गुल्मीका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश, गोकर्ण विष्टले गरे स्वागत – Nepal Press

गुल्मीका दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश, गोकर्ण विष्टले गरे स्वागत

रुपन्देही । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मीको धुर्कोट गाउँपालिका २ पिपलधारामा विभिन्न पार्टी परित्याग गरेका दर्जनौं स्थानीयलाई एमालेमा प्रवेश गराएका छन् ।

विष्टले शनिबार एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य तथा धुर्कोट गाउँपालिका अध्यक्ष बाबुराम खड्कासहितको ठूलो समूहलाई एमालेमा प्रवेश गराएका हुन् ।

उनीसहित कांग्रेस, माओवादी केन्द्र र विवेकशील साझा पार्टीबाट दर्जनौं नेताकार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले नेता हरि पोखरेलले बताए । पार्टी प्रवेश गर्ने खड्कासहितका अगुवा कार्यकर्तालाई एमाले केन्द्रीय सचिव तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्ट, एमाले जिल्ला इन्चार्ज दिनेश पन्थी र जिल्ला अध्यक्ष बालसिंह काउछासहितका नेता कार्यकर्तालाई एमालेमा स्वागत तथा सम्मान गरेका थिए ।

सो अवसरमा बोल्दै नेता विष्टले एमसिसी सत्ता गठबन्धनलाई तातो दूध निल्नु न ओकल्लु भएको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको दुई जिब्रे प्रवृत्तिको कारण एमसीसीको विवाद बल्झाएर गठबन्धनले अराजकता सृजना गरेको बताए ।

उनले एमसिसीको विषयमा प्रचण्डले अमेरिका सहमतिको पत्र पठाएर सदनमा असमति र सडकमा आन्दोलन गरिएकोले दुई मित्र राष्ट्र अमेरिका र चीनका विरुद्धमा नागरिकमा भ्रम फैलिरहेको बताए । नेकपा एमालेको उद्देश्य नै जनताको समृद्धि भएकाले सत्ता बाहिर हुँदा पनि एमालेप्रतिको जनलहर बढिरहेको विष्टले बताए ।

कार्यक्रममा जिल्ला इन्चार्ज दिनेश पन्थीले देशभर एमाले पार्टी प्रवेश गर्नेहरूको जनलहर देखेर कांग्र्रेस माओवादी अत्तालिएको बताए । उनले अब जनता झुक्याएर र सत्ताको दुरुपयोग गरेर चुनाव जित्ने अवस्था नरहेकाले माओवादी, काङ्ग्रेस र समाजबादी लगायतका पार्टीबाट नेता कार्यकर्ता एमालेमा पार्टी प्रवेश गरेको बताए ।

त्यस्तै नेकपा एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले आगामी निर्वाचनहरुमा पिपलधारामा एमालेको लालझन्डा फहराउने बताए । उनले गत स्थानीय तहको निर्वाचनमा पनि एमालेको राम्रो अभिमत हुँदाहुँदै काङ्ग्रेस माओवादी चुनावी समीकरणको कारण आफूहरु पराजित भएको बताए ।

उनले सबै प्रवेश गर्नेलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने प्रतिबद्धता जनाए । एमाले प्रवेश गर्ने एकीकृत समाजवादीका नेता खड्काले पार्टीको आन्तरिक जीवनमा केहि असहज परिस्थिति देखापरेकाले केही समय पार्टीबाट टाढा भएपनि अब अझ अठोट र ऊर्जाका साथ काम गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर