‘कोरोना कहरमा नागरिकका सारथि बन्यौं, अरु पनि देखिने थुप्रै काम भएका छन्’ – Nepal Press

‘कोरोना कहरमा नागरिकका सारथि बन्यौं, अरु पनि देखिने थुप्रै काम भएका छन्’

कोभिडको बेलामा जताततै त्रास थियो, आफ्नै घरमा समेत कसैलाई संक्रमित भए छुन त के नजिकै पर्न डराउने अवस्था थियो । त्यसबेलामा बुटवलका मेयर शिवराज सुवेदी स्वास्थ्यकर्मी बोकेर संक्रमितको घरदैलोमा पुगेका थिए । यो मुलुकमा कहीँ पनि नभएको काम बुटवलबाट सुरु भएको हो । संक्रमितको घरदैलोमा पुगेर स्वास्थ्य लाभको कामना गर्ने, हौसला बढाउने, आयुर्वेद ओखती प्रदान गर्ने र योगा सिकाउने कामको सुरुआत गर्ने पहिलो जनप्रतिनिधि बुटवलका मेयर सुवेदी हुन् ।

त्यस अभियानमा उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, सम्बन्धित वडाका अध्यक्ष र जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु निरन्तर सहभागी भएर हजारौं संक्रमितको घरदैलोमा पुगेका थिए । संक्रमण नियन्त्रण र सचेतनामा पनि बुटवलले नै अगुवाई गरेको थियो । २४ घण्टामा आइसीयूसहितको ५० बेडको कोरोना विशेष अस्पताल बनाउने, क्वारेन्टिन र आइसोलेशन बनाउने पनि बुटवल नै हो । लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका विभिन्न सामाजिक संघसंस्था एवम् निजी क्षेत्रलाई साथमा लिएर बुटवलले कोभिड महामारीमा मुलुककै अभिभावकको रुपमा काम गरेको थियो ।

घरघरमा अक्सिजन सिलिण्डर र आयुर्वेदका औषधि बोकेर जाने, जोखिममा रहेका समुदायको पहिचान गरेर घुम्ती टोली खटाउने, सुत्केरी र गर्भवती लक्षित पोषणलाई निरन्तरता दिने, कोभिड कालमा पनि नियमित खोपलाई जारी राख्नेजस्ता महत्वपूर्ण कामले बुटवललाई मुलुकभरमा अगुवाइ गर्ने पालिकाका रुपमा चिनाएको छ । महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारणले आफ्नो थातथलोमा जान नसकेका, बाटोमा अलपत्र परेकालाई ठाउँ–ठाउँमा उद्दार केन्द्र स्थापना गरेर खाना खुवाउने, गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाउने र बेखर्चीलाई रकम समेत सहयोग गरेर धेरैलाई भरोशाको केन्द्र बनाउने काम भएको छ ।

यस अवधिमा बुटवलमा के के काम भए र के कस्ता योजना तय गरियो भन्ने विषयमा बुटवलका प्रमुख सुवेदीसंग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ-

तपाईं मेयर भएपछि अगाडि बढाएका प्रमुख काम के–के हुन् ?

हिजो सिंहदरबारप्रति जवाफदेही हुँदै सिंहदरबारको योजना र प्राथमिकीकरणमा परेका धेरै सेवाहरुलाई अहिले स्थानीय तहमार्फत् प्रवाह गरिएको अवस्था छ । हामीले आफुलाई सेवादेही अर्थात् सेवक र पालिकालाई सेवा केन्द्रका रुपमा विकास गरेका छौं । नागरिकको पहिलो र आधारभूत सेवाकेन्द्रका रुपमा स्थानीय पालिका रहेका छन् ।

संविधानमै किटान गरेर राज्यशक्तिको बाडँफाँड र त्यसको प्रयोग गर्ने अधिकार प्राप्त स्थानीय तहको निर्वाचनमार्फत जनताले आफ्नो सबैभन्दा नजिकको सरकार प्राप्त गरेका छन्, संघीयताको असली कार्यान्वयन भएको अनुभूति गरेका छन् । यो अवधिमा कानून निर्माण, समृद्धिका आधार तय गर्ने र तिनलाई क्रमशः कार्यान्वयन गर्ने काम भइरहेका छन् । संविधानले प्रत्याभूत गरेका कार्यकारिणी, व्यवस्थापिकीय र न्यायिक अधिकारहरुको सदुपयोग गर्दै राज्य सत्ताको स्रोत र शक्तिमा जनताको पहुँच स्थापित भएको विषयलाई सकारात्मक रुपमा लिनुपर्छ ।

संघीयता कार्यान्वयनको यो पहिलो प्रयासमा अरु मुलुकका तुलनामा हामीकहाँ छोटो अवधिमा पनि धेरै काम सम्पन्न भएका छन् जुन शुभसंकेत हुन् । यसमा पनि हामीलाई दुई वर्षदेखि कोभिड महामारीले सताएको अवस्था छ र महामारीबाट जोगिँदै, जोगाउँदै सेवाप्रवाह सूचारु राख्नुपर्ने पनि छ । यद्यपि यो अवधिमा हामीले बुटवल चिनाउने धेरै महत्वका काम गरेका छौं, अगाडि बढाएका छौं ।

जनप्रतिनिधिका रुपमा आइसकेपछि नगर गौरव, प्रदेश सरकारसंगको सहकार्यमा अगाडि बढाइएका प्रदेश गौरव र संघीय सरकारसंगको सहकार्यमा राष्ट्रिय गौरवका आयोजनाहरुको पूर्णता दिनेतर्फ ध्यान दियौं । वडालाई सेवाकेन्द्रका रुपमा सञ्चालन गर्न भवन निर्माण, प्रमुख प्रशासकीय भवन निर्माण, नगर शिक्षा योजना, सहरी विकास गुरुयोजना निर्माणदेखि बुटवललाई डिजिटल सहरका रुपमा विकास गर्ने कुरा, सहयोगापेक्षी सडकमानवमुक्त र लैंगिक हिंसामुक्त सहर घोषणा गर्ने कुरा, समृद्धिका आधार तय गर्ने कुरा, राष्ट्रिय स्वाभिमानको जितगढी सम्पदाको संरक्षण, विस्तार र त्यसलाई उजागार गर्नेकुरा, बुटवलमा जितगढी संग्रहालय बनाउने कुरा, मुलुककै पहिलो ढुवानीग्राम निर्माणको कुरा, बुटवल बधशाला निर्माणको कुरा, सिमसारको संरक्षण गर्दै डुंगा सयर गर्न मिल्ने बैठौलिया ताल विस्तारको कुरा, बहुउद्देश्यीय सपिङ कम्प्लेक्स निर्माणका कुरा, आन्तरिक वाइपास सडक निर्माण, पुलपुलेसा निर्माण, उज्यालो सहर निर्माण सम्पन्न भइसकेका छन् ।

यसका अतिरिक्त कैयन महत्वका काम हामीले सम्पन्न गरिसकेका छौं र जारी राखेका पनि छौं । समग्र बुटवल एक विद्यालयको अवधारणा तय गरेर त्यसलाई कार्यान्वयन गर्ने चरणको सुरुआत गरिएको छ । यो अवधारणा मुलुकमै नमूना हो भन्नेमा म ढुक्क छु । यसका बारेमा अलग्गै छलफल गर्नुपर्ने छ ।

समृद्ध बुटवल, सुखी बुटवलवासी भन्ने मूल नाराका साथ नगरसभाबाट पारित विकास गुरुयोजना र निर्वाचनका समयमा घोषणापत्रमार्फत जनतासंग गरिएका प्रतिबद्धताहरुको आवधिक, मध्यकालीन र दीर्घकालीन योजनाअनुरुप कार्यान्वयन गरिरहेका छौं । भौतिक विकास र मानवीय विकासको सन्तुलनसहित नगर सरकारले अगाडि सारेका बहुवर्षे परियोजनाहरु र जनतासँग प्रत्यक्ष जोडिएका सवालहरु प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेका छौं । आवधिक योजनाहरु पूरा हुने र दीर्घकालीन महत्वका योजनाहरु प्रभावकारी रुपमा अगाडि बढिरहेको अवस्था छ ।

बुटवलको पहिचान विस्तार भयो त ?

बुटवल मुलुकको आर्थिक केन्द्र हो । बुटवल सांस्कृतिक सहर र पर्यटन सर्किटको प्रमुख स्थल हो । यसलाई हामीले तीनवटा पहिचानमा स्थापित गर्नेगरी योजना तय गर्ने र कार्यान्वयन गर्ने काम गरेका छौं । बुटवल बुद्धावलीको अर्थात् बुद्ध डुल्ने, खेल्ने गरेको क्षेत्र हो, बुटवल आदि मानवको सभ्यताको मुहान हो जहाँ आदिमानव रामापिथेकशको अवशेष फेला परेको छ । बुटवल राष्ट्रिय स्वाभिमानको किल्ला, वीरताको किल्ला जितगढी सम्पदा भएको स्थल हो । हामीले बुटवलका खास पहिचानमध्ये तीनवटालाई प्राथिमकतामा राखेर प्रतिविम्बित गर्ने प्रयास गरेका छौं ।

बुद्ध, रामापिथेकश र कर्णेल उजीरसिंहलाई स्थानीय पाठ्यक्रममा समावेश गर्ने, तिनैमा केन्द्रित पर्यटन सर्किट बनाउने र साकार पार्ने काम गरिरहेका छौं । हामीले बुटवल प्रवेश गर्ने जोकोहीले पनि यीनै पहिचान देखेर केही बुझ्ने र गौरव गर्न सक्ने बनाउने पहल गरिरहेका छौं । पहिचान विस्तार गर्ने, बृहत बुटवलको लक्ष्य साकार पार्ने कामको सुरुआत यसैबाट गरिएको छ ।

नागरिकले केही फरक अनुभूति गर्न पाए त ?

संविधान जारी भएपछिको पहिलो स्थानीय सरकारका रुपमा हामी निवाचित भएका हौं । बुटवल नगरपालिकाका रुपमा स्थापित भएको ६३ वर्ष भएको छ । तर, नयाँ संवैधानिक व्यवस्थासहितको पहिलो कार्यकालका लागि हामी चुनिएर आयौं । नयाँ व्यवस्था सहितको कार्यपालिकाबाट हामीले बुटवलको सहरी विकास गुरुयोजना निर्माण गर्यौं, आवधिक रुपमा के–के गर्न सकिन्छ भनेर यकिन गर्यौं र दीर्घकालीन रुपमा बुटवलका लागि के कस्ता योजना बनाएर काम गर्न सकिन्छ भन्नेमा समेत अध्यय्न गरेर योजना तय गरि कार्यान्वयन गरिरहेका छौं ।

पहिलो कुरा त हामीले आफूहरुलाई साशकका रुपमा होइन सेवकका रुपमा लिएर काम गरेका छौं । सेवकका रुपमा रहेर बुटवलका लागि के कस्ता योजना तय गरिए र ती योजनाहरुको कार्यान्वयन गर्ने के कस्ता कार्यक्रम बनाइए भन्ने कुराकै आधारमा मूल्याकंन हुने हो । हामीलाई विश्वास छ यो अवधिमा हामीले बृहत्त बुटवलको अवधारणा बनाएर त्यसलाई साकार पार्ने तर्फ महत्वपूर्ण काम गरेका छौं ।

ऐतिहासिक नगरी बुटवललाई पहिलो कार्यकालमा के कस्तो बनाउने, त्यसपछिको दश वर्षमा कस्तो बनाउने, २० वर्षमा कस्तो र आगामी ५० वर्षमा कस्तो बनाउने भन्ने दीर्घकालीन महत्वका योजना तय गरिएको छ । त्यसरी योजना तय गर्दा हामीले प्रत्येक वडा, प्रत्येक टोल वस्तीमा पुगेर विभिन्न चरणमा छलफल चलायौं । समुदायको चाहना र अपनत्व झल्किने गरी योजना छनौट र ती योजनालाई कार्यान्वयन गर्ने उपयुक्त कार्यक्रम पनि बनाएका छौं । तिनै कार्यक्रमहरुलाई अहिले अगाडि बढाइरहेका छौं ।

अबको कम्तिमा ५० वर्षपछिको यहाँको जनघनत्वको अनुमान गर्दै बृहत्त बुटवलको खाका बनाउने र त्यसलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जाने काम भइरहेको छ । हामीले बनाएको सहरी विकास गुरुयोजनाले पनि आगामी केही दशकपछिको अवस्थाको आँकलन गर्दै सोही अनुरुपका योजना छनौट गरेको छ ।

शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार, कृषि, पर्यटन र रोजगारीलाई बुटवलको समृद्धिका आधारमा रुपमा लिने र तिनलाई साकार पार्नेगरि गुरुयोजनामा समेटिएको छ । अहिलेको घना बस्तीमा विजुली, पानी, फुटपाथ, सरसफाई, सुरक्षाको प्रवन्ध र नयाँ बस्ने बस्तीलाई प्लानिङसहितको स्याटेलाइट सिटीका रुपमा विकास गर्नेगरि प्राविधिक अध्यय्न पूरा भएको छ । बुटवलमा बहुतलाका बहुउद्देश्यीय भवन निर्माण गर्ने, योजनाबद्ध सहर निर्माण गर्ने र ति बस्तीलाई नयाँ उपसहरका रुपमा विकास गर्नेगरी काम अगाडि बढिरहेको छ ।

नयाँ व्यवस्था र जनअपेक्षाको सम्बोधनमा कस्ता अप्ठेराहरू आए ?

नागरिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि लामो र कठिनपूर्ण संघर्ष गरेर जनताका प्रतिनिधिद्वारा जनताको संविधान बनाउन सक्ने अवस्थासम्म आइपुग्दा धेरै सपुतको योगदान छ । हामीहरु आफै सरिक भएर ल्याएको नयाँ व्यवस्था हो । यो व्यवस्थामा पनि कतिपय सुधार गर्नुपर्ने छ । नयाँ व्यवस्था त ल्यायौं तर नागरिकको अवस्था सुधार्न सकेनौं भने परिवर्तनको अनुभूति हुन सक्तैन भन्नेमा हामी गम्भीर छौं । तसर्थ अफ्ठ्याराहरुलाई समाधन गर्दै जनअपेक्षाको प्राथमिकीकरण गरेर कार्यान्वयन गर्नेतर्फ अगाडि बढेका छौं ।

विभिन्न चरणमा यस्ता कठिनाइपूर्ण राजनीतिक तथा नागरिक अधिकार प्राप्तिको आन्दोलन लामो समयसम्म चल्यो । यो अवधिमा अनेक कारणले मुलुकको विकास निर्माणको काम प्रभावित भयो । साशन सत्तामा रहेकाहरुमा मुलुकको भन्दा पनि आफ्नै अनेक स्वार्थ झल्किन थाले । प्रभावित भएका र अवरुद्ध रहेका हरेक क्षेत्रमा जनप्रतिनिधि चुनिएपछि अपेक्षा बढ्नु अस्वभाविक होइन । तर, ती आम अपेक्षालाई पूरा गर्न हामीकहाँ प्रयाप्त साधन स्रोत नभएको अवस्थामा प्राथमिकता निर्धारण गरेर अगाडि बढ्यौं । यसक्रममा अनेक अफ्ठ्यारा पर्ने नै भए तर, ती अफ्ठ्यारालाई सामथ्र्यका आधारमा समाधान गर्दै आएका छौं ।

चुनावी वाचा र प्राथमिकता के कति काम भए ?

खासमा भन्ने हो भने हामीले चुनावमा गरेको घोषणाभन्दा धेरै काम गरेका छौं । हामीले यसका लागि कुनै बनावटी र असम्भव कुरा गरेका थिएनौं र बुटवलको हरेक अवस्थाका बारेमा अनभिज्ञ पनि थिएनौं । जनताकै बीचबाट राजनीतिक नेतृत्वमा स्थापित भएका कारणले पनि हामीलाई समाजको यथार्थ अवस्थाको ज्ञात थियो । यसमा पनि अहिलेको पुस्ताले अनेक प्रविधिको प्रयोग गरेर हाम्रो देशको अवस्था र अरु मुलुकको अवस्थाका बारेमा दाँजेर विश्लेषण गर्न सक्ने अवस्था छ । यसर्थ हामीले चुनावमा बुटवललाई मुलुकको एउटा सभ्य, सुसंस्कृत, समुन्नत र सबल सहरका रुपमा विकास गर्न सकिन्छ र त्यसका लागि के कस्ता कार्यक्रम गर्न सकिन्छ भन्दै तय गरेका थियौं । अहिले त्यसबेला गरेका घोषणा अनुरुपका काम भएका छन् ।

घोषणापत्रमा भनिएका भन्दा धेरै काम पनि भएका छन् । सबै कामका फेहरिस्त यो एउटा बसाईमा व्यक्त गर्न सम्भव हुँदैन । हामीले के के काम गर्यौं, के कस्ता परिवर्तन ल्यायौं भन्ने बारेमा हाम्रा प्रगति समीक्षा सामग्रीहरु उपलव्ध छन् । तिनलाई अध्ययन गर्नुहुन अनुरोध छ । बुटवलको विकासका लागि यहाँबाट संघीय संसदमा निर्वाचित हुनुभएका आदरणीय नेता विष्णुप्रसाद पौडेल, प्रदेश संसदमा निर्वाचित आदरणीय नेताहरु लिला गिरी, भोजप्रसाद श्रेष्ठ, तुलसीप्रसाद चौधरीलगायतले बुटवलको समृद्धिका लागि आआफ्नो क्षेत्रबाट नेतृत्वदायी भूमिका र सहकार्य गर्नुभएको छ । म उहाँहरुलाई पनि यो अवसरमा सम्मानसाथ स्मरण गर्न चाहन्छु । यसका साथै बुटवलका करदाता, निजी क्षेत्र र सचेत नागरिक समुदायको सकारात्मक भूमिकाले पनि बृहत बुटवलको लक्ष्य हासिल गर्ने काममा सहयोग गरिरहेको उल्लेख गर्न चाहन्छु ।

के कस्ता अनुभवप्राप्त भएजस्तो लाग्छ त ?

संविधान कार्यान्वयनको पहिलो चरणका रुपमा स्थानीय पालिकामा लामो समयपछि जनताका प्रतिनिधि चुनिएर आउँदाका अवसर र चुनौतिहरु प्रसस्तै थिए र छन् । हामीले कानुन निर्माणको वर्ष, आधार निर्माणको वर्ष र कार्यान्वयनको चरणका रुपमा लिएर काम गर्दै आयौं । यसबीचमा विश्वव्यापी कोभिड महामारीको मारले हामीलाई पनि सतायो । तर महामरीसंग जुध्दै र नागरिकलाई जोगाउँदै महामारीमा पनि बुटवलमा नमुना काम अगाडि बढाउन सक्यौं ।

बुटवल नै अनुकरणरीय बन्ने गरी र नमुना बन्नेगरी हामीले धेरै योजना तय गर्ने र साकार पार्ने काम गरेका छौं । आवधिक योजना पूरा हुने र दीर्घकालीन योजना प्रभावकारी रुपमा अगाडि बढ्ने अवस्था छ । यसअवधिमा हामीकहाँ तीनै तहका र निजी क्षेत्रकासमेत गरी झण्डै ३५ अर्ब बराबरको काम भइसकेको छ । दीर्घकालसम्म करिब एक सय अर्ब भन्दा माथिका योजना तय भइसकेको अवस्था छ । चलिरहेका योजनाको पूर्णतापछि ऐतिहासिक, पर्यटकीय, आर्थिक नगरिका रुपमा रहेको बुटवल अन्तर्राष्ट्रिय रुपमै अब्बल सहरका रुपमा स्थापित हुने हामीले विश्वास लिएका छौं ।

यसबीचमा एक सय भन्दा धेरै कानून (ऐन, नियम, मापदण्ड, निर्देशिका, कार्यविधि, आचारसंहिता) निर्माण गरी कार्यान्वयनमा ल्याएका छौं । बुटवल उपमहानगरपालिकाको संगठन संरचनाको निर्माण तथा ८ महाशाखा र २८ शाखा रहने गरी ३६३ (स्वास्थ्य बाहेक) दरबन्दी स्विकृत गरी कार्यान्वयनमा ल्याईएको छ । प्रत्येक वडा कार्यालयहरुमा प्राविधिक र कम्प्युटर अपरेटरहरुको समेत व्यवस्था गरिएको छ ।

वडास्तरमा समेत राजस्व, पंजिका, व्यवसाय दर्ता, योजना सम्झौता तथा मूल्याङ्कन जस्ता सेवा प्रवाहहरु विद्युतीय प्रणाली मार्फत प्रदान गर्ने काम भएको छ । वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका कार्यालयहरुमा विद्युतिय हाजिर प्रणाली जडान गरी त्यसको कार्यान्वयन गर्ने काम भईरहेको छ । यसक्षेत्रमै पहिलो र व्यवस्थित इजलासको निर्माण गरि नियमित न्याय निरुपण गर्दै आएका छौं । नगर प्रहरी सेवालाई मर्यादित तथा चुस्तदुरुस्त बनाउन प्रहरी तालिम केन्द््र मार्फत मापदण्डका आधरमा छनौट गर्ने, आधारभूत तहको आवसिय तालिम र दर्ज्यानी चिन्ह प्रदान गरेर मात्र कार्यक्षेत्रमा खटाएका छौं ।

सेवाग्राहीका विभिन्न समस्या तथा गुनासालाई सम्बोधन गर्न कार्यपालिका सदस्य रहने गरि जनप्रतिनिधि सेवाग्राही सेवा कक्ष सञ्चालनमा ल्याएका छौं । वडा तथा नगर नागरिक वडापत्र निर्माण गरी त्यसको कार्यान्वयन भईरहेको छ । बुटवल उपमहानगरपालिकाको कार्यालयहरुलाई बिचौलिया मुक्त बनाईएको छ । किसानको फसल धितो राखेर अनुदान दिने, सहुलियत ऋण उपलव्ध गराउने, किसानलाई मल, बीऊ र उपकरण प्रदान गर्ने, किसानका उत्पादनलाई सहकारीमार्फत बजारमा पुर्याउन सहयोग गर्ने र हौसला प्रदान गर्ने कैयन काम भएका छन् । सहरी कृषि प्रवद्र्धन, वातावरणीय संरक्षण र सम्बद्र्धन, एक वन बहुपोखरी निर्माण, हरियाली प्रवद्र्धनजस्ता काम वास्तवमै अनुकरणीय भए जसले हामीलाई पनि हौसला बढाएका छन् ।

जिआईएसम्याप मार्फत सडक तथा घरहरु पहिचान गर्न सकिने डिजिटल हाउस नम्बरिङ्गको काम सम्पन्न भई कार्यान्वयनमा आएको छ । उपभोक्ता मार्फत सञ्चालन हुने योजनाको लागत स्टिमेट नेपालीमा तयार गर्ने, १० लाखसम्मको योजनाहरुको वडा कार्यालयबाटै स्टिमेट, सम्झौता र मूल्याङ्कन गर्ने काम प्रभावकारीरुपमा कार्यान्वयन भईरहेको छ । यसका लागि एक वडा एक प्राविधिक तथा दुई वडा १ इन्जिनियरकोे व्यवस्था गरिएको छ । निर्माण सामाग्रीको गुणस्तर परिक्षण गर्न प्रयोगशाला कार्यालय परिसरमै निर्माण गरि सञ्चालनमा ल्याईएको छ ।

प्राविधिक अध्ययन तथा मापदण्ड निर्माण गर्ने काम सम्पन्न गरी बुटवलमा १७ तलासम्म बहुतले भवन निर्माणका लागि अनुमति प्रदान गर्ने काम शुरु भएको छ । मोतिपुर र सेमलारमा सेटलाइट सिटी तथा उपशहर निर्माण गर्नका लागि जग्गा एकिन गर्ने, गुरुयोजना निर्माण गर्ने काम सम्पन्न भएको छ । भविष्यको योजनाबद्ध सहरका रुपमा नयाँ बस्तीको योजना अगाडि बढाइएको छ ।

चीनको ऐतिहासिक तथा सामरिक शहर सियानसंग भगिनी सम्बन्ध कायम गर्दै अनुभव तथा सहयोग आदान प्रदान गर्ने काम भईरहेको छ । बेलायत सरकार अन्तर्राष्ट्रिय विकास मन्त्रालय संगको सम्झौता मार्फत बुटवलमा आर्थिक विकास परियोजना लागु गरिएको छ ।

वैशाख ७ गतेलाई जीतगढी विजयोत्सवका रुपमा मनाउने निर्णय गर्दै त्यसको कार्यान्वयन गरिएको छ । एप्सको प्रयोग गरि घरदैलो सर्भेक्षण मार्फत भौगोलिक, जनसांख्यिक, आर्थिक तथा सामाजिक अवस्था सहितको वस्तुगत तथ्याङ्क संकलन गरि बुटवल उपमहानगरपालिकाको प्रोफाइल तयार गरिएको छ । संक्षेपमा भन्दा बृहत बुटवलको खाका तयार पारेर प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै अगाडि बढेको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर