आइकाओको स्वीकृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल – Nepal Press

आइकाओको स्वीकृति लिने तयारीमा गौतमबुद्ध विमानस्थल

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले परीक्षण उडानपश्चात नेपाल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को सर्टिफिकेशन सकेर अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारीमा रहेको छ । फागुन १५ सम्म हुने क्यालिब्रेशन फ्लाईटपछि परीक्षण उडान हुने र त्यसपश्चात आइकाओको सर्टिफिकेट लिने प्रक्रिया अगाडि बढ्ने छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि यो मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा आउने छ । काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थल छ दशकअघिबाटै अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा सञ्चालनमा रहेको छ । नेपालमा तीन दशक अगाडिबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अर्को अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता रहेको अन्यथा काठमाडौंको विमानस्थलले मात्रै नेपालको हवाई चाप धान्न नसक्ने भनेर सिफारिस गरिएको थियो ।

यस विमानस्थलबाट पाँच घण्टा बढीको हवाई उडान अवधि रहने ठाउँहरुमा पनि सेवा दिन सकिने विमानस्थलले जनाएको छ ।

हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणहरु जडान र क्यालिब्रेशन फ्लाईटको ठेक्का पाएको एरोनोटिकल रेडियो अफ थाईल्याण्ड (एरो थाई)को विशेष विमानले परीक्षण उडानको काम गरिरहेको छ । यान्त्रिक परीक्षण उडान पश्चात नेपाल वायुसेवा निगमको एअरबस ए ३३० जहाजबाट परीक्षण उडान गर्ने, त्यससँगसँगै आइकाओको सर्टिफिकेशन सकेर यस विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई सेवा दिने तयारी थालिएको छ ।

यस विमानस्थलबाट हवाई सेवा सञ्चालनका लागि एअर स्पेश, रुट डिजाइन, फ्लाईट प्रोसिडियोर लगायतका सबै तयारी पूरा भएको विमानस्थलका महाप्रवन्धक गोविन्द प्रसाद दाहालले जानकारी दिए । त्यस्तै विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय सेवा प्रदायक हवाई कम्पनीहरुले पनि यहाँबाट आफ्नो सेवा सञ्चालनका लागि तयारी थालेका छन् ।

विमानस्थल प्रशासनका अनुसार पछिल्लो समय यो विमानस्थलबाट कतार एअरवेज, फ्लाईट दुवई, श्रीलंकन एअरवेज, म्यानमार एअरवेज लगायतका विभिन्न विमान कम्पनीहरुले आफ्नो सेवा सञ्चालन गर्न चासो देखाइरहेका छन् भने विमानस्थल आयोजनाले थाईल्याण्ड, भारत, अष्ट्रेलिया लगायतका देशहरुसँग पनि यस विमानस्थलमा त्यस देशका विमान कम्पनीहरुको सेवा सञ्चालनका लागि पत्राचार गरेको छ ।

यो विमानस्थल फोर इ क्याटगोरीको भएकाले यहाँबाट बोइङ ७७७२००, एअरबस ए ३३० ३०० प्रकारका जहाजहरुले पनि सेवा दिन सक्नेछन् र पाँच घण्टा बढीको उडान अवधिमा पनि यहाँबाट सिधै उडान भर्न सकिने छ । अर्थात भैरहवाबाट सिधै जापान, अष्ट्रेलियादेखि युरोप, अमेरिकासम्म उडान गर्न सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर