेता कमिशन अहिलेलाई फागुन ७ गते कायम भए अनुरूप नै यथावत राख्ने निर्णय गरेको थियो ।

निजी पम्पहरुले ढुवानी रोकेपनि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र साझा पेट्रोल पम्पले इन्धन ढुवानी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *