लुम्बिनीका विमानस्थल: कुनै वर्षौसम्म अलपत्र, कुनैको पटक-पटक उद्घाटन – Nepal Press
विकास निर्माण

लुम्बिनीका विमानस्थल: कुनै वर्षौसम्म अलपत्र, कुनैको पटक-पटक उद्घाटन

रुपन्देही । ६ तराई र ५ पहाडी तथा १ हिमाली गरी १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा तीनवटा विमानस्थल सञ्चालनमा छन् भने ६ जिल्लामा विमानस्थल बन्दै छन् । रुपन्देहीको भैरहवामा रहेको गौतमबुद्ध विमानस्थल स्तरोन्नति गरी अन्तर्राष्ट्रियस्तरको बनाउन थालिएको छ । यो संचालन भएपछि रोकिएको छैन ।

पश्चिम क्षेत्रमा बाँकेको नेपालगन्जमा रहेको विमानस्थल पनि स्तरोन्नति गर्न लागिएको छ । यसले सेवा निरन्तर दिएको छ । तराई पहाड समेटिएको दाङको टरीगाउँ विमानस्थल कहिले चल्ने कहिले रोकिने गरेको अवस्था छ । यसबाहेक अन्य ६ वटा जिल्लामा विमानस्थल निर्माणको प्रक्रिया चलिरहेको छ ।

हाल सञ्चालनमा रहेका ३ विमानस्थलबाहेक अन्य विमानस्थल निर्माण प्रक्रियामा छन् । प्रदेशमा गौतमबुद्ध विमानस्थल भैरहवा, नेपालगञ्ज विमानस्थल बाँके र दाङको टरीगाउँ विमानस्थल चालु अवस्थामा छन् ।

प्रदेशका अन्य जिल्ला गुल्मी, अर्घाखाँची, प्युठानलगायतमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । दाङको विमानस्थल नियमित चलाउन एमाले नेता शंकर पोखरेल, माओवादी नेता कृष्णबहादुर महरा, कांग्रेस नेता दीपक गिरी निरन्तर लागिरहेका छन् । यो विमानस्थल नियमित चलाएको जस निर्वाचनका बेला उनीहरुले सधै लिन खोज्छन् ।

यसैगरी कतिपय जिल्लामा नेताहरुको दबाबमा थोरै बजेटबाट काम अगाडि बढाइएका ठाउँमा ‘ईआईए’को काम हुँदैछ । केही जिल्लामा रनवे तथा पिचको काम भइरहेको छ भने केही जिल्लामा सम्भावना अध्ययन भइरहेको छ ।

निर्वाचनको समयमा नेताहरुले आवश्यकता र क्षमताको विश्लेषण नगरी विमानस्थल बनाउने घोषणा गरेकै कारण घोषणा भएका जिल्लामा ती आयोजना अलपत्रजस्तै छन् । खासगरी पहाडका प्रत्येक जिल्लामा विमानस्थल निर्माणको माग उठिरहेको छ । जसका कारण अधिकांश जिल्लामा विमानस्थल निर्माण प्रक्रिया चलिरहेको छ ।

केही जिल्लाहरुमा भने विगतमा सञ्चालन भएर हाल थन्किएका विमानस्थल पुनः सञ्चालनमा ल्याउने माग उठिरहेको छ । जिल्लाबाट केन्द्रमा पहँुच राख्ने नेताहरुले आफ्नो जिल्लामा विमानस्थल निर्माणको माग बेलाबेलामा गर्ने गरेका छन् ।

प्युठानमा नेता बामदेव गौतम, अर्घाखाँचीमा टोपबहादुर रायमाझी, गुल्मीमा प्रदीप ज्ञवाली, पाल्पामा दलबहादुर राना र सोमप्रसाद पाण्डे, रोल्पामा वर्षमान पुन, नन्दबहादुर पुन, ओनसरी घर्ती विमानस्थल बनाउन लागिपरेका छन् । यीबाहेक अन्य नेताहरुले पनि यसको श्रेय लिने र आफ्नोअनुकुल व्याख्या गरी निर्वाचनमा एजेण्डा बनाउने गरिरहेका छन् ।

अर्घाखाँचीको अर्घामा विमानस्थल बनाउने भनेर उद्घाटन भएको धेरै वर्ष बित्यो । नेता टोपबहादुर रायमाझीले यसलाई चुनावी नारा बनाएर प्रचार गरे । शिलन्यास, उद्घाटन र शुभारम्भ गरी तीनपटक त यसको औपचारिक कार्यक्रम नै भयो । जिल्लाबाट ४ पटक सांसद बनेर विभिन्न मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्रीसमेत बनिसकेका रायमाझीले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

गत निर्वाचनमा अर्घाखाँचीबाट माओवादीका उम्मेदवार बनेका पूर्वमन्त्री टोपबहादुर रायमाझीले अर्घामा विमानस्थल बनाउने र यहाँ विमानस्थल बनेपछि जिल्लाका विभिन्न ठाउँमा पर्यटन विकासमा समेत ठूलो टेवा पुग्ने बताएको स्थानीयले बिर्सेका छैनन् । रायमाझीले अन्य बेला पनि विमानस्थल छिटो निर्माण गर्नुपर्ने बताउँदै आएका छन् । र मन्त्री रहँदा पटक पटक रकम विनियोजन गरी काम अगाडि बढाएका छन् ।

पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रेसुङ्गा विमानस्थल पनि छिटै निर्माणको काम सकेर सञ्चालनमा ल्याउनुपर्ने बताउन थालेको धेरै समय बित्यो । कांग्रेस नेता चन्द्र भण्डारी पनि गुल्मीको विमानस्थल सञ्चालनमा ल्याउन धेरै पटक मन्त्रालय धाएको उनी निकट नेताहरु दाबी गर्छन् । तर ज्ञवाली मन्त्रीमै रहँदा नै धेरैपटक बजेट विनियोजन गरेर अगाडि बढाएकाले यसले अन्तिम रुप लिन थालेको एमाले नेताहरुको दाबी छ ।

रायमाझी र ज्ञवालीले गुल्मी तथा अर्घाखाँचीमा प्रचार गरेजस्तै विमानस्थल निर्माण अध्ययन भएका अन्य जिल्ला प्युठान, पाल्पा लगायतका जिल्लामा पनि नेताहरुले चुनावको बेलामा विमानस्थल निर्माणको आश्वासन दिएर प्रचार गरेका छन् र जसरी पनि यसलाई अगाडि बढाउने प्रचार गरेका छन् ।

रोल्पाको बन्द रहेको विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने यहाँका नेताहरुले बेलाबेलामा स्थानीयलाई सुनाउने नारा बनेको छ । रोल्पाबाट राष्ट्रिय राजनीतिमा पुगेका उपराष्ट्रपति नन्दबहादुर पुन, वर्षमान पुन, ओनसरी घर्तीले जिल्लाको विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने विषय राख्ने गरेको स्थानीयले बिर्सेका छैनन् ।

यता प्युठानमा चुनावका बेला अधिकांश नेताको मत माग्ने उद्देश्यले नै आफ्नो जिल्लामा विमानस्थल निर्माणको चर्चा ल्याउने र सांसद तथा नेताहरु नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो विमानस्थलको सम्भावना अध्ययनका लागि दबाब दिने गरेको जानकारहरु बताउँछन् । २०७० सालमा प्युठान र बर्दियाबाट एकै पटक उम्मेद्वार बनेका वामदेव गौतमले प्युठानमा छिट्टै विमानस्थल बनाउने बताएका थिए । गौतम ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका थिए । गौतमले प्युठानवासी माझ गरेको बाचा अचेल बिर्सिएको स्थानीयको गुनासो छ ।

प्युठान नगरपालिका–२, दाखाक्वाडी जन्मेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतम प्युठान विमानस्थल बनाउनुपर्ने भन्दै प्राधिकरणसम्म धाउने गरेका थिए । तर अचेल उनी पावरमा नभएकाले यहाँको विषय सुनसानजस्तै बनेको छ ।

लुम्बिनी प्रदेशका केही जिल्लामा बनेका विमानस्थल पुराना छन् । रोल्पा जिल्लामा विमानस्थल बन्द भएको वर्षौं बितेको छ । दाडको टरीगाउँ विमानस्थल पनि वर्षौंसम्म बन्द रहेर केही समयअघि सञ्चालनमा आएको हो । नेपाल वायु सेवा निगमले त्यहाँको उडानमा नोक्सान व्यहोर्नु परेपछि बन्द गराएको थियो ।

हवाई यातायात आवश्यकता र सहज दुवै दृष्टिकोणले सञ्चालन गरिन्छ । तर खर्चिलो हुँदा यात्रुहरु नपाएर कतिपय विमानस्थलमा उडान बन्द हुँदा नेपालका धेरै विमानस्थल बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानेले बताए ।

विमानस्थलको सम्भाव्यता अध्ययनका लागि करोडौँ रकम खर्च हुने गरेको छ । यो अनावश्यक खर्चलाई नेताहरुले निर्वाचनको नारा बनाउन मात्रै गरेका हुन् वा आवश्यकताको पहिचान गरेका हुन् भन्ने विषय अब पेचिलो बन्दै गएको छ ।

नेताहरुलाई चुनावमा भोट माग्न सहज हुने र धेरै विकास गर्ने नेताको रुपमा आफू चिनिन यस्ता काम भएका छन् । अर्थशास्त्रका जानकार मनिकर कार्की आवश्यकताको पहिचान नगरी गरिने यस्ता अनावश्यक खर्चले राज्यको व्ययभार बढ्ने मात्र नभइ जनस्तरमा नेताको बोलीको अविश्वास बढ्दै गएको विश्लेषण गर्दछन् । पछिल्ला वर्ष देशका विभिन्न भागमा सडक पहुँचको विस्तार भएसँगै यात्रुहरु सवारी साधनमार्फत् कम भाडामै ओहोर–दोहोर गर्न थालेका छन् ।

सडक सहज भएपछि विमानस्थल कम प्रयोगमा आउने धेरैको बुझाई छ । त्यसमा फेरि जिल्ला जिल्लामा विमानस्थलको माग जायज नहुने स्थानीयकै तर्क छ । नेताहरुले देखाउने आवश्यकताका आधारमा बनाइएका विमानस्थल व्यावसायिक रुपमा फलदायी हुन नसक्ने र राज्यको रकममात्र दुरुपयोग हुने अर्घाखाँचीका दीपक श्रेष्ठ बताउँछन् ।

अहिले निर्माण भइरहेको गुल्मीको रेसुङ्गा विमानस्थलबाट अर्घाखाँचीको अर्घा बन्दैगरेको विमानस्थलसम्म पुग्न बढीमा २ घण्टा लाग्छ । सडकको पिच र स्तरोन्नति गर्दा उक्त समयमा कटौती हुनसक्छ ।

यस्तै गुल्मीबाट पाल्पामा आउन त्यति नै समय लाग्छ । दाङबाट प्युठान पनि नजिकै छ । लामो समय बन्द अवस्थामा रहेको दाङ विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट प्युठान, रोल्पालगायतका जिल्लाबासीहरुले सेवा पाएका छन् ।
यसबीचमै दाङको नारायणपुरमा अर्को विमानस्थल निर्माणको माग पनि नेताहरुले गरेका छन् । विगतमा यात्रु नपाएर बन्द टरीगाउँ विमानस्थलमा अहिले हप्तामा ५ दिन उडान हुन्छ । विगतमा यात्रु नपाएर दाङमै विमानस्थल बन्द भएको अवस्थामा अहिले सोही जिल्लामा अर्को विमानस्थल बनाउँदा त्यसको कति लाभ होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

विमानस्थल सञ्चालन गर्दा पनि ठूलो लगानी लाग्छ । त्यसैले भएका विमानस्थल राम्रोसँग सञ्चालन गर्ने र चल्न सक्ने ठाउँमा मात्र निर्माण गर्नुपर्ने जानकारहरु बताउँछन् ।

दाङसँग सडक सञ्जालले सजिलै जोडिएको प्युठानमा समेत विमानस्थल बनाउन लागिएको छ । पछिल्ला वर्ष पहाडी जिल्लामा सडक अझै फराकिलो र राम्रो बन्दै गएका छन् । स्तरीय सडक बनेपछि एक जिल्लाबाट अर्को जिल्लामा पुग्नको लागि छोटो समय लाग्ने हुन्छ । त्यसकारण यात्रुहरु हवाईभन्दा पनि स्तरीय गाडीतिरै केन्द्रत हुने अर्थशास्त्री कार्की बताउँछन् । त्यसकारण जिल्ला जिल्लामा विमानस्थल बनिहाले पनि चल्ने सम्भावना अत्यन्तै न्यून रहेको उनको भनाइ छ ।

गुल्मीमा निर्माणाधीन विमानस्थलमा यो आर्थिक वर्षमा पिचको काम सकिन्छ । ५२० मिटर रनिङ्ग एरिया रहेको गुल्मीको रेसुङ्गा विमानस्थलका लागि अहिलेसम्म १५ करोडभन्दा धेरै रकम खर्च भएको छ । त्यहाँ करिब ३० करोड खर्च हुने अनुमान छ ।

अर्घाखाँचीको अर्घा भगवती विमानस्थलको दोस्रो चरणको काम भइरहेको छ । अर्घाखाँचीका नेता एवं तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरेको यो विमानस्थलका लागि अहिले रूख कटान, माटो कटानको काम सकिएको छ ।

सन्धिखर्क नगरपालिका–१० धरमपानीको शिखरबार्नीमा निर्माण हुन थालेको यो विमानस्थल २०७३ साल असार १३ गते शिलान्यास भएको थियो । अहिले माटो काट्नका लागि साढे ४ करोडको नयाँ ठेक्का भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानेले बताए । यहाँ ८५० मिटरसम्म रनवे बनाउन सकिने ठाउँ छ ।

२०७१ सालबाट प्रक्रिया अगाडि बढेको प्युठानको स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल निर्माणका लागि प्रारम्भिक अध्ययन पश्चात ‘ईआईए’को काम सकिएको छ । यहाँ २०७५ सालको माघमा सर्भे भएको थियो । विमानस्थल निर्माणका लागि ६०.७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्दा ५५.१८ हेक्टर राष्ट्रिय वनअन्तर्गतको हरियाली सामुदायिक वनको जग्गा अधिग्रहण हुने देखिएको छ । आयोजनाको प्रस्तावित लागत ७७ करोड छ ।

पाल्पामा पनि विमानस्थलको माग उठ्ने गर्दछ । प्राधिकरणले पनि विमानस्थलका लागि भनेर पाल्पामा दुई पटकसम्म फिल्ड भिजिट गरेको उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत इन्जिनियर पुष्पराज न्यौपानेले बताए । उनले भने, ‘हामीले पाल्पाका दुई–तीन ठाउँमा विमानस्थलको लागि उपयुक्त ठाउँ खोजेका थियौँ तर खासै उपयुक्त नभेटिएपछि त्यसै त्यसको प्रक्रिया रोकिएको छ ।’ उनका अनुसार पाल्पाको रामपुर र तानसेनमा विमानस्थल बनाउन अवलोकन गरिएको थियो ।

रोल्पाको बडाचौरमा रहेको विमानस्थल लामो समयदेखि बन्द छ । पञ्चायतकालमा चलेको विमानस्थल प्रजातन्त्र पुनःस्थापनापछि बन्द भएको हो । उक्त विमानस्थल फेरि सञ्चालनमा ल्याउनुपर्ने माग बेलाबेला उठ्ने गरेको छ । तर विमानस्थल सञ्चालनको प्रक्रिया अगाडि नबढाएको प्राधिकरणका अधिकारीहरु बताउँछन् । अहिले विमानस्थलमा संरक्षणका लागि तारजाली लगाउने काम भएको छ । त्यहाँका नागरिकहरु हवाई सेवाको लागि अहिले दाङ आउने गरेका छन् । उता, रुकुम (पश्चिम) मा रहेको चौरजहारी विमानस्थलमा हप्तामा दुई दिन उडान हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा विमानस्थलको माग नउठेका जिल्लाहरु नवलपरासी, कपिलवस्तु र बर्दिया हुन् । नवलपरासी र कपिलवस्तु भैरहवाको विमानस्थलसँग जोडिएका जिल्ला हुन् भने बर्दिया नेपालगन्ज विमानस्थलसँग जोडिएको जिल्ला हो ।

गौतमबुद्ध विमानस्थल

इतिहासका जानकारहरुका अनुसार २०१० मा भारतीय प्रधानमन्त्री डा. केआई सिंह र काशीप्रसाद श्रीवास्तवको पहलमा भैरहवाको शान्तिनगरमा कच्ची विमानस्थल निर्माण भएको थियो । तत्कालीन समयमा करिब १० बिघा क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा–पोखरा र भैरहवा–काठमाडौँ उडान हुने गर्दथ्यो । विमानस्थल परिसर कच्ची भए पनि पक्लिहवामा रहेको ब्रिटिस क्याम्पले बाहिरी बाटो भने पिच गरिदिएको थियो । २०२३ मा नयाँ सालमा हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएको इतिहास रहेको छ । जहाँ विमानघाट भनेर चिनिने गरिन्थ्यो ।

शान्तिनगरबाट विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाउँमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र सङ्घीय प्रहरी इकाई लुम्बिनी कार्यालय स्थापना गरिएको छ । अहिले गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । विमानस्थलको नाममा ०६१ सालअघिसम्म ८४ बिघा ३ कठ्ठा जग्गा रहेकोमा ०६३ सालपछि २ सय १३ बिगा ४ कठ्ठा थप भएको थियो । हाल थप ५ सय बिघा जग्गा थपिएको छ । यसरी निर्माणाधीन गौतमबुद्ध विमानस्थलको जग्गाको स्वामित्व ७ सय ८७ बिघा ७ कठ्ठा पुगेको छ । अहिलेसम्म पोखरा विमानस्थलको ३ हजार ७ सय रोपनी र काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ७ हजार रोपनीमा फैलिँदा भैरहवामा बन्ने विमानस्थल भने १० हजार रोपनीमा फैलिनेछ ।

खुल्दै बन्द हुँदै दाङको टरिगाउँ विमानस्थल

२०११ सालमा दाङ, दोघरेका समाजसेवी स्व झक्कुप्रसाद रेग्मीको पहलमा स्व. राजा त्रिभुवनको स्वीकृतिबाट स्थापना भएको दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट) अहिले संकटमा परेको छ ।

तत्कालीन समयमा टावर लगायत उपकरणको अभावमा विमान आउँदा पराल बालेर राँकोलाई संकेतका रुपमा प्रयोग गरी विमान अवतरण गराइएको अनुभव स्थानीय सुनाउँछन् । स्थापनाका ३१ वर्षसम्म सुचारु रहेको विमानस्थल ०४२ सालमा बन्द भएको थियो । ०६० सालमा तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा फेरि खुल्यो र ०६६ सालमा बन्द भयो । ०६८ माघपछि तुलसीपुर उद्योग वाणिज्य संघकै पहलमा नेपाल वायुसेवा निगमसँग विभिन्न सम्झौता गर्दै फेरि सञ्चालनमा ल्याइयो । तर, त्यो नौ महिनाभन्दा धेरै टिक्न सकेन ।

यसरी पटक–पटक बन्द हुँदै र खुल्दै आफ्नो अस्थित्व जोगाउन धौ–धौ परिरहेको विमानस्थल ०७५ असोजदेखि तुलसीपुर उपमहानगरपालिकाको पहलमा फेरि सञ्चालनमा आएको छ ।

तुलसीपुर उद्योग वाणिज्य संघका तत्कालीन अध्यक्ष विमल रिजालले काठमाडौँ–तुलसीपुर–काठमाडौँ एक उडानमा ६ सिटको जिम्मा लिँदै सम्झौता गरेका थिए । उक्त ६ सिटको मूल्य संघले निगमलाई तिथ्र्याे । मेयर पाण्डेले घाटा भएमा निगमको सम्पूर्ण घाटा उपमहानगरले जिम्मा लिने सर्तमा निगमको खातामा १० लाख रुपैयाँ धरौटी अग्रिमरुपमा जम्मा गरेर विमान सञ्चालनमा ल्याएको स्थानीयले बिर्सेका छैनन् ।

धावनमार्ग छोटो (७५० मिटर) हुँदा १६ सिटे साना ट्विनअटर विमानमात्र सञ्चालन हुने यहाँको खास समस्या हो । त्यसमाथि पहिलेबाट हवाई इन्धनको भण्डारण दाङमा नहुँदा विमानले फर्कने र भैपरी आउने समेतको अतिरिक्त इन्धन काठमाडौंबाटै बोकेर आउनुपर्छ । यसो गर्दा विमानले प्रत्येक उडानमा ३ वटा सिटमा यात्री बोक्न पाउदैनन् । ती सिटको भाडा अन्य यात्रुले बेहोर्नुपर्ने गरी मूल्य समायोजन गर्दा यात्रीलाई भाडा धेरै महंगो परेको थियो । दाङभन्दा करिब १३५ किमि टाढा नेपालगञ्को हवाई भाडा अलिक कम र सहज मान्दै धेरैले उही मार्ग प्रयोग गरेकाले पनि समस्या भएको हो ।

वैशाखदेखि नियमित उडान गर्ने रेसुङ्गा विमानस्थलको तयारी

विमानस्थलका अन्तिम चरणका टर्मिनल भवन र धावन मार्गको काम सम्पन्न हुन थालेकाले गुल्मीको रेसुङ्गा विमानस्थलबाट आगामी वैैशाखदेखि नियमित उडान गर्ने गरी तयारी गरिएको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर–१० सिमीचौरमा निर्माणाधीन विमानस्थलको टर्मिनल भवन र धावन मार्ग कालोपत्रे गर्ने काम सकिएको छ । विमानस्थलको धावन मार्ग र टर्मिनल भवनको कामपछि कार्यालय व्यवस्थापनको काम बाँकी रहने रेसुङ्गा निमानस्थलका आयोजना प्रमुख सन्जीव खड्काले बताएका छन् ।

यो विमानस्थलमा २०७५ साल जेठ २७ गते परिक्षण उडान पनि गरिएको थियो । २०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेपनि २०७२ सालपछि निर्माणको कामले निरन्तरता पाएको हो ।

विमानस्थल ५२० मिटर लम्बाई र २० मिटर चौडाइमा धावन मार्ग निर्माणको काम भइरहेको छ । कुल १७८ रोपनी जग्गामा बिमानस्थलको एरिया छ । जसमध्ये ७८ रोपनी जग्गा व्यक्तिको र बाँकी जग्गा सार्वजनिक रहेको छ ।

तीनपटक उद्घाटन भयो अर्घाखाँचीको विमानस्थल

२०७३ असार १३ गते तत्कालीन उपप्रधान तथा ऊर्जामन्त्री रहेका टोपबहादुर रायमाझीले २०७३ असार १३ गते अर्घा भगवती विमानस्थलको शिलान्यास गरेका थिए ।

शिलान्यास गर्दा रायमाझीले एक वर्षभित्र नै आधारभुत रूपमा हवाईजहाज उडाउने बताए पनि ३ वर्षसम्म विमानस्थल निर्माणको काम सुरु भएन । भव्य रुपमा शिलान्यास भएको विमानस्थल निर्माणको काममा रूख कटान सुरु गर्दा फेरि औपचारिक कार्यक्रम गरेर रूख कटान सुरु गरियो । एक वर्षमा आधारभूत रूपमा विमानस्थल सञ्चालन हुन्छ, भनेका रायमाझीले प्रतिनिधिसभाको निर्वाचनमा एयरपोर्ट छिट्टै सञ्चालन हुन्छ भन्ने नारा वामगठबन्धनको बन्यो ।

निर्वाचन सम्पन्न भएको ३ महिनापछि २०७४ चैतको ११ गते फेरि सल्लाको रूख काटेर पूर्वउपप्रधानमन्त्री तथा सांसद टोपबहादुर रायमाझीले रूख कटान सुरु गरे । शिलान्यासमा एक वर्षमा आधारभूत हवाईजहाज उड्छ, भनेका रायमाझीले तीन वर्षमा विमान नियमित उडान गर्न मिल्ने गरी काम अगाडि बढ्ने बताए ।

रूख कटान सकिएपछि पुनः काम सुरु भएन । रुख कटानको उद्घाटन गरेका रायमाझी २०७६ साउन २२ गते निर्माण कार्य रिवन काटेर शुभारम्भ गरी कामको उद्घाटन फेरि गरेका थिए ।

६ घरेलु र ३ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन

सरकारले हाल ६ वटा घरेलु विमानस्थल निर्माण गरिरहेको छ । निर्माण भइरहेका घरेलु विमानस्थलमा अर्घाखाँची, गुल्मी, इलाम, कालिकोट, कमल बजार र खिजी चण्डेश्वर हुन् । यस्तै निर्माण भइरहेका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा नीजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् ।

पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका छन् भने निजगढ विमानस्थलको मोडालिटी तयार भइरहेको छ । देशभरका विमानस्थलहरुमध्ये ३३ विमानस्थल मात्र कालोपत्रे भएका छन् । हाल बैतडी, बझाङ, डोल्पा, मसिनेचौर, डोटी, कलिकोट र लामिडाँडा विमानस्थल कालोपत्रे भइरहेका छन् ।

यस्तै रात्री उडान सुविधा रहेका विमानस्थलहरु मध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बिराटनगर, चन्द्रगढी, धनगढी, गौतमबुद्ध भैरहवा, नेपालगञ्ज र सिमरा रहेका छन् भने अन्यमा रात्री उडान गर्न सक्ने प्रविधि छैन । देशभरका विमानस्थलको पुर्ननिर्माण तथा स्तरोन्नतिमा सरकारले करिब १ खर्ब ३७ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ ।
१६ विमानस्थल बन्द अवस्थामा

हाल देशभर १६ वटा विमानस्थलहरु बन्द अवस्थामा छन् । बन्द अवस्थामा रहेका विमानस्थलहरुमा बैतडी विमानस्थल, बझाङको चैनपुर विमानस्थल, दार्चुला विमानस्थल, ढोरपाटन विमानस्थल, डोल्पा मासिनेचौर विमानस्थल र डोटी विमानस्थल रहेका छन् ।
यस्तै जीरी विमानस्थल, कंगेलडाँडाँ, लाङटाङ विमानस्थल, मनाङ विमानस्थल, मेघौली विमानस्थल, कञ्चनपुरको महेन्द्रनगर विमानस्थल र पालुङटार विमानस्थल बन्द अवस्थामा रहेका छन् । रोल्पा विमानस्थल, स्याङबोचे विमानस्थल र टीकापुर विमानस्थल पनि हाल बन्द अवस्थामा छन् ।

कुन प्रदेशमा कति विमानस्थल ?

हाल देशका सबै प्रदेशमा विमानस्थलको पहुँच छ । विमानस्थलहरु हुँदाहुँदै पनि नियमित हवाई सुविधा नहुँदा स्थानीयसँगै पर्यटकहरुले पनि सास्ती खेप्नुपर्ने अवस्था छ । प्रदेश एकमा १२ विमानस्थल, मधेस प्रदेशमा तीन विमानस्थल, बागमति प्रदेशमा ६ विमानस्थल, गण्डकी प्रदेशमा पाँच विमानस्थल, लुम्बिनी प्रदेशमा पाँच विमानस्थल, कर्णाली प्रदेशमा नौ विमानस्थल र सुदूरपश्चिम प्रदेशमा नौ वटा विमानस्थलहरु रहेका छन् ।

भौगलिक र अतिरिक्त सुविधाका रुपले विकट मानिने कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जिल्लापिच्छे विमानस्थल भएपनि तिनीहरु सञ्चालनमा भने आउन सकेका छैनन् । कर्णाली प्रदेशका सबै जिल्लाहरुमा मोटरबाटो पुग्न सकेको छैन । तर विमानस्थलको भने सुविधा छ । ती विमानस्थलहरु नाममा मात्रै सिमित छन् । कर्णालीका ९ वटा विमानस्थलहरुमा अहिले पनि नियमित उडान नहुँदा त्यहाँका स्थानियहरु समस्यामा छन् ।

सर्वसाधारणका लागि सहुलियत दरमा हवाई भाडा र भरपर्दो सेवा भने अझै पुगिसकेको छैन । कर्णाली प्रदेशका विमानस्थलहरु हुम्लाको सिमिकोट,जुम्ला विमानस्थल,सुर्खेत विमानस्थल, रुकुमको सल्ले विमानस्थल, रुकुमको चौरजहारी विमानस्थल, डोल्पा विमानस्थल, मुगुको रारा विमानस्थल अहिले सञ्चालनमा भएपनि नियमित उडान भने भर्न सकेका छैनन् ।

यस्तै सुदूरपञ्चिमका विमानस्थलको हालत पनि त्यस्तै छ । सुदूरपश्चिमका विमानस्थलहरुमध्ये कैलालीको धनगढी, अछामको साँफेबगर र बाजुराको कोल्टी विमानस्थल सञ्चालनमा छन् । जसमा धनगढी विमानस्थल नियमित रुपमा उडान भर्दै आएको छ भने साँफेबगर र बाजुरको कोल्टी विमानस्थलले नियमित रुपमा उडान भर्न सकेका छैनन् ।

दार्चुलाको गोकुलेश्वर, डोटीको दिपायल, अछामको कमल बजार, बझाङको चैनपुर, बैतडीको पाटन, कञ्चनपुरको महेन्द्रनगर र कैलालीको टिकापुर विमानस्थल बन्द अवस्थामा छन् । सुदूरपश्चिमा नेपालकै सुन्दर ठाउँ खप्तड, बडिमालिका, अपि, साइपाल, मानसरोवरलगायतका पर्यटकिय स्थलहरु भएपनि त्यहाँ पुग्न हवाई सुविधा नहुँदा विदेशी पर्यटकहरुलाई गन्तव्यमा पुग्न समस्या हुने गरेको छ । हवाई सुविधाको कमीले पनि आन्तरिक र बाह्य पर्यटकहरुको आगमन को संख्या न्यून छ ।

देशभर ५४ विमानस्थल संचालनमा

देशभर रहेका ५४ वटा विमानस्थलमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा छन्। प्राधिकरणका अनुसार झापाको चन्द्रगढी, मोरङको विराटनगर, राजविराज,थामखर्क, खानीडाडा, लामिडाडा, रुम्जाटार, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, लुक्ला, फाप्लु, बझाङ,बैतडी,डोटी, जनकपुर, रापेछाप, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, भरतपुर, सिमरा, भैरहवा विमानस्थल,दाङ, जोमसोम, डोल्पा, रुकुम, सल्ले, जुम्ला, चौरजहारी, नेपालगञ्ज, सुर्खेत,रारा, सिमिकोट, धनगढी, बाजुरा र साँफेबगर विमानस्थल सञ्चालनमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *