चार देशमा छायाङ्कन गरिएको ‘लप्पन छप्पन २’ को प्रिमियर, शिव श्रेष्ठका बाबुछोरा देखिए एकसाथ (भिडिओ) – Nepal Press

चार देशमा छायाङ्कन गरिएको ‘लप्पन छप्पन २’ को प्रिमियर, शिव श्रेष्ठका बाबुछोरा देखिए एकसाथ (भिडिओ)

काठमाडौं । ‘म यस्तो गीत गाउँछु २’ पछि अर्को एउटा सिक्वेल रिलिजको संघारमा छ । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको ‘लप्पन छप्पन २’ को आज प्रिमियर शो आयोजना गरियो ।

कोरोना महामारीका कारण यो चलचित्रको रिलिज पटक-पटक स्थगित भएको थियो । बिग मुभिजमा आयोजित प्रिमियरमा आएर चलचित्र हेरेका कलाकार तथा सञ्चारकर्मीले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

मुस्ताङमा छायांकन भइरहेको सिनेमा ‘लाखे’को छायांकनमा व्यस्त भएका कारण सौगात मल्ल र अर्का अभिनेता अनुपविक्रम शाही प्रिमियरमा उपस्थित भएनन् । शिव श्रेष्ठ र उनका छोरा शक्ति श्रेष्ठ प्रिमियरमा उपस्थित थिए । यस्तै, अभिनेता अर्पण थापा, अभिनेत्री क्यारोलिन कोलिन्डा, निर्देशक मुकुन्द भट्ट र निर्माताहरु आएका थिए ।

नेपाल, बेल्जियम, अष्ट्रेलिया र नेदरल्याण्ड्समा छायांकन गरिएको मल्टिस्टारर सिनेमाले राजनीति र अपराधको कथा भन्ने छ । सन् २०१७ मा रिलिज भएको सिनेमा ‘लप्पन छप्पन’ को यो दोस्रो सिरिज हो । चलचित्रमा अभिनेता शिव श्रेष्ठ र छोरा शक्तिले सिनेमामा सँगै काम गरेका छन् ।

प्रिमियरपछि कुरा गर्दै अभिनेता श्रेष्ठले सकारात्मक देशभक्ति विषयवस्तुमा आधारित सिनेमा भएकाले हलमा पुगेर हेर्न दर्शकलाई अपील गरे । महामारीपछि बक्सअफिसलाई चलायमान बनाउन सिनेमाले भूमिका खेल्ने उनको अपेक्षा छ ।
सिनेमाका एक मुख्य कलाकार अर्पण थापाले हलसम्म फर्किन नपाएका दर्शकलाई ग्याङस्टर कथावस्तुले मनोरञ्जन दिने आशा व्यक्त गरे ।

‘दर्शकले लामो समयदेखि ग्याङस्टर र राजनीतिक कथावस्तुका सिनेमा हेर्न पाउनु भएको थिएन,’ उनले भने, ‘विदेशमा रहेका नेपालीले समेत यसलाई रुचाउनु हुनेछ ।’

एक्सन ड्रामामा प्रकाश कुँवर, स्व. दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमल्सिनाको प्रस्तुति रहेको ‘लप्पन छप्पन २’ बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

‘लप्पन छप्पन २’ नेपालीसँगै हिन्दी, तमिल, तेलुगु, भोजपुरी र चाइनिज गरी ६ भाषामा रिलिज हुने बताइएको छ ।

तस्बिरहरु: उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर