पोखरामा असिना-पानीबाट पशुपन्छी र बालीनाली गरी ११ करोड क्षति (भिडिओ) – Nepal Press

पोखरामा असिना-पानीबाट पशुपन्छी र बालीनाली गरी ११ करोड क्षति (भिडिओ)

पोखरा । पोखरामा आइतबार परेको असिना-पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाक्लो असिना पानीका कारण केही पशुपन्छि मरेका छन् भने तरकारी तथा फलफूलसहित बालीनालीहरु नष्ट भएका छन् ।

असिनाका कारण पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले जानकारी दिए ।

कडारियाले राज्यले कृषकलाई दिएको बिमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताएका छन् ।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आएका उदय अर्गानिक कृषि फार्मका २ वटा भैँसी मरेका छन् । फार्ममा टिनमा असिनाको भार पर्दा सो भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख बराबरको क्षति भएको छ ।

यस्तै, पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आएका गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उनले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा २० लाख बराबरको क्षति पुगेको बताए ।

 

यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तराकारी खेतीमा ठूलो क्षति भएको छ । उनmे सरकारले राहत दिएर भएपनि किसानहरुलाई सहयोग गरिदिन आग्रह गरे ।

पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताए । उनले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताए ।

पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ ।

पोखरामा गत फागुन ८ गते आइतवार दिउँसो भीषण असिनापानी परेको थियो । असिनापानीले पोखराको सडक केही समय अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो ।

सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *