जन्मदिनमा सुजाताको मुस्कान : खुलाइन् क्यान्सरमाथि जितको रहस्य – Nepal Press

जन्मदिनमा सुजाताको मुस्कान : खुलाइन् क्यान्सरमाथि जितको रहस्य

काठमाडौं । ‘म खुसी छु जन्मदिन मनाउन पाएकीमा । क्यान्सरलाई जित्न सकेकीमा’ कांग्रेस नेतृ सुजाता कोइरालाले ६८ औं जन्मदिनको केक काट्दै बोलेका वाक्य हुन् यी । बुधबारबिहानै मण्डिखाटारस्थिति कोइरालाको निवासमा शुभेच्छुकहरूबीचमा थिइन् उनी । राजनीतिदेखि जिन्दगीसम्मका गफमा व्यस्त थिइन् ।

उमेरले सात दशक छुनै लागिन् । सात दशकबीचमा जीवनमा आइपरेका, भोगेका, सम्हालेका आरोह-अवरोहको लामै श्रृंखला छ उनको । बाल्यकालमै आमा सुष्मा कोइरालालाई गुमाइन् । पिता गिरिजाप्रसाद कोइरालाको औंलो समातेर हुर्किइन् । गिरिजाकै छत्रछायामा रहिन् ।

गएको कांग्रेस महाधिवेसनमा उपसभापतिमा पराजित सुजाताको राजनीतिक यात्रा केन्द्रीय सदस्य हुँदै उपप्रधानमन्त्रीसम्मको छ । बाँकी यात्रा समयको अनुकूलता-प्रतिकूलतामा चलिरहने नै छ ।

पाँच वर्षअघि मलेसियाको भ्रमणमा निस्किएकी उनको स्वास्थ्यमा अचानक समस्या देखियो । स्वास्थ्य रिपोर्ट निस्कियो, स्तन क्यान्सर ।
प्रथम स्टेजमा रहेको क्यान्सरको उपचार तत्काल सुरू गरिन् । तर, क्यान्सरको श्रृंखला यहीँ अन्त्य भएन । केही समयपछि अर्को रिपोर्ट आयो, पाठेघरमा पनि क्यान्सरको संक्रमण । सँगसँगै दुई जटिल समस्याबाट गुज्रिनुपर्दा सार्वजनिक जीवनबाट टाढा भइन् ।

क्यान्सरको आक्रमणमा परेपछि सुजाताको जीवनशैली बदलिएको थियो । जीवन र जगत्‌माथिका बुझाइहरू एक-एक गरेर भत्कँदै गएका थिए । योग र अध्यात्मसँगको नजिकपनाले आत्मबल प्राप्त गर्दै थिइन् । सुजाता क्यान्सरबारे बोल्छिन्, ‘नियमित योग गरेँ । नियमित ध्यान गर्नाले नकरात्मक विषयमा ध्यान जान छाड्यो । किमो लिनुपर्ने थियो, तर मैले जीवनशैली बदलेरै क्यान्सरलाई पराजित गरेँ ।’

महिना दिनको अन्तरालमा दुईवटा अप्रेसन भयो । अप्रेसन भयो, शरीर तंग्रिदै गयो । तर, सार्वजनिक जीवनबाट दूर रहँदा डिप्रेसनले सिकार बनायो ।

यसबाट बल्ल पार पाएर उपसभापतिमा लडिन् । त्यो लडाइँ सुजाताका लागि राजनीतिक जीवनको मात्रै थिएन, आफैंसँगको संघर्ष र उत्प्रेरणको पनि थियो । भलै पराजित भइन् ।

सुजाता मात्रै होइन, कोइराला परिवारमा क्यान्सरको श्रृंखला लामै छ । विपी कोइराला, गिरिजा हुँदै सुशील कोइरालासम्म यस घातक रोगको सिकार भए । मनिषा कोइरालाले पनि क्यान्सरसँग डटेर लडिन् ।

क्यान्सरविरुद्धको मनीषाको लडाइँ र विजय आजसम्म पनि हजारौं क्यान्सरपीडितका लागि प्रेरणा र हौसला बनेको छ । मनीषाको अनुभव र अनुभूति सुजातालाई पनि काम लाग्यो । टेलिफोनबाटै मनीषाकी आमाले सुजातालाई काउन्सिलिङ गरिन् । नियमित उपचारसँगै योगबाट हुने फाइदाबारे बताइन् ।

‘मनीषाकी आमाले फोन गरेर मलाई धेरै सुझाव दिनुभयो । गुरु पठाइदिनुभयो । मनीषाले पनि सल्लाह दिइन् । दुईवटा क्यान्सरलाई किमो नगरेर म निको भएको पाँच वर्ष पुगिसकेको छ’, केक काटिसकेपछि सुजाताले भनिन् ।

क्यान्सरको आक्रमणमा परेपछि सुजाताको जीवनशैली बदलिएको थियो । जीवन र जगत्‌माथिका बुझाइहरू एक-एक गरेर भत्कँदै गएका थिए । योग र अध्यात्मसँगको नजिकपनाले आत्मबल प्राप्त गर्दै थिइन् । सुजाता क्यान्सरबारे बोल्छिन्, ‘नियमित योग गरेँ । नियमित ध्यान गर्नाले नकरात्मक विषयमा ध्यान जान छाड्यो । किमो लिनुपर्ने थियो, तर मैले जीवनशैली बदलेरै क्यान्सरलाई पराजित गरेँ ।’

पाँच वर्षअघि नै क्यान्सरमुक्त बनेकी सुजाताको अहिलेको जीवनशैली धेरै फरक छ । क्यान्सरअघि जस्तो थियो, त्यो जीवनशैलीलाई निकै टाढै छाडिसकेकी छन् । राजनीति बाहेक । ईर्श्या, लोभ, द्वैषभन्दा धेरै पर आइपुगेकी सुजाताको जीवनप्रति हेर्ने दृष्टिकोण नै बदलिएको छ ।
‘क्यान्सर भएपछि मैले आफूलाई चिन्ने मौका पाएँ । सत्ता र शक्ति मात्रै जीवन होइन रहेछ भन्ने महसुस भयो । हामी बेकारको लडाइँ, झगडा र स्वार्थमा अलमलिएका छौँ । जिन्दगी त त्योभन्दा धेरै माथि रैछ नि ! ’, आत्ममन्थन गर्दै सुनाउँछिन् सुजाता ।

‘मनीषाकी आमाले फोन गरेर मलाई धेरै सुझाव दिनुभयो । गुरु पठाइदिनुभयो । मनीषाले पनि सल्लाह दिइन् । दुईवटा क्यान्सरलाई किमो नगरेर म निको भएको पाँच वर्ष पुगिसकेको छ’, केक काटिसकेपछि सुजाताले भनिन् ।

पछिल्लो समय सुजाताले राजनीतिक क्रियाशीलताको गति बढाएकी छन् । नेता, कार्यकर्तासँग नियमित भेटघाटमा हुन्छिन् । आफ्ना जीवन, भोगाइबारे पुस्तक लेख्दैछिन् । पिताको नाममा स्थापित जिपी कोइराला फाउण्डेसनमार्फत् समाजसेवामा पनि निरन्तर छिन् ।

महाधिवेशनमा हुन नसकेको जित र मन्त्री बन्ने चर्चाबीच प्राप्तिका लागि नलागेको सुजाताको दाबी छ ।

महाधिवेशनको हारबारे बोल्छिन्, ‘पार्टीको उपसभापतिमा मेरो उम्मेदवारी कांग्रेसमा महिलालाई नेतृत्वमा पुर्‍याउनुपर्छ भन्ने सन्देश थियो । मैले आफ्नो तर्फबाट प्रयत्न गरेकी हुँ । तर, त्यस्तो मृत्युको नजिक पुर्‍याउने क्यान्सर त जितेर आएँ, यो हारले मलाई विचलित बनाउने सवालै रहेन’
उनले थपिन्, ‘क्यान्सरलाई जित्न सकेकाले नै आज जन्मदिन मनाउन पाएकी छु । नत्र त मेरो मरणदिन भइसकेको हुन्थ्यो । मान्छेहरूले मलाई बिर्सिसकेका हुन्थे होलान् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर