शैलुङ, एमाले अध्यक्ष ओलीको आगमन र सम्भावनाका ढोकाहरु – Nepal Press

शैलुङ, एमाले अध्यक्ष ओलीको आगमन र सम्भावनाका ढोकाहरु

पर्यटकीय गन्तव्य शैलुङमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आगमनलाई लिएर विभिन्न माध्यममार्फत खुसी प्रकट भइरहेका छन् ।

शैलुङका सयौं थुम्कामध्ये एउटा थुम्काको हिउँमाथि अध्यक्ष ओली फागुन २० गते बिहान हेलिकप्टरबाट ओर्लने कार्यक्रम छ । उहाँले मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजनामा हुने ‘शैलुङ साहित्यिक–साँस्कृतिक महोत्सव–२०७८’को उद्घाटन गर्नुहुनेछ । शैलुङका थुम्काहरुमा जमेका हिउँका थुप्राहरुमाथि बसेर सयौं स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्, कलाकर्मीहरुले मनोरञ्जन गराउने छन् ।

दोलखा जिल्लाको शैलुङ र मेलुङ गाउँपालिका तथा रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको सीमामा पर्ने शैलुङको भूमिमा अध्यक्ष ओलीको आगमनले उक्त क्षेत्रको विविध सम्भावनाका ढोका उघारिने ठानिएको छ । मनमोहक शैलुङभित्र लुकेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, जैविक पर्यावरण र आध्यात्मिक विविधताको थप उजागर हुने विश्वास लिइएको छ । तीनवटै पालिकाले पूर्वतयारीलाई प्राथमिकतामा राखेका छन् । यहाँका स्थानीय भव्य स्वागत गर्न प्रातीक्षारत छन् ।

तामाङ भाषामा लुङको अर्थ थुम्का हुने र एकसय वटा थुम्का भएकाले उक्त क्षेत्रलाई शैलुङ भनिएको विश्वास स्थानीयको छ । एक–एक गरी गन्ती गर्दा कम्तिमा एकसय वटा थुम्का रहेको र प्रत्येक थुम्कासँग आध्यात्मिक महत्व रहेको विश्वास गरिन्छ । यसै अवसरमा बृहत्तर विकास कोषको स्थापना गरेर शैलुङको समग्र विकासमा जुट्न तीन वटा गाउँपालिकाले साझा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।

शैलुङभित्रका सयौं साना–साना पहाडहरु एकपछि अर्को उक्लँदै ओर्लँदै गर्दा सगरमाथा, अन्नपूर्ण, गणेश, गौरीशंकर हिमाल र श्रृङ्खलाहरु आँखाअघि आइपुग्छन् । समुन्द्री सतहबाट तीन हजार एक सय ४६ मिटर उचाइमा पुग्दा देखिने अद्भूत दृश्य र चारैतिर आँखा लगाउँदा प्राप्त हुने आत्मानुभूति नै शैलुङको पहिलो आकर्षण हो ।

शिशिर ऋतुभरी थुम्काहरु अर्धढाक्ने गरी हिउँले भरिनु शैलुङको दोस्रो आकर्षण हो । डाँडालाई घेरो हालेर तीन सय जति प्रजातिका जडिबुटीको वनजंगल प्राकृतिक रुपमा रहनु तेस्रो आकर्षण हो । हिन्दू र बौद्धका समान आस्था र अस्तित्वका तीर्थस्थलहरु हुनु चौथो महत्व हो ।

राजधानी काठमाडौंबाट लामोसाँघु जिरी सडकहुँदै सिन्धुपाल्चोकको मुढेबाट करिब २० किलोमिटरमा कालापानी पुग्न सकिन्छ । कालापानी शैलुङको आधार शिविर हो । यहाँबाट सडक सुविधा नभएकाले बढीमा एक घण्टाको पैदलयात्रामा शैलुङ पुग्न सकिन्छ । दोलखाको विभिन्न स्थानबाट कालापानीसम्म सडक सम्पर्क छ । रामेछापको विभिन्न ठाउँबाट आधार शिविर खोलाखर्कसम्म सडकले जोडेको छ । ढुङ्गे, कालापानी, खोलाखर्कका आधार शिविरहरुमा पर्यटकले सामान्य सुविधाका खाना र बासका सुविधा पाउँछन् ।

अध्यक्ष ओलीले शैलुङको पेरिफेरीमा हुर्किएका आदीवासी समुदाय तामाङ र शेर्पाका सांस्कृतिक झाँकीहरु अवलोकन गर्नु हुनेछ । महोत्सवमा उपस्थित हुने आदीवासीका भाषा, भेषभुषा, वाजा, सांगीतिक धुन र शब्दशैलीलाई अध्यक्ष ओली र आगन्तुक कलाकार, लेखक, साहित्यकार र पत्रकारले हेर्न र सुन्न पाउनु हुनेछ ।

उहाँ दोलखाको कालिञ्चोकमा केही समय बसेर शैलुङ आउने कार्यक्रम छ । शैलुङ र कालिञ्चोक आमनेसामनेका दुई पहाड हुन् । दुवै प्राकृतिक र धार्मिक महत्वले चर्चित छन् । कुनै बेला उचाइ नाप्ने उपकरणहरु नभएका बेला कालिञ्चोक र शैलुङ कुन अग्लो भन्ने छलफल हुने गथ्र्यो रे ! त्यसको आँकलन डाँफे चराका बेग र उडाइका आधार कालिञ्चोक नै अग्लो भन्ने निष्कर्ष निकालिन्थ्यो रे ।

बुढापाकाका भनाइअनुसार एउटै उचाइमा बेग हानेर उड्दै डाँफे कालिञ्चोकको गणेशथुम्की र शैलुङमा वारापार गर्दथ्यो । गणेश थुम्कीभन्दा माथिको कालिञ्चोकमा डाँफे पुग्न नसकेकाले कालिञ्चोकको थुम्की नै अग्लो भन्ने गरिन्थ्यो ।

शैलुङ भन्दा सात सय मिटर अग्लो कालिञ्चोकको हिउँमाथि अध्यक्ष ओली केहीबेर रहुन हुनेछ । चार बर्षअघि कालिञ्चोक चौरी महोत्सवमा अध्यक्ष ओली प्रमुख अतिथि भएर पुग्ने कुरा अधुरै रहेकाले उहाँ त्यहाँ पुग्न लाग्नु भएको हो । कालिञ्चोकका गाउँपालिकाको आतिथ्यमा बिहानीको भोजन ग्रहण गरेपछि शैलुङतर्फ उहाँको उडान हुनेछ ।
अध्यक्षको आगमन र शैलुङको विविध महत्वलाई मध्यनजर गरेर दुवै जिल्ला दोलखा र रामेछापका नेकपा एमालेका पूरै पार्टी र संगठनहरु शैलुङकेन्द्रित भइ काम गरिरहेका छौं । साथै, दुवै जिल्लाका शैलुङ, मेलुङ र दोरम्बा गाउँपालिकाहरुको सिंगो ध्यान शैलुङकेन्द्रित छ । हाम्रो पार्टीले शैलुङको बृहत्तर विकासका लागि यो अति नै महत्वपूर्ण अवसरका रुपमा लिँदै तयारीमा जुटेका छौं ।

अध्यक्ष ओलीको आगमनमा हुने कार्यक्रमपछि शैलुङ क्षेत्रवासीले नयाँ ढंगको अनूभुति प्राप्त गर्नुहुने हामीले आशा गरेका छौं । पहिलो, शैलुङको समग्र आधुनिक विकासको ढोका खुल्ने क्रमको सुरुवात हुनेछ । डाँडाका आधार शिविरहरुसम्म आधुनिक सुविधाहरु स्थापना हुँदै जानेछन् । दोस्रो, प्रचारप्रसारका दृष्टिले राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा एकैपटक शैलुङको नाम र विशेषताहरु फैलने छ । मिडियाहरु शैलुङबाट सन्देश लिएर जाने छन् र निकै सयमसम्म प्रचार भैरहने छन् ।

तेस्रो, शैलुङका बारेमा साहित्यकारहरुले कथा, कविता, संस्मरणका विवरणहरु लेख्नेछन् । पत्रकारहरुले मनग्ये दृश्यहरु कैद गर्नेछन् । समाचार, लेख, फिचरहरु प्रकाशन र प्रसारण गर्नेछन् । शैलुङले सहित्य सिर्जनाका अमूल्य दस्तावेज प्राप्त गर्नेछन् । चौथो, शैलुङबारे विभिन्न भ्रम र पूर्वाग्रहरु समाप्त हुनेछन् । सीमानाका समस्याहरु स्थगन गरेर साझा थलोको रुपमा बुझाइ बन्ने छ र एकीकृत विकासका लागि सहअस्तित्व र सहिष्णुताका धारणा स्थापित हुने छ ।

पाँचौ, यो अवसरलाई इतिहास मानेर प्रत्येक वर्ष शैलुङमा वार्षिक पर्वका रुपमा महोत्सवहरु भैरहने छन् । परापूर्वदेखि मानव समाजको अभिन्न सांस्कृतिक अंगको रुपमा शैलुङमा हुने लोपोउन्मुख जात्राहरुको संरक्षण अझ व्यवस्थित हुने छ ।

छैटौं, महत्वपूर्ण पक्षका रुपमा शैलुङको पर्यावरणीय पक्षलाई जोगाउने विशेष योजनाहरु बन्नेछन् । शैलुङको जैविक विविधताको रक्षा चुनौतीपूर्ण बन्दै गएको छ । विकासका होडबाजीले शैलुङको कुमारित्वमा दाग लाग्न थालेको छ । शैलुङको चौघेरोलाई आधार मानेर गुरुयोजना निर्माणपछि मात्र विकासको कामहरु थालनी गर्नुपर्ने सन्देश महोत्सवले दिनेछ ।

शैलुङको फेदको सेरोफोरामा कृषिकर्ममा रमाइरहेका अनुहारहरु श्रममा विश्वास गर्छन् । उनीहरुका श्रमबाट उत्पादित आलु, काउली, बन्दाकोभीहरु शैलुङको ब्राण्ड बोकेर राजधानीका भन्साहरुमा पुग्छन् । कृषिकर्मबाट आम्दानीका स्रोत बनाइरहेका नागरिकहरु कहिले ढुवानीका चपेटामा पर्छन् त कहिले मलको समस्यामा पर्छन् । सडकको समस्याले उत्पादनहरु बारीमा कुहिने समस्याबाट अहिले पनि कृषकहरु पीडामा छन् । मलको अभावले उत्पादनको पहिलो चरणमै कृषकहरु आहत हुन्छन् ।

परापूर्वदेखि शैलुङका डाँडा र वनपाखाहरु चौरी, घोडा र गाईवस्तु र वाख्राका चरिचरण क्षेत्र हुन् । पुख्र्यौली पेशाका रुपमा चौपायालाई सहज चहाहर्न र खान्कीका लागि उक्त क्षेत्र सुरक्षित हुनुपर्छ । बढ्दो शैलुङ आक्रमणको सिकारमा चौपाया र जंगली जनवार पनि असुरिक्षत बन्दै छ । शैलुङ साहित्यिक-साँस्कृतिक महोत्सवले यी र यस्ता ताजा विषयलाई गहिरोसँग आगन्तुकलाई जानकारी गराउने छ । र, सयौंका संख्यामा हुने प्राज्ञहरुको जमघटबाट शैलुङले चर्चित गन्तव्यको आधारहरु तय गर्नेछ ।

(मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष हुन्)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *