गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान सकियो – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान सकियो

रुपन्देही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको देशको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध विमानस्थलको यान्त्रिक परीक्षण उडान सकिएको छ ।

रुपन्देहीको भैरहवामा निर्माणसम्पन्न अवस्थामा पुगेको विमानस्थलमा प्राविधिक टोलीले डेढ हप्ता लगाएर यान्त्रिक परीक्षण सकेका छन् ।

थाइल्याण्डबाट ल्याइएको विशेष विमानमार्फत उडान भरेको विमानको दुरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङ लगायतका परीक्षणहरु गरिएको हो ।

विमानस्थल संचालन पूर्व जडान गरिएको सञ्चार उपकरणहरुको परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । जसबाट जडान गरिएका उपकरणहरु ठिक भएनभएको रिपोर्ट आएपछि सोहीअनुसार अघि बढ्छ ।

यस्तै, प्राविधिक टोलीले अन्य उपकरण र हवाई रुटबारे पनि परीक्षण गरेको जनाइएको छ । प्रारम्भिक प्रतिवेदनअनुसार विमानस्थलको यान्त्रिक परीक्षण सफल भएको बताइएको छ ।

परीक्षण उडानको काम सकिएकाले अबको दुई हप्ताभित्र एरोथाई कम्पनीले नेपाल नागरिक उड्डयन यान्त्रिक परीक्षण उडानको अन्तिम प्रतिवेदन दिनेछ । त्यसपछि आइकाओलगायतका ठाउँबाट प्रतिवेदन स्वीकृत गरिएपछि टेस्ट फ्लाइट गरेर व्यवसायिक उडान सुरु हुनेछ । विमानस्थलको प्रारम्भिक परीक्षण सफल भएपछि व्यवसायिक उडान छिटो अपेक्षा गरिएको छ ।

गौतमबुद्ध विमानस्थलमा गरिएका यी सम्पूर्ण यान्त्रिक परीक्षण भने सफल भएको विमानस्थल आयोजनाको आइसीपी २ का प्रमुख प्रवीण न्यौपानेले जानकारी दिएका छन् ।

विमानस्थलको दुई चरण आइसीपी वान (भौतिक संरचना निर्माण) र आइसीपी टू (संचार उपकरण जडान) अन्र्तगतमा काम भएको छ । विमानस्थलको आईसीपी टू को ठेक्का पाएको एरो थाई कम्पनीले यान्त्रिक उडान गरेको हो ।

विमानस्थल संचालनका लागि ‘मिसन भैरहवा’ नाम दिएर माघ १२ गतेदेखि सय दिनको योजना अन्तर्गत कामहरु भइरहेका छन् । विमानस्थल संचालनका लागि पर्यटन मन्त्रालय अन्तर्गतका निकायबाट कामहरु भइरहे पनि गृह, अर्थलगायत मन्त्रालय अन्तर्गतबाट हुने काम फिल्डमा देखिएको छैन । तर विमानस्थल भने आउँदो जेठ पहिलो हप्ताबाट व्यवसायिक उडान भर्ने गरी काम भइरहेको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।

परीक्षण उडान सकिएको र सबै प्राविधिक रुपमा उपयुक्त देखिएपनि यसको पूर्ण विवरण आउन केही समय लाग्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *