आफूखुसी १०० एमबीपीएसमाथिका इन्टरनेट नबेच्न सेवा प्रदायकलाई प्राधिकरणको ध्यानाकर्षण – Nepal Press

आफूखुसी १०० एमबीपीएसमाथिका इन्टरनेट नबेच्न सेवा प्रदायकलाई प्राधिकरणको ध्यानाकर्षण

काठमाडौं । स्पिड बढाउने होडमा रहेका नेपालका इन्टरनेट सेवा प्रदायकहरूले आफूखुसी प्याकेज वितरण गर्न थालेपछि दूरसञ्चार प्राधिकरणले लगाम कसेको छ । प्राधिकरणले ६ सेवा प्रदायकहरूलाई १०० एमबीपीएसको प्यान बेच्न नपाइने जानकारी बन्द गर्न निर्देशन दिएको स्रोतले बतायो ।

इन्टरनेट सेवा प्रदायकहरू भायनेट, डिस हाेम, वल्र्ड लिंक, सिजी नेट, क्लासिक टेक र सुविसुलाई प्राधिकरणले बोलाएर छलफलसमेत गरेको थियो । उनीहरूलाई लिखित पत्रसमेत पठाइएको बुझिएको छ ।

यी सेवा प्रदायकहरूले बजारमा प्रभुत्व बढाउन १०० एमबीपीएसभन्दा माथिका ठूला प्याकेजहरू ल्याइरहेका छन् । आफ्नो जानकारीर अनुमतिबिना यसरी प्याकेजहरू ल्याइएपछि प्राधिकरणले चासो दिएको हो ।

नेपालमा उच्च गतिको इन्टरनेट मुख्य ओटीटीमार्फत प्रसारण हुने भिडिओ कन्टेन्टमा खपत हुने गर्छ । जबकि यसरी ओटीटीमार्फत भिडिओ कन्टेन्ट प्रसारण गर्न नेपालको कानूनले अनुमति नै दिएको छैन । तर, निर्वाधरुपमा प्रसारण भइरहेका यी भिडिओ कन्टेन्टका कारण इन्टरनेटमा उच्च चाप परेको छ र नेपाली पैसा विदेशिने क्रम बढेको छ ।

कसको प्याकेज कस्तो ?

भायनेटले १७५ एमबीपीएसको प्याकेज प्रतिमहिना १ हजार २५० रुपैयाँमा दिने भनेर विज्ञापन गरिरहेको छ । यस्तै, वर्ल्डलिंकले १५० एमबीपीएस प्रतिमहिना १ हजार २० सय शुल्कमा सेवा दिने अफर गरेको छ । डिस होमले ३ सय र ६ सय एमबीपीएको सेवा दिने भने पनि शुल्क तोकेको छैन । सुबिसुले ६५० एमबीपीए स्पीडको इन्टरनेट सेवाका लागि प्रतिमहिना १ हजार ७७० रुपैयाँ शुल्क तोकेको छ ।

यस्तै, सीजी नेटले पनि १२० एमबीपीएस स्पीडको इन्टरनेट सेवा ९९९ रुपैयाँमा दिने भनेर विज्ञापन गरिरहेको छ । क्लासिकटेक १५०, २२५, ३२५, ६२५ र १ हजार एमबीपीएसको इन्टरनेट सेवा दिने भनेर विज्ञापन गरिरहेको छ । उसले पनि आफ्नो विज्ञापनमा शुल्क भने तोकेको छैन ।

इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणबाट पत्र आइनसकेको बताए । उनले भने, ‘प्राधिकरणले पत्र पठाएको भए आउदै होला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर