नेपालले पैसाका लागि सम्प्रभुता बेच्दैछ भन्ने चिनियाँ पत्रकारको ठोकुवामा झलनाथको समर्थन – Nepal Press

नेपालले पैसाका लागि सम्प्रभुता बेच्दैछ भन्ने चिनियाँ पत्रकारको ठोकुवामा झलनाथको समर्थन

नेपालमा एमसीसीको पक्ष र विपक्षमा मत-मतान्तर छ । सडकदेखि सदन र सरकारमा समेत एमसीसीबारे मत बाझिएका छन् ।

५० करोड अमेरिकी डलरको अमेरिकी सहायता परियोजनाको पक्षमा हुने एमसीसी नेपालको इतिहासकै सबैभन्दा ठूलो अनुदान भएको बताइरहेका छन् । उनीहरु भन्छन्– विद्युत् प्रशारण लाइन र सडक चौडाइमा प्रयोग हुने उक्त सहायता नेपालले गुमाउन हुँदैन ।

विपक्षमा बोल्नेहरुले ‘चीन घेर्ने रणनीति’ भएकोले एमसीसी नेपाल सहभागी हुनुहुन्न, यसले नेपालको राष्ट्रियता नै खतरामा पार्छ र असंलग्न परराष्ट्रनीतिको विरुद्ध हुने तर्क गरिरहेका छन् ।

एमसीसीको विपक्षमा एक दशकदेखि काठमाडौंस्थित चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका प्रमुख चाउ सेङपिङ पनि थपिएका छन् । उनले नेपाली भाषामा अनुवाद गरेर हालसालै बजारमा ल्याएको पुस्तक ‘चिनियाँ पत्रकारको नजरमा नेपाल– सुधार वा समाप्त होऊ’मा सेङपिङले एमसीसीबारेमा खुलेर विपक्षमा तर्क गरेका छन् ।

पुस्तकको पृष्ठ १२८ देखि १३५ सम्ममा ‘नेपालले एमसीसी किन अस्वीकार गर्नुपर्छ ?’ शीर्षकमा लेख्दै उनले एससीसीलाई नेपालले विगत दुई शताब्दीमा गरेका सम्झौतामध्ये ‘सबैभन्दा खत्तम सन्धि’ भनेका छन् । उनले एमसीसी सम्झौतालाई सुगौली सन्धिदेखि सन् १९५० को सन्धिसँग तुलना गर्दै एमसीसी पनि नेपालको सार्वभौमसत्तालाई क्षयीकरण गर्ने नयाँ सम्झौता भएको दाबी गरेका छन् ।

उनी लेख्छन्, ‘विगत दुई शताब्दी यता नेपालले विदेशी राष्ट्रहरुसँग गरेका केही सम्झौताले लामो समयदेखि उच्च कायम गरेको सार्वभौमसत्तालाई क्षयीकरण गर्दै लगेको छ । वर्तमान सन्दर्भमा सुगौली सन्धि त्यस्तो पहिलो सम्झौता हो, जुन सन् १८१६ मा बेलायतसँग शान्ति सन्धिका रुपमा हस्ताक्षर गरिएको थियो । दोश्रो उत्तर–औपनिवेसिक इन्डियासँग गरिएको सन् १९५० को शान्ति तथा मैत्री सन्धि हो भने तेस्रो चाहिँ अमेरिकासँगको यहीं एमसीसी सम्झौता हो ।’

पृष्ठ १३१ मा सुगौलीदेखि सन् १९५० को सन्धिसँग एमसीसी सम्झौतालाई तुलना गरेका चिनियाँ पत्रकार सेङपिङले पृष्ठ १२९ मा नेपालले एमसीसी स्वीकार गर्दा आफ्नो सम्प्रभुता ५० करोड अमेरिकी डलरमा बिक्रि भएको मानिने ठोकुवा गरेका छन् ।

उनी लेख्छन्, ‘एउटा भनाइ छ, संसारमा सित्तैमा सियो पनि पाइन्नँ । एमसीसीले नेपाल सरकारलाई ५० करोड अमेरिकी डलरसम्म सहयोग उपलब्ध गराउने छ, जुन नेपालले अहिलेसम्म प्राप्त गरेको सबैभन्दा ठूलो आर्थिक सहायतालाई नेपालले स्वीकृत गर्नेछ तर यसको बदलामा वा नजरानास्वरुप नेपालले यो अमेरिकी कम्पनीलाई आफ्नो सम्प्रभुता, सर्वोच्च अधिकार र शक्ति हस्तान्तरण गर्नुपर्ने छ ।’

पत्रकार सेङपिङले एमसीसीको विपक्षमा खुलेर लेखेको पुस्तक नेकपा एसका उपमहासचिव डाक्टर विजय पौडेलले नेतृत्व गरेको ‘जनता संचार गृह’ले बजारमा ल्याएको हो । सेङपिङले केही समय अगाडि अंग्रेजीमा ल्याएको पुस्तक ‘मेन्ड ओर एन्ड’मा भने एमसीसी बारेमा लेखिएको थिएन । नेपाली संस्करणमा भने लेखिएको छ ।

पुस्तकमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका ‘सम्मानित नेता’ झलनाथ खनालले भूमिका लेखेका छन् । ‘नेपाललाई चीनको मैत्रीपूर्ण सुझाव’ भनेर खनालले भूमिका लेखेका छन् । पुस्तकमा चीनका लागि नेपाली पूर्वराजदूत, पूर्व मुख्य सचिव तथा हालका नेकपा (माओवादी केन्द्र)का नेता लिलामणि पौडेलले समेत भूमिका लेखेका छन् । पौडेलले ‘चीनबाट प्राप्त एक जागरण सन्देश’ शिर्षकमा भूमिका लेखेका छन् । तर, भूमिकामा पौडेलले एमसीसी बारेमा भने कुनै धारणा दिएका छैनन् ।

पुस्तकमा नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले ‘एक अध्ययनशील चिनियाँ पत्रकारले देखेको नयाँ नेपालको ययार्थ चित्र’ शीर्षकमा भूमिका लेखेका छन् । नेपाल चीन अध्ययन केन्द्रका अध्यक्ष मदन रेग्मीले लेखेको भूमिकामा शीर्षक राखेका छन्, ‘सही समयमा सत्य र उपयोगी सुझाव ।’ पौडेलले जस्तै उप्रेती र रेग्मी दुवैले भूमिकामा एमसीसी प्रकरण र त्यसमा आएको सेङपिङको टिप्पणीमा भने कुनै धारणा दिएका छैनन् ।


प्रतिक्रिया

One thought on “नेपालले पैसाका लागि सम्प्रभुता बेच्दैछ भन्ने चिनियाँ पत्रकारको ठोकुवामा झलनाथको समर्थन

  1. यो चीनको बेइमानी कुरा हो। Mangolia ले 2 पटक mcc को पैसा लिदा चीनलाई केही फरक किन पर्दैन? नेपाल ले लिदा किन ? उस्तै छि मेकी देश हुन त।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर