शहरभरि अस्पताल, तर रोग पालेर बस्छन् मुटुरोगी – Nepal Press

शहरभरि अस्पताल, तर रोग पालेर बस्छन् मुटुरोगी

काठमाडौं । सिटामोलसमेत देख्न नपाइने विकट गाउँघरमा डाक्टरको मुख देख्न शहर धाउनुपर्छ । त्यसैले गाउँमा बस्नेहरु सोच्छन्, शहरमा भए त रोग बोकेर बाँच्नु पर्थेन ।

हो, शहरमा अस्पताल र डाक्टरको कमी छैन । रोग लाग्नासाथ सुविधासम्पन्न अस्पतालमा गएर एक–एक डाक्टरलाई जँचाउन पाइन्छ । तर, शहरमै पनि धेरै मानिसहरु रोग पालेर बाँचिरहेका छन् । गत पुस दोस्रो साता घुन्सा फाउन्डेसन र विपन्नका लागि स्वास्थ्य नेपालले झापाको दमकमा गरेको ३ दिने निशुल्क स्वास्थ्य शिविरले यही देखायो ।

दमकमा गरिएको शिविरमा विशेषगरी मुटु रोग, बाल रोग, अन्य जनरल फिजिसियन सेवाहरु दिइएको थियो । सेवा लिन आएकामध्ये सबैभन्दा बढी मुटुरोगी भेटिए । दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्दा १७ प्रतिशतमा विभिन्न खाले मुटुरोग देखिएको थियो ।

दमकमात्र नभएर देशैभर पछिल्लो समय मुटुरोगी बढेको मुटु रोग विशेषज्ञहरु बताउँछन् । मुटु गम्भीर भएर अस्पताल आउनेको संख्या भन्दा थाहै नपाइ बस्नेहरुको संख्या धेरै ठूलो रहेको उनीहरुको भनाइ छ ।

दमकजस्तो एउटा सुगम ठाउँमा पनि यति धेरै मुटुरोगी हुनुले देशमा दिन प्रतिदिन मुटुरोगीहरु बढिरहेका छन् भन्ने संकेत गर्ने त्रिवि शिक्षण अस्पताल मनमोहन सेन्टर महाराजगञ्ज सहप्रध्यापक डा. अनिल भट्टराईले बताए । अस्पतालमा आउने बिरामीभन्दा अस्पताल नै नआइ अञ्जानमा मृत्यु कुरिरहेकाको तथ्यांक डरलाग्दो रहेको उनको अनुमान छ ।

शहरी क्षेत्रमा पहिलो नम्बरमा बाथ मुटुरोगी, दोस्रो नम्बर जन्मजात मुटुरोगीहरु देखिन थालेका छन् । जन्मजातै मुटुमा प्वाल परेको र त्यसमा पनि सामान्य देखि एएसडी, भीएसडीलगायत जटिल खालका र टेटलो एफएललो लगायतका जटिल खालका मुटुरोगीहरु भेटिएका छन् ।

मुटुरोगमध्ये पनि विशेषगरी बाथ मुटुरोगका बिरामीहरु भेटिन थालेको भट्टराईले जानकारी दिए । बाथ मुटुरोग मानिसको टन्सिलबाट सुरु भएर कालान्तरमा त्यसले बिस्तारै मुटुका भल्बहरुलाई खराब गर्दै लैजान्छ । पछि गएर अप्रेशन नै गर्नुपर्ने र अल्पायूमा ज्यान पनि जान सक्ने उनले बताए ।

डा. भट्टराईका अनुसार बाथ मुटुरोग गरिब देशहरुमा भेटिने एउटा जटिल खालको मुटुरोग हो । नेपालमा पनि अहिलेसम्म मुटुरोगमध्ये पहिलो नम्बरमा पर्छ ।

शहरी क्षेत्रमा पहिलो नम्बरमा बाथ मुटुरोगी, दोस्रो नम्बर जन्मजात मुटुरोगीहरु देखिन थालेका छन् । जन्मजातै मुटुमा प्वाल परेको र त्यसमा पनि सामान्य देखि एएसडी, भीएसडीलगायत जटिल खालका र टेटलो एफएललो लगायतका जटिल खालका मुटुरोगीहरु भेटिएका छन् ।

यस्तै उपचारका लागि ढिला आउने, थाहा नपाएर मुटुरोग केन्द्रसम्म, विशेषज्ञकहाँ जान नसकेका त्यस्ता खालका जटिल बिरामीहरु पनि उत्तिकै संख्यामा भेटिइरहेका छन् ।

मुटुको नली ब्लक हुनसक्ने बिरामीहरु तेस्रो नम्बरमा रहेको डा. भट्टराई बताउँछन् । त्यसमध्ये अधिकांशलाई तुरुन्तै इन्भेस्टिगेसन, एनजिओग्राम गर्नुपर्ने हुन्छ । त्योबाहेक मुटुका चाल गडबड भएका बिरामीहरुलाई पेसमेकर हाल्नुपर्ने हुन्छ ।

मुटु प्रत्यारोपण भने नेपालमा अहिलेसम्म सम्भव भएको छैन ।

डा भट्टराई भन्छन्, ‘त्यसमा धेरै कुराहरु अगाडि बढेका छन् । कानूनी कामहरु पनि भएका छन् । आशा गरुँ, केही वर्षभित्र मुटुको ट्रान्सप्लान्ट पनि नेपालमा सम्भव हुने छ ।’

टिचिङ अस्पिटलका बालरोग विशेषज्ञ डा. दिनेशप्रसाद कोइराला पनि दमकमा भएको स्वास्थ्य शिविरमा पुगेका थिए । जटिल रोग लागेका ३ सयजना बालबालिका शिविरमा आएका थिए । शिविरमा आएका १५ जना बालबालिकालाई टिचिङ हस्पिटलमा ल्याएर अपरेसन गर्ने सुविधा दिइने भएको छ ।

उमेर बढ्दै गएपछि प्रेसर बढ्ने र मुटु फूल्दै जाने हुँदा मुटुको समस्या बढ्ने उनी बताउँछन् ।

शिविरमा ३ सय बालबालिकामध्ये ८७ जना मुटुको बिरामी फेला परेको विपन्नको लागी स्वास्थ्य नेपालको अध्यक्ष रत्नबहादुर थापाले बताए ।

उनले भने, ‘हामीले कतै शिविर चलाउँछौं, तपाईंको मुटुमा समस्या छ अस्पताल जानुस् भन्यो भने उहाँहरु जानुहुन्न । यस्तो भयो भने हामी शिविर चलाएको अर्थ हुँदैन । त्यसैले विभिन्न शिविरमा भेटिएका बिरामीलाई काठमाडौं ल्याएर उपचार गराउँछौं ।’

दमकजस्तो सुगम क्षेत्रमा पनि मुटुरोगी धेरै भेट्नु भनेको जनस्वास्थ्यको नाजुक अवस्था भएको घुन्सा फाउनडेशनकी अध्यक्ष याङ जोन शेर्पा बताउँछिन् ।

‘सुगम ठाँउमा पनि मुटुरोगी हुँदा रहेछन् है भनेर अब सचेत हुनुपर्ने बेला आएको छ,’ उनले भनिन्, ‘कसैलाई जन्मजात, कसैलाई विभिन्न प्रकारका मुटुसँग सम्बन्धित समस्याहरु भएको हामीले भेट्टाएका छौं ।’

उनले थपिन्, ‘९० बर्ष नाघिसक्नुभएका पनि मुटुरोगी हुनुहुन्छ । उहाँहरुलाई व्यवस्थित तरीकाले काठमाडौँसम्म ल्याएर मनमोहन यहाँका अस्पतालहरुमा सहकारी गरी उपचार गर्नेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर