सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने उच्चस्तरमा समझदारी – Nepal Press

सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने उच्चस्तरमा समझदारी

काठमाडौं । एमसीसीका कारण संकटमा परेको सत्ता गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने माओवादी केन्द्रको निर्णयअघि नै शीर्ष तहमा एमसीसी पारित पनि गर्ने र गठबन्धन पनि नटुटाउने समझदारी बनेको छ ।

माओवादी बैठकबाट निस्किएका एक प्रभावशाली नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकखालको समझदारीमा पुगेका छन् ।

यसमा उपेन्द्र यादवको भूमिका प्रष्ट खुलिसकेको छैन । जसपाकै डा. बाबुराम भट्टराई पक्ष भने एमसीसीको पक्षमा मतदानको लागि तयार छ । स्रोतकाअनुसार आइतबार सदनमा एमसीसीमाथि सैद्धान्तिक छलफलसँगै पारित गर्ने तयारी छ ।

त्यसका नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी निर्णयार्थ पेश हुँदा सदनको कारबाही बहिष्कार गर्ने र उपस्थित सांसद संख्याको सामान्य बहुमतले एमसीसी पारित गरेर गठबन्धन जोगाउने समझदारीमा नेताहरू पुगेको स्रोतले जनाएको छ ।

नेकपा एमालेले संसदको अवरोध कायमै राख्दा उसका सांसदको संख्या गणना नहुने र माओवादी तथा नेकपा एसले बहिष्कार गरेपछि मत विभाजन माग्ने २८ जना सांसद नपुग्ने भएकाले ध्वनीमतबाट एमसीसी अनुमोदन गर्ने तयारी भएको छ ।

यसअघि माओवादीले एमसीसीको विपक्षमा मत दिने भनेपनि माधव नेपाल लगायतका नेताहरुले गठबन्धन भत्कियो भने एमाले पुनः सत्तामा फर्किने र चुनावमा गठबन्धन पनि नहुँदा माओवादी र एसको अवस्था निकै कमजोर बन्ने देखाउँदै प्रचण्डलाई विपक्षमा मतदान गर्नबाट रोक्ने ठाउँमा पुर्‍याएको वार्तामा सहभागी नेताहरू बताउँछन् ।

नेकपा एमालेसँग पनि समानान्तर वार्ता गरिरहेका प्रधानमन्त्रीले गठबन्धन जोगाएरै एमसीसी पारित गर्ने विकल्पलाई सहज मानेको निकट स्रोतले जनाएको छ । यो समझदारीलाई अन्तिम रुप दिन आजै शीर्ष नेताहरु बस्दैछन् ।

संसदमा एमसीसीको पक्षमा हुन्छ भन्ने कांग्रेस, लोसपा र जसपाको बाबुराम भट्टराई पक्ष हुनेछ । विपक्षमा राप्रपा, नेमकिपा र राजमोका गरी तीन सांसदमात्र हुनेछन् । एमालेले सदनको कारबाही नै अवरोध गरिरहेकाले उसका सांसदलाई उपस्थित संख्यामा नगन्ने तयारी छ ।

एमालेका भीम रावलले विपक्षमा मतदान गर्ने सम्भावना छ । यद्यपि संसदीय प्रक्रियामा पार्टीले संसद अवरोध गरिरहेका बेला सोही पार्टीका सांसदले मतदानमा भाग लिन मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर