तीव्र विवादबीच माओवादीको केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षले लिखितरुपमै फरक मत राख्ने – Nepal Press

तीव्र विवादबीच माओवादीको केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षले लिखितरुपमै फरक मत राख्ने

काठमाडौं । पार्टी विभाजनको चर्चाबीच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । पटक–पटक स्थागित भएको केन्द्रीय समितिमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताए । बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

संशोधनबिना एमसीसी पास गर्न नहुने आठौं महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णयविपरीत अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तीव्र विवाद छ ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्वस्थायी समिति बैठकको निर्णयमा नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरुले फरक मत राखेका थिए ।

एमसीसीमा फरक मत राख्नेमध्यका नेता लिलामणि पोखरेल केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखतरुपमै उठाउने बताए ।

‘संगठन र चुनवाको एजेन्डा त पार्टीबाट आइहाल्छ,’ पोरखेलले भने, ‘अर्को एजेन्डा एमसीसी हो । म लिखितरुपमा एमसीसीको विषय उठाउँछु ।’

एमसीसीमा विवाद बढेपछि आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका नेता श्रेष्ठले पनि लिखितरुपमै एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डसँगको छलफलपछि एसमीसीका विषयमा श्रेष्ठ फरक मत राखेर जान तयार भएका थिए ।

एमसीसीका विषयमा धेरै वरिष्ठ नेताहरुले फरक मत राखेपछि र विशेषगरि नेता श्रेष्ठले छुट्टै छलफल चलाएपछि माओवादी विभाजन त हुँदैन भन्ने आंशका उब्जिएको छ ।

तर, श्रेष्ठ समूहकै नेता लिलामणि पोखरेल पार्टी विभाजनबारे कसैले सोच्दा पनि नसोचेको र त्यो सम्भव पनि नरहेको दावी गर्छन् ।

आठौं महाधिवेशनपछि पहिलोपटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो । चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो । त्यसपछि सुरु भएको कोरोना संक्रमण र सत्ता गठबन्धनभित्रको उथलपुथलका कारण बैठक पटक–पटक स्थगन भएको थियो ।

पहिलो बैठककै निरन्तरताका रुपमा सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘संगठन र भावी कार्ययोजना तय गर्ने’ रहेको ढकालले नेपाल प्रेसलाई जानकारी दिए । महाधिवेशनबाट माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरुको जिम्मेवारी बाँडफाँट पनि भएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर