एमसीसीले देशै विभाजित, दलै विभाजित – Nepal Press

एमसीसीले देशै विभाजित, दलै विभाजित

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध संसद भवनबाहिर विरोध प्रदर्शन चर्किदै थियो, आइतबार मध्यान्नतिर संसदमा टेबल भयो । उसो त एमसीसी सदनमा पेस गराउँदाको वातावरण पनि कोलाहालपूर्ण नै रह्यो ।

संसदमा प्रमुख प्रतिपक्षी एमालेको अवरोध जारी थियो । सत्ता साझेदार माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका केही सांसद र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल विपक्षमा नाराबाजी गर्दै थिए ।

राष्ट्रिय महत्वका विषयलाई सार्वभौम सदनबाटै टुंग्याउनुपर्ने भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सदनमा एमसीसी टेबल गर्न दिए । देशको सार्वभौमिकताको सवालमा कुनै सम्झौता नगरिने भनेर आश्वस्त पार्ने प्रयास गर्दै भन्दै सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सदनमा टेबल गरे ।

एमसीसीले देशमा तीव्र ध्रुविकरण र विभाजन रेखा कोरेको छ । समाजको तल्लो तहसम्म एमसीसीको पक्ष र विपक्षमा मानिसहरु उभिइरहेका छन् । एससीसीका पक्ष र विपक्षमा रहेका दुवै पक्षले गाउँ–समाजमा रहेका सामान्य निरक्षर जनतामाथि ‘कु सूचना’ को बाढी नै बगाएका छन् । दुवै पक्षले प्रसार गरेका सूचना सत्य भन्दा झुटको अतिमा बगेका छन् ।

यस्तोमा एमसीसी सदनमा पेस भएर अनुमोदन हुँदा पनि त्यो विभाजन रोकिने छनक छैन्, किनभने यसलाई लिएर धेरैको बुझाइ अतिवादमा आधारित छ ।

वाम दलमा देखिने विभाजन

एमसीसले समाज मात्रै होइन, समाजको नेतृत्व गर्ने राजनीतिक दलहरु पनि विभाजित छन् । कांग्रेस भन्दा कम्युनिष्टमा यसले धेरै ध्रुविकरण ल्याएको छ ।

एमसीसी पारित गर्नुपर्छ भन्नेमा कांग्रेस एकमत देखिँदा प्रमुख प्रतिपक्षी एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतमा तीव्र विवाद छ ।

एमालेमा नेता भीम रावलले नेतृत्व गरिरहेको समूह खुलेरै एमसीसीको विरोधमा लागेको छ । रावलले संसदमा एमसीसी टेबल हुनुअघि नै विरोध जनाएर बोलेका थिए । एमालेले संसद अवरोधको नीति लिँदा पार्टीको अनुमति नलिइ एमसीसीविरुद्ध बोलको भन्दै रावललाई मौखिक स्पष्टीकरण सोध्ने भएको छ ।

त्यस्तै रावललाई व्यक्तिगतरुपमा बोल्न दिएको भन्दै एमालेले सभामुखसँग आपत्ति समेत जनाएको छ । आइतबारको संसद बैठक सकिएलगत्तै एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतले सभामुख अग्नि सापकोटालाई च्याम्बरमै भेटेर रावललाई बोल्ने समय दिएकोमा आपत्ति जनाएका थिए ।

पार्टीले सदनको कारबाहीमा भाग नलिएको र संसदीय दलले कुनै पनि सांसदका नाम नटिपाएको अवस्थामा रावललाई कसरी बोल्न दिइयो भन्ने प्रश्न भट्टराईले गरेका थिए । रावलले भने देश नै नरहने खतरामा रहेकाले आफू बोलेको स्पष्टीरकण दिएका छन् ।

एमसीसीविरुद्ध आफूले मत जाहेर गर्ने र यसमा पार्टीले रोके पार्टी नै छाड्ने रावलको चेतावनी छ । रावल मात्रै होइन, एमालेकै धेरै सांसद एमसीसीको विपक्षमा छन् । पार्टीले औपचारिक निर्णय गरिनसकेकाले उनीहरुको स्वर मसिनो छ ।

माओवादी भित्र समेत एमसीसीले लय बिग्रेको छ । नेता नाराणकाजी श्रेष्ठ लगायतका धेरै नेता एमसीसी टेबल नै गर्न नदिने पक्षमा थिए ।

तर, पार्टीले विरोध जनाउँदा जनाउँदै पनि टेबल गर्न दिने कुरामा लचकता अपनाएको भन्दै माओवादीका धेरै नेताहरु असन्तुष्ट छन् । अर्कोतिर एमसीसी टेबल गर्दा माओवादीका केही सांसदले उठेरै विरोध जनाए भने, केही उठेनन् । संसदीय दलले एमसीसी जबरजस्ती टेबल गर्दा सरकारबाटै बाहिनेसम्मको कडा निर्णय गरेकाले त्यसको प्रतिवाद गर्नुपर्ने भन्दै केही सांसद उठेर विरोध गरे । ‘एमसीसीको विपक्षमा उभिने निर्णय संसदीय दलले गरेकाले मैले उठेर विरोध जनाए,’ माओवादी सांसद गिरिराजमणि पोखरेल भन्छन्, ‘अरु पनि केही साथीहरु विरोधमा उभिनुभयो ।’

यही मेसोमा सरकार छाड्नुपर्ने धारणा राख्ने नेताहरु पनि माओवादीमा धेरै छन् । ‘आज उत्पन्न परिस्थितिसँगै सहमति सहकार्यमा अघि बढेको गठबन्धनको औचित्य समाप्त भएको छ,’ माओवादी केन्द्रीय सदस्य सुबोध शेर्पाइलीले फेसबुकमा लेखेका छन्, ‘तसर्थ हाम्रो पार्टी नेतृत्वले सरकार र गठबन्धनबारे ढिलो नगरिकन तत्काल निर्णय गरोस् ।’

एमसीसीले एकीकृत समाजवादीमा पनि यसले चर्को ध्रुविकरण जन्माइदिएको छ । शनिबार बसेको स्थायी समिति बैठकका निर्णय सार्वजनिक गर्दा नै दुई मत देखिएको थियो । प्रचार विभाग प्रमुख जग्गनाथ खतिवडाले एमसीसी कुनै पनि हालतमा टेबल हुन नदिने निर्णय बैठकले गरेको भन्दै सार्वजनिक गरेका थिए भने महासचिव वेदुराम भुसालले जारी गरेको विज्ञप्तिमा संसद टेबल गर्न दिने सहमति भएको उल्लेख छ ।

सम्मानित नेता झलनाथ खनालले एमसीसी सदनमा पेस गर्न दिने सहमति नभएको बताएका थिए । र, गठबन्धन संसदमा पेस गर्न दिने सहमतिमा पुगेपछि अमेरिकासँग झुक्नेहरुले यस्तो निर्णय गरेका भन्दै आक्रोस पोखेका थिए ।

सत्ता गठबन्धनको अर्को दल जनता समाजवादी पनि यो विषयमा विभाजित छ । बाबुराम भट्टराई पक्ष यसलाई यथास्थितिमै अनुमोदन गर्ने पक्षमा छ भने उपेन्द्र यादव पक्ष संशोधनबिना गर्नुहुन्न भन्ने पक्षमा छ । यसअघि नै अन्य विषयले विभाजनको डिलमा पुगेको जसपमा एमसीसीकै कारणले फुट्ने आशंका पनि गर्न थालिएको छ ।

एमाले अस्पष्ट, माओवादी र समाजवादी विपक्षमा उभिने

प्रमुख प्रतिपक्षी दल एमाले एमसीसीलाई लिएर अझैं खुलेको छैन् । पहिलेदेखि सत्तापक्ष स्पष्ट हुनुपर्ने र आफूले कारबाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस गर्नुपर्ने विषयलाई एमालेले सर्त बनाएको छ । आइतबार पनि एमालेले यही विषयलाई उठाउँदै सदन अवरोध कामय राख्यो ।

सदनमा एमसीसी टेबल भएपछि सांदसहरुसँग अनौपचारिक छलफल गरेका अध्यक्ष केपी शर्मा ओलीले बेलैमा निर्णय नगर्दा यो विषय गिजोलिएको बताएका छन् । तर, उनले एमालेले यसमा के गर्छ भन्ने प्रष्ट पारेका छैनन् । ‘विदेशीको क्रिडास्थल भएपछि बल्ल एमसीसी संसद्मा आयो,’ ओलीलाई उद्धृत गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘यस विषयमा अमेरिका, चीन बोल्नुपर्ने अवस्थामा आयो । एमसीसीको पहिले नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन ।’

सदनमा एमसीसी टेबल गर्न लचकता अपनाएका माओवादी केन्द्र र एकीकृत समाजवादीले भने आफूहरुले मतदान भने विपक्षमा गर्ने बताएका छन् । सदनमा एमसीसी टेबल भएपछि प्रतिक्रया जनाउँदै माओवादी अध्यक्ष प्रचण्डले यसविरुद्ध उभिने निर्णय आफूहरुले संसदीय दलबाट पहिले नै गरिसकेको भन्दै अब पनि विरोध रहने जनाएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि एमसीसीमा आफूहरुको सर्मथन नहुने बताएका छन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ आइतबार संसद बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले भने, ‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ ।’

सरकारबाट बाहिरिन आनाकानी

गत बुधबार माओवादी केन्द्रले जबरजस्ती एमसीसी टेबल गरिए सरकाबाट बाहिरिने निर्णय गरेको थियो । माओवादी नेताहरुले आज एमसीसी टेबल गर्न पनि जबरजस्ती गरिएको बताएका छन् । उक्त निर्णय अनुसार माओवादी सरकारबाट बाहिर गइहाल्नुपर्छ । तर, माओवादी नेताहरु यसपमा प्रष्ट बोलिरहेका छैनन् । माओवादी सरकारबाट जतिखेर पनि बाहिरिन सक्ने बताउने प्रमुख सचेतक देव गुरुङ एमसीसी अनुमोदनको प्रक्रिया कस्तो हुन्छ त्यो हेर्ने बताउँछन् । माओवादीकै अर्का नेता गिरिराजमणि पोखरेल भन्छन्, ‘एमसीसी जबरजस्ती टेबल भयो, सरकारबाट बाहिरिने प्रक्रियाको सुरुवात यहीबाट भइसक्यो । मतदानमा जाँदासम्म त्यो निर्णायक विन्दूमा पुग्छ ।’

एकीकृत समाजवादीमा त बहुसंख्यकको मत एमसीसीकै कारण सरकारबाट बाहिरिन नहुने छ । सरकारमा गएका अधिकांश मन्त्री बाहिरिन अनइच्छुक देखिएका छन् र सदनमा टेबल गराउनका लागि तयार हुन माधव नेपाललाई उनीहरुले नै बाध्य पारेको भनिन्छ । तै पनि माधव नेपालले भनेका छन्– ‘एमसीसीको सर्मथन गर्दैनौं, सरकार जेसुकै होस् ।’


प्रतिक्रिया

One thought on “एमसीसीले देशै विभाजित, दलै विभाजित

  1. #सरकारसदनसडक को व्यापक दुरूपयोग किन?
    सरकारमार्फत एमसीसीलाई संसदमा टेबल गर्न निर्णय गर्ने, सदनमा त्यो टेबल गर्न पाईंदैन् भनेर नारा लगाउने अनि सडकमा कार्यकर्तालाई एमसीसी राष्ट्रघाती छभन्दै ढुंगामुढा गर्न उक्साउने माझण्ड प्रवृत्तिका कारणले देशमा नियन्त्रित अस्थिरता चाहनेको स्वार्थ पूरा हुँदैछ। विरोधको उद्देश्य देश बनाउने होइन। तर दानअनुदानले पनि देश बन्ने होइन बरू परनिर्भरता बढाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर