१ सय ७६ रनको लक्ष्य पच्छ्याएको नेपाल संकटमा, १४ जोड्दा गुमायो तीन विकेट – Nepal Press

१ सय ७६ रनको लक्ष्य पच्छ्याएको नेपाल संकटमा, १४ जोड्दा गुमायो तीन विकेट

काठमाडौं । नेपालको आईसिसी टी-२० विश्वकपमा छनोट सम्भावना कमजोर बनेको छ ।

ओमानमा जारी आईसिसी टी-२० विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत सेमिफाइनलमा एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपालले १४ रन जोड्दा तीन विकेट गुमाएको छ। आसिफ शेख र लोकेश बमले खाता खोल्न सकेनन् ।

कुशल भुर्तेलले ७ रन जोडे । यूएईका बलर जुनाइद सिद्धिकीले तीनवटै विकेट लिएका हुन् । उनले पहिलो ओभरमा लगातार बलमा दुई विकेट र तेस्रो ओभरमा एक विकेट लिएका हुन् ।

नेपालले चार ओभरमा ३ विकेट गुमाएर २५ रन जोडेको छ ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ७५ रन जोडेको थियो ।

यूएईका मुहम्मद वासिमले ७० र भित्र्या अरविन्दले ४६ रन बनाए । सुरुका २ ओभरमा एक विकेट गुमाएर ६ रन जोडेको यूएईका लागि वासिम र अरविन्दले शानदार ब्याटिङ गरेका हुन् ।

वासिमले ४८ बलमा चार छक्का र चार चौका प्रहार गरे । उनले ३२ बलमा अर्धसतक पुरा गरेका थिए। यस्तै १९ वर्षीय अरविन्दले २३ बलमा ३ छ्क्का र ५ चौका प्रहार गरे । यूएईले दोस्रो विकेटका लागि ६६ र तेस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेको थियो ।

यूएईले तेस्रो ओभरमा १८ तथा त्यसपछिका लगातार चार ओभरमा समान १३ रन जोडेको थियो । आठौँ ओभरको तेस्रो बलमा सन्दीपले अरविन्दलाई बोल्ड आउट गरेका थिए। १७ औँ ओभरमा अविनाशले वासिमलाई आउट गरे। उक्त ओभरमा उनले दुई विकेट लिएका थिए ।

जितेन्द्र मुखियाले दोस्रो ओभरमा विकेट लिएर गतिलो सुरुवात दिलाएपनि यूएईका ब्याट्सम्यान नेपाली बलरमाथी हावी बनेका थिए । सुरुको ११ ओभरमा २ विकेट गुमाएर एक सय २ रन जोडेको यूएईलाई त्यसपछि सन्दीप, दीपेन्द्र र अविनाशले नियन्त्रणमा लिने प्रयाश गरेका थिए ।

त्यसपछिका ६ ओभरमा यूएईले ३९ रन मात्र जोडेको थियो । नेपालका सन्दीपले चार ओभरमा २४ रन खर्चिएर एक विकेट लिए । अविनाश बोहरा र जितेन्द्र मुखियाले ३र३ विकेट हात पारे ।

यो खेलमा जित हात पार्ने टोली अस्ट्रेलियामा आयोजना हुने विश्वकपका लागि छनोट हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर