एमाले नेताहरुसँग प्रधानमन्त्रीले भने- माओवादी एम्बुसबाट जोगिन संसद बैठक रोकेँ – Nepal Press

एमाले नेताहरुसँग प्रधानमन्त्रीले भने- माओवादी एम्बुसबाट जोगिन संसद बैठक रोकेँ

२८ सांसदले मत विभाजन माग्ने र सरकार अल्पमतमा पर्ने सूचना पाएपछि देउवाको दोस्रो मूभ

काठमाडौं । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक माओवादी केन्द्रले बिहीबार नै सरकारलाई अल्पमतमा पार्न लागेको सूचना पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुखलाई आग्रह गरेर प्रतिनिधिसभाको बैठक स्थगित गर्न लगाएको खुलेको छ ।

एमालेका नेताहरुसँगको वार्तामा प्रधानमन्त्री देउवाले माओवादीका २८ जना सांसद उभिएर एमसीसीमाथि छलफल गरियोस् भन्ने प्रस्तावमा मतविभाजन माग्ने र सरकारको प्रस्ताव अल्पमतमा पार्ने तयारीको सूचना आफूले पाएपछि बैठक रोकाइएको बताएका हुन् ।

कांग्रेस र एमालेको छलफलमा सहभागी एक नेताले भने- प्रचण्डले बुधबार नै सभामुखसँग भेटेर योजना बनाइसकेको जानकारी प्रधानमन्त्रीले पाउनुभयो । उहाँले सरकार अल्पमतमा पार्ने सूचना पाएपछि प्रमुख प्रतिपक्षसँग छलफल गर्नुपर्ने भयो भनेर सभामुखलाई संसदको बिहीबारको बैठक सूचना टाँसेर रोक्न आग्रह गर्नुभएको हो ।

प्रतिनिधिसभाको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतामाथिको छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने तय थियो । माओवादीका २८ जना सांसद उभिएर मत विभाजन माग्ने र सभामुखले मत विभाजन गराउनेगरि तयारी भएको सूचना प्रधानमन्त्रीले पाए ।

माओवादीका २८ जना सांसद को-को उभिने भन्ने पनि तय भइसकेको थियो । सामान्यतः सैद्धान्तिक छलफलमा मत विभाजनको कुरा अउँदैन । तर २८ जनाले मत विभाजन मागेपछि एमालेको अवरोधकाबीच समभामुखले सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा सरकारको प्रस्ताव अल्पमतमा पर्ने अवस्था आयो ।

माओवादीको एम्बुसबाट जोगिन आफूले संसद रोकेर एमालेसँग सहमतिको हात बढाएको प्रधानमन्त्रीले स्वीकार गरेका छन् । त्यसलगत्तै प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाँणलाई सभामुख अग्नि सापकोटासँग भेट्न पठाएका थिए । एमालेसँग प्रधानमन्त्रीको वार्ता भइरहेका बेला गृहमन्त्री सभामुखसँग वार्तामा थिए ।

सभामुखसँग के कुरा भयो भन्ने औपचारिक जानकारी दिइएको छैन,तर सभामुखका कारण सरकारको प्रस्ताव अल्पमतमा पर्ने अवस्था आएको, प्रमुख प्रतिपक्षले सदनको कारवाहीमा भाग लिन नपाएको जस्ता कारणले गर्दा मार्गप्रशस्त गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

सभामुखले मार्ग प्रशस्त नगरे प्रमुख प्रतिपक्षलाई संसदको कारवाहीमा भाग लिने वातावरण बनाउनका लागि सभामुख हटाउने एमालेको प्रस्तावमा कांग्रेस बाध्य भएर सहमत हुनुपर्ने चेतावनी समेत दिइएको छ । त्यसका लागि बाबुराम भट्टराई समेत सहमत हुने संकेत उनले एमालेभन्दा अगाडि प्रधानमन्त्रीसँग वार्ता गरेर दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर