अञ्जुको गीत रचनाले गाइन्, के बिराइन् ? – Nepal Press
ब्लग

अञ्जुको गीत रचनाले गाइन्, के बिराइन् ?

दुःखमा, सुखमा, नृत्य-मुडमा गीतको तलतल लाग्यो भने साथ दिने विशेष गीतहरु बजिरहँदा अन्जु पन्तका गीतहरु छुट्दैनन् । उनका गीतहरुसँगै प्रितहरु आइपुग्छन्, अतीतहरु आइपुग्छन् । उनका गीतहरुसँगै सम्झना-बिर्सनाहरु सामुन्ने उभिन्छन् । कसैप्रतिको प्रार्थना–कामनाहरु अगरबत्ती बन्छन्, वरिपरि मगमगाउँछन् ।

त्यस्तै एउटा कालजयी गीत हो– नबिर्सें तिमीलाई, नपाएँ तिमीलाई, जुन अहिले चर्चा र गसिपको केन्द्रमा छ ।

कुनैबेला धेरैको जिब्रोमा झुण्डिएको यो गीत भर्खरै पुनः रेकर्डिङ भएर युट्युबमा सार्वजनिक भयो । स्वर दिइन् रचना रिमालले । कतिले यसलाई नयाँ भर्सन भने, कतिले नयाँ गीतकै दर्जा दिए । सर्जकले चाहिँ ‘रचना भर्सन’ भनेर सार्वजनिक गरेका थिए । नयाँ प्रयोग ?

तर, न मेलोडी परिवर्तन, न शब्दमा तलमाथि । स्वर मात्रै परिवर्तन भएको छ, सिर्फ पुनः रेकर्डिङ भएको छ । आम प्रतिक्रिया देखिन्छ- रचनाले अन्जुले जस्तो राम्रो गाइनन् ।

पक्कै पनि उनले अन्जुले जस्तो गाइनन् । किनभने रचना अन्जुको युवा भर्सन होइनन् । रचनाको स्वरको आफ्नै शैली, मधुरता र हस्ताक्षर छ, जसरी अन्जुको छ । हामीलाई त एउटा अन्जु नै काफी छ ।

हामीलाई काठमाडौंका स्टुडियोहरुमा बग्रेल्ती गीत रेकर्ड गराइरहेका राजेश पायल राईहरु चाहिएको छैन । हामीलाई एउटा ओरिजिनल राजेश पायल नै काफी छ ।

डेढ दशकअघि रेकर्ड भएको ‘नबिर्सें तिमीलाई’ गीत जसरी हाम्रो मनमस्तिष्कमा बसेको छ, त्यस हिसाबले हामीले यो गीत बज्दा अन्जुलाई नै खोज्छौँ । अन्जुकै मधुर स्वर चाहिन्छ हामीलाई । हामी त्यही स्वरमा अभ्यस्त भइसकेका छौं । डेढ दशकपछि त्यही गीत पुनः अर्को स्वरमा बज्दा अन्जुको धङधङी खोजिनु स्वभाविक हो ।

मलाई लाग्छ, यो गीत बज्दा स्रोताहरुले अञ्जुकै स्वर बढी खोजी गर्छन् भन्ने विषयमा रचना अनभीज्ञ थिइनन् । करियरको मीठो लयमा रहेकी, आफूलाई संगीतप्रेमीमाझ फैलाउँदै लगेकी रचनाले पक्कै पनि यो बुझेरै जोखिम मोलेकी होलिन् । कसैको उक्साहटमा नलागी स्वविवेकले नै निर्णय गरेकी होलिन् ।

सबै गीतले पुनः रेकर्ड हुने सौभाग्य पाउँदैन । जुनजुन गीत दर्शक स्रोताले मिस गरिरहेका छन्, त्यस्तै गीतहरु पुनः रेकर्ड भइरहेका छन् । कत्ति गीतले ओरिजिनल स्रष्टाहरुलाई फाइदा नै भएको छ । दर्शक स्रोताले सम्झिरहेको, तर अनेक बाध्यताले दृश्यमा नदेखिएका स्रष्टालाई पुनः देखाइदिएका छन् ।

उनलाई पक्कै थाहा थियो होला, आफूभन्दा जेठी पुस्ताकी सम्मानित गायिका अन्जु पन्तको स्वर रहेको गीत पुनः गाउनु खुद्रा जोखिम अवश्य होइन ।

तर, जोखिमबारे थाहा थिएन भने पनि रचनाले लिएको जोखिम वा अपनाएको बाटोबाट पक्कै केही सिक्नेछिन् । आफूलाई अझैं म्याच्युर्ड बनाएर लैजानेछिन्, अझै तिखारेर लैजानेछिन् । यसको थप प्रमाण त रियालिटी शोदेखिको यहाँसम्मको उनको यात्रालाई हेरे पनि पुग्छ, धेरै टाउको दुखाउन आवश्यक नै छैन ।

‘गीत पुनः अर्कैको स्वरमा रेकर्ड हुँदा अन्जुलाई अन्याय भयो ।’

सलह किरा जसरी नेपाल आइपुगेको थियो, त्यसैगरी यस्ता प्रतिक्रियाहरु छ्यापछ्याप्ती छन् । अन्जुलाई कसरी अन्याय भयो ? उनको गीत नवोदित गायिकाले गाइदिँदा यसै विराट क्षेत्रमा फैलिएकी अन्जु झनै फैलिइन् । उनको स्वर झनै विस्तार भयो । अन्जुलाई सम्झिरहेका हामीलाई झनै सम्झनुपर्ने बनाइन् रचनाले ।

अन्जुको स्वरको ओज, मादकता उस्तै छ । त्यसमा अझै थप गरिदिइन् रचनाले ।

०००

पुराना गीतहरु पुनः रेकर्डिङ गर्ने लहरै चलेको छ पछिल्लो समय । चाहे ‘फुलबुट्टे सारी’ होस् या ‘तिमी तारे भीर’ । वा बजारमा आएका अन्य गीतहरु !

सबै गीतले पुनः रेकर्ड हुने सौभाग्य पाउँदैन । जुनजुन गीत दर्शक स्रोताले मिस गरिरहेका छन्, त्यस्तै गीतहरु पुनः रेकर्ड भइरहेका छन् । कत्ति गीतले ओरिजिनल स्रष्टाहरुलाई फाइदा नै भएको छ । दर्शक स्रोताले सम्झिरहेको, तर अनेक बाध्यताले दृश्यमा नदेखिएका स्रष्टालाई पुनः देखाइदिएका छन् ।

नयाँ गीत सृजना गर्न नसकेर पुरानैलाई पुनः रेकर्ड गराइएका आलोचनात्मक टिप्पणीहरु पनि बेलाबेला सुनिन्छ । त्यसो हो भने चाहिँ ईश्वरले कृपा गरुन्, हामी स्रोताले त माया मात्रै दिने हो ।

तर, पुराना गीतहरु पुनः रेकर्ड हुनु आफैंमा नराम्रो कुरा होइन । यसले अन्ततः स्रष्टालाई नै फाइदामा पुर्याउँछ । यसको जल्दोबल्दो उदाहरण अन्जु स्वयं हुन् । ‘हाँस्नलाई ओठ खोले’ गीत पहिल्यै रेकर्ड भएको थियो । तर, चाहेजति स्रोतामाझ पुग्न सकेन, जब अन्जुले गाइन्, तब गीत दूरदूरसम्म फैलियो ।

०००

कसरी, कुन सर्तमा रेकर्ड भयो गीत ? प्रथम प्रश्न यो होला ।

‘किरण’ एल्बममा समावेश यो गीतलगायत एल्बममा समावेश गीतहरु गीतकार विपिन किरणले लगानी गरेका थिए । रन्जना क्यासेटले बजारमा ल्याएको यो एल्बमबाट किरणले कति रोयल्टी पाए लगानीकर्ताको हैसियतमा, यो उनैलाई थाहा होला ।

अन्जुले गाएको गीत ‘म्युजिक नेपाल’मार्फत् सार्वजनिक भएको छ । त्यहाँबाट प्राप्त भ्युजमार्फत् स्रष्टाहरुले कति रोयल्टी पाए, छलफलको अर्को विषय होला । रोयल्टीको लडाइँमा किरण स्वयं, संगीतकार पारस मुकारुङ, लक्ष्मण शेष, सुदाम थापा, सुरेश अधिकारी, महेश खड्का, सत्य-स्वरुपराज आचार्यलगायत लडिरहेकै छन् । रोयल्टीकै लडाइँमा लड्दालड्दै न्याय नपाइ प्रेमध्वज प्रधानहरुले संसार छाडेर गइसके ।

अहिलेको नेपाली संगीत प्रवासमा बस्ने गीतकारहरुले धानेको देखिन्छ । अरबमा बालुवा छानेर वा युरोप-अमेरिकाका मार्टमा १६ घण्टासम्म हड्डी घोटेर कमाएको पैसाले अहिलेको संगीत बजार चलायमान बनाएको देखिन्छ । दैनिक दर्जनौँ संख्यामा सार्वजनिक भइरहेका गीतहरु हेर्ने हो भने ७५ प्रतिशतभन्दा ज्यादा लगानी प्रवासमा रहेका नेपालीहरुको छ, जो आफैंमा गीतकार पनि हुन् ।

रेडियो नेपालमा रेकर्डित गीतहरु कहाँ कसको कब्जामा छ, त्यसमार्फत् कसले फाइदा लिइरहेको छ ? ती गीतका स्रष्टाहरुले सृजनाको हकअन्तर्गत रोयल्टी त पाइरहेका छन् ? जसको सुनिश्चितता प्रतिलिपि अधिकार ऐन ०५९ ले तय गरेको छ । ०५९ को त्यो ऐन संशोधनको प्रक्रियामा पनि छ अहिले ।

लहरो तान्दा पहरो थर्किएझैं हामीले हेर्नुपर्ने विषय यी पनि त हुन् ! कतै विपिनले आफ्ना सृजनाहरु आफ्नै बनाउनका लागि आफ्नै च्यानलबाट सार्वजनिक गर्न पारिश्रमिक दिएर रचनाको स्वरमा पो रेकर्ड गराएका हुन् कि ! किनभने व्यवसायिक भनिएका म्युजिक कम्पनीहरुले ९९ वर्षसम्मको समयावधिका लागि प्रतिलिपि अधिकार लिएका उदाहरण प्रशस्त छन् । यो भनेको चार पुस्तासम्मका लागि कसैको सृजना कब्जा गर्नु हो । अनि स्रष्टा बितेको पचास वर्षपछि रोयल्टी फ्री भइहाल्छ । यस्तो सम्झौता खारेज नगर्ने हो भने स्रष्टाको हालत के होला ?

हामीले सामाजिक संजालमा गीतमाथि मात्रै छलफल चलाउनुभन्दा यी र यस्ता अन्यायपूर्ण सवालहरुमाथि छलफल चलायौँ भने स्रष्टाहरुलाई त्यसले बल दिनसक्छ ।

कानूनसम्मत जाने हो भने लगानीकर्ताको अनुमति लिएर मात्रै कलाकारले स्टेजमा गीत गाउन सक्छन् । त्यसमा गीतकार, संगीतकारहरु जोडिन्छन् । गीतकार, संगीतकारले पनि सृजनाको रोयल्टी पाउनुपर्छ ।

‘अन्जुको गीत रचनाले गाइ’ भनेर कोकोहोलो मात्रै गरिरहनुको कुनै अर्थ छैन । प्रतिक्रियाको बाढी ल्याएर मात्रै सबै समस्याको समाधान हुन्न ।

०००

महेश खड्काको संगीतमा रहेको गीतलाई विपिन किरणले आफैं लगानी गरेर ल्याए रचनाको स्वरमा । एउटा गीतकारलाई किन यत्रो दुःख गर्नुपर्यो ? किन आफैं लगानी गरेर, आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुपर्यो ? गायिकामाथि मात्रै बर्खाको भ्यागुता जसरी कराइरहनुभन्दा यतातिर पनि सोच्नु जरुरी छ ।

अहिलेको नेपाली संगीत प्रवासमा बस्ने गीतकारहरुले धानेको देखिन्छ । अरबमा बालुवा छानेर वा युरोप-अमेरिकाका मार्टमा १६ घण्टासम्म हड्डी घोटेर कमाएको पैसाले अहिलेको संगीत बजार चलायमान बनाएको देखिन्छ । दैनिक दर्जनौँ संख्यामा सार्वजनिक भइरहेका गीतहरु हेर्ने हो भने ७५ प्रतिशतभन्दा ज्यादा लगानी प्रवासमा रहेका नेपालीहरुको छ, जो आफैंमा गीतकार पनि हुन् ।

उनीहरुले १६ घण्टासम्म पसिना बगाएर खाजा खाने र सुत्ने समयबाट फुर्सद निकालेर पसिनाले नै लेखेका शब्दहरुलाई झारो टार्ने तरिकाले भरिएका संगीतका थुप्राको उचाइ त सगरमाथाको भन्दा अग्लो छ । संगीतको नाममा संगत भर्यो, घरको चुल्होचौको बाल्यो । चुल्होचौको बाल्ने अभिप्रायले ती प्रवासीहरुको गीतमाथि सृजना गरिएका गीतको हालत के होला ?

पाँच लाख, सात लाख रेमिट्यान्सबाट पठाइमागेर डेढ लाखमा सकाइएका म्युजिक भिडियोका अवस्था के होला ? उनीहरु बेल्चाले बालुवा होइन, पैसा उघाउँछन्झैं सोचेर यहाँ गरिएका कामचलाउ कामहरुको औचित्य के होला ? त्यत्रो लगानीको फिर्तास्वरुप उनीहरुले के पाउँछन् ? केही पनि प्राप्त नहोस् भनेर त पक्कै लगानी गरेका हुँदैनन् होलान् !

हामीले त यता पनि छलफल गरौँ न !

०००

अन्त्यमा, रचना जस्ती प्रतिभावान गायिकालाई अनेक तरहले प्रहार गरेर मनोवैज्ञानिक रुपमा कमजोर बनाउनु न्यायसंगत होइन । गाउने उनको कर्म हो, पेशा हो, उनले गाइन् । भोलिका दिनमा पनि गाइरहनेछिन् । सायद, रचनालाई लगानीकर्ताको हैसियतमा विपिन किरणले नै प्रस्ताव गरेका हुन सक्छन् ।

अन्जुको स्वरमा रहेको गीत पुनः गाउँदैमा रचनाले जघन्य अपराध गरेकी होइनन् । हजारौँ गीत गाएकी अन्जुको एउटा गीत रचनाले गाउँदैमा अन्जुको सबैथोक पनि सकिँदैन । अन्जुमाथि कुनै पहाड खस्दैन । हामीमाझ अन्जुको जुन खालको छवि छ, अन्जुलाई हाम्रो जुन खालको माया छ, त्यो सदासर्वदा रहिरहने छ ।


प्रतिक्रिया

One thought on “अञ्जुको गीत रचनाले गाइन्, के बिराइन् ?

  1. गायकसङ्ग परफरमेन्स राइट हुने कारण कतै गाउन उत्पादक या मारकेटिङ कम्पनी को स्वीकृति चाहिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *