लामा टेन्डी शेर्पा स्मृति बास्केटबलमा पुरुषतर्फको उपाधी आर्मीलाई – Nepal Press

लामा टेन्डी शेर्पा स्मृति बास्केटबलमा पुरुषतर्फको उपाधी आर्मीलाई

काठमाडौं । लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष बास्केटबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहीबार सम्पन्न फाइनल खेलमा टाइम्स कलेजविरुद्ध ९०-५८ स्कोरको जित निकाल्दै आर्मीले उपाधी जितेको हो ।

समूह चरणका खेलहरुमा सतप्रतिशत नतिजा निकाल्दै फाइनलमा पुगेको आर्मीले टाइम्समाथि पहिलो, दोस्रो, तेस्रो र चौथों क्वार्टरमा क्रमशः २२–१०, २४–२०, १७–१६, २७–१२ स्कोरले जित निकाल्दै उपाधि चुमेको हो ।

प्रतियोगितामा पुरुषतर्फ सहभागी १३ टोलीलाई चार समूहमा विभाजन गरेर लिग कम नकआउट पद्दतिमा खेलाइएको थियो । आर्मीले समूह ‘बी’ र टाइम्सले समूह ‘सी’ को विजेता बन्दै फाइनलमा भेट पक्का गरेका थिए ।

यस्तै, बिहीबारै सम्पन्न महिलातर्फ फाइनलमा रोयल बास्केटबल एकेडेमीलाई ५२–४९ स्कोरले हराउँदै नेपाल पुलिस क्लबले उपाधि उचालेको हो । प्रतियोगितामा महिलातर्फ सहभागी पाँच टोलीलाई राउन्ड रोविन पद्दतिमा खेलाइएको थियो । त्यसमध्येका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

फागुन दुई गतेदेखि सुरु भएको प्रतियोगिताको पुरुषतर्फको विजेता आर्मी र महिलातर्फको विजेता पुलिसले समान ५० हजार रुपैंया प्राप्त गरे । पुरुषतर्फको उपविजेता टाइम्स र रोयलले समान २५ हजार रुपैंया प्राप्त गरे । र, मोस्ट भ्यालुएवल खेलाडीले १० हजार प्राप्त गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *