एमसीसी कि अनुमोदन गरौं, नभए फिर्ता पठाऔं : उपसभापति गुरुङ – Nepal Press

एमसीसी कि अनुमोदन गरौं, नभए फिर्ता पठाऔं : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे नेपालले कमजोरी गरेको बताएका छन् ।

परियोजना सञ्चालन सम्झौता सन् २०१७ र कार्यान्वयनको सम्झौता सन् २०१९ मा गरे पनि तीन वर्षदेखि अड्काइराख्नु कमजोरी भएको उनको भनाइ छ ।

कार्यान्वयन गर्ने नै भए अनुमोदन गर्नुपर्ने र नगर्ने नभए छिटो फिर्ता पठाउनुपर्ने उनको राय छ । संसदबाट अनुमोदन गर्ने भनेर परियोजना अड्काइराख्दा विभिन्न प्रश्न उठ्नु स्वाभाविक भएको गुरुङले बताए ।

‘सम्झौतामा हस्ताक्षर गरेको पाँच वर्ष भइसक्यो । कार्यान्वयन पत्रमा हस्ताक्षर गरेको तीन वर्ष सुरु भइसक्यो । तर, कार्यान्वयन नगरेपछि त प्रश्न उठ्दैन र ? त्यसैले यहाँ हाम्रो धेरै कमजोरी भए’, गुरुङले भने, ‘कार्यान्वन गर्ने भए अनुमोदन गरौँ । नगर्ने भए छिटो फिर्ता पठाऔँ ।’

परियोजनामा जनता समाजवादी पार्टी, कांग्रेस, एमाले र माओवादीलगायत पार्टी मुछिएकाले छिटो अनुमोदन गर्ने कि फिर्ता पठाउने भन्नेमा निर्णय लिनुपर्नेमा उनको जोड छ ।

तर, अमेरिकी प्रशासनले छिटो अनुमोदन गर्न भनेर दबाब दिनुलाई भने ‘अस्वाभाविक सक्रियता’ भएको टिप्पणी गरेका छन् ।

अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लुले विहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई टेलिफोन गर्दै एमसीसी परियोजना छिटो अनुमोदन गर्न ताकेता गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर