सुर्खेतमा रंगशाला बनाउने तयारी तीव्र, दुई वर्षमा बनिसक्ने – Nepal Press

सुर्खेतमा रंगशाला बनाउने तयारी तीव्र, दुई वर्षमा बनिसक्ने

सुर्खेत । कर्णाली प्रदेशको राधानी वीरेन्द्रनगरमा अबको दुई वर्षमा रंगशाला निर्माण सम्पन्न हुने भएको छ । तीन महिना अघिबाट जमिन सम्याउने काम भइरहेको छ । अबको तीन महिनाभित्र भवन तथा अन्य संरचनाको डिजाइन बनाइ सकिने र त्यसपछि कामले गति लिने बताइएको छ ।

एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लगानीमा प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माणको तयारी थालिएको हो । रंगशाला प्रदेश सरकारको लगानीमा बन्न लागेको हो ।

रंगशाला निर्माणको जिम्मा कम्पनी एमएसीरजिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंले लिएको छ ।

हाल निर्माण सुरु भएको रंगशाला इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

दश हजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशाला निर्माण हुनेछ ।

नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसीरजिएसएल जोइन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रंगशाला निर्माण गरिने बताए ।

‘दश हजार दर्शक क्षमताका रंगशालामा भूकम्प प्रतिरोधी प्यारोफिट बन्नेछ’, परिषदका उपाध्यक्ष प्रमोद हमालले भने, ‘भिआइपी प्यारोफिट, मिडिया रुम, रेफ्री, चेन्जिङ र रिफ्रेस रुम, मेडिकल रुम, फिजियोथेरापी, भिआइपी वेटिङ रुमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने गरी रंगशालाको डिजाइन गरिएको हो ।’

उनका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *