जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि – Nepal Press

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि

सिन्धुपाल्चोक ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेकोे २० ओभरको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुने भएको छ ।

आज दुई खेल सञ्चालन गरिने छ । गाउँपालिका र जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले खेलकुद आयोजना गर्न लागिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

गाउँपालिकाले २०७४ देखि निरन्तर ‘जीतबहादुर खड्का स्मृति पाँचपोखरी सुपर जिल्लास्तरीय क्रिकेट प्रतियोगिता’को तीनवटा संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । कोरोना महामारीका कारण चौथो संस्करण स्थगन भएकामा सो प्रतियोगितालाई प्रोत्साहन गर्न गाउँपालिकाका आठवटै वडामा क्रिकेटका सामग्री वितरण गरिएको छ ।

विगत वर्षमा गाउँपालिकामै सञ्चालन भइरहेको उक्त प्रतियोगितालाई अहिले काठमाडौंको मूलपानीस्थित क्रिकेट रङ्गशालामा गर्न लागिएको खेलकुद विकास समितिले जानकारी दिएको छ । प्रतियोगिता यही २२ गतेसम्म सञ्चालन हुनेछ ।

उक्त प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोलीको सहभागिता छ । प्रतियोगितामा विजेता र उपविजेता हुने टोलीले क्रमशः ७५ हजार र ४० हजारसहित पदक तथा प्रमाणपत्र र प्रतियोगिताभर सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट अलराउण्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *