म्यानपावरको अफिसमा पिटिएका युट्यूवरको बेलिबिस्तार – Nepal Press

म्यानपावरको अफिसमा पिटिएका युट्यूवरको बेलिबिस्तार

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरुको विषयमा रिपोर्टिङ गर्न म्यानपावरको अफिसमा गएका युट्यूवरहरु हिजो निर्घात पिटिए । म्यानपावरका सञ्चालकले बाहिरबाट समेत मान्छे ल्याएर उनीहरुमाथि कुटपिट गरेका थिए ।

सामाजिक सञ्जालमा भाइरल भिडिओ हेर्दा निकै निर्दयी आक्रमण भएको देखिन्छ । एक युट्यूवरले बारम्बार माफी माग्दै याचना गर्दा पनि उनीमाथि कुटपिट रोकिएको छैन । यसरी कुटिएका युट्यूवर हुन् हरिप्रसाद पाठक । बिराटनगर घर भएका ४२ वर्षिय पाठक अहिले ग्रीनसिटी अस्पताल बसुन्धरामा उपचाररत छन् ।

हामीसँगको कुराकानीमा पाठकले हिजोको घटनालाई लिएर प्रहरीलाई पनि दोष दिए । प्रहरीले घटनास्थलमै भएका म्यानपावरका मान्छेहरु नपक्रेको र युट्यूवरको तर्फबाट दायर गर्न खोजिएको उजुरी पनि नलिएको उनको भनाइ छ ।

घटनाबारे पाठकको बयान उनकै शब्दमाः

म युट्यूवमा काम गर्न थालेको दुई वर्ष भयो । हाल मेकिङ नेपाल युट्यूव च्यानलमा कार्यरत छु । मंगलबार भएको घटनाले मलाई शारीरिक मात्रै नभएर मानसिकरुपमा पनि निकै चोट पुगेको छ ।

केही दिनअघि ‘वैदेशिक रोजगारीका लागि दुवई गएका व्यक्तिहरू समस्यामा परेको’ भनेर फोन आएको थियो । ज्ञानेन्द्र शाहीको ‘हाम्रो नेपाल हामी नेपाली’ नामक संस्थाका अभियन्ता प्रकाश नायक र दशरथ भण्डारीले मलाई नै फोन गर्नुभएको हो । म्यानपावरमा गएर पिडित र व्यवसायीको अन्तरवार्ता गर्न आग्रह गर्नुभयो । दुवैजना अभियन्तलाई पहिलेदेखि चिनेको भएकाले नाई भन्न सकिनँ । फेरि सामाजिक सरोकारको विषय भएकाले पछि हट्ने कुरा आएन ।

म करिब साढे ११ बजे क्यामरा लिएर ट्रिपल स्टार म्यानपावरमा पुगेँ । मसँगै एवान नेपाल, नेपाल पुकारमा कार्यरत युटुवर साथीहरु दिपेशराज पाण्डे लगायतलाई पनि बोलाइएको रहेछ । वैदेशिक रोजगारीमा गएर अलपत्र परेका पीडित परिवारका १०/१२ जना पनि अभियन्तासँगै हुनुहुन्थ्यो । पीडित र अभियन्तालाई हामीले ट्रिपल स्टार म्यानपावर कम्पनीको कार्यालयमा नै भेटेका हौं । त्यहाँ पुगेपछि सबैसँग छलफल भयो ।

म त्यो म्यानपावरमा पहिलोपटक गएको थिएँ । पीडितले म्यानपावर कम्पनीका सञ्चालकलाई बोलाइदिन अभियन्तासँग आग्रह गरे । त्यस विचमा हामी युट्यूवर साथीहरुले पीडितको समस्या के रहेछ भनेर उहाँहरुसँग अन्तरवार्ता गर्यौं । उहाँहरुले हामीसँग आफ्ना १२ जना परिवारका सदस्यलाई म्यानपावरले भिजिट भिसाबाट युएई पठाएको बताए । म्यानपावरले प्रतिव्यक्ति सात लाखका दरले पैसा लिएका रहेछन् । तर उता पुगिसकेपछि काममा पनि नलगाइएको र खान बस्न पनि नदिएको भनेर परिवारमा खबर गरेछन् । हामीले उनीहरुसँगको कुराकानी सबै खिच्याैं ।

पीडितको अन्तरवार्ता सक्दा पनि सञ्चालक नआएपछि हिँड्ने तयारीमा थियौं । तर पीडित परिवारले केहीबेर पर्खिन आग्रह गर्नुभयो । त्यसैले हामी १५ मिनेट म्यानपावर कम्पनीको कार्यालयभित्रै कुर्‍यौ ।

१५ मिनेटपछि एकाएक ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक हरिकाजी गुरुङसहित ३० जना म्यानपावर व्यवसायी र ५० जनाजति गुण्डा हुर्रिएर आए । हामीसँग केही पनि सोधपुछ नगरी सिधै जाइलाग्न थाले ।

आक्रोशित बनेर उनीहरु भनिरहेका थिए– ‘हाम्रो मेनपावरमा आएर भिडियो खिच्ने युट्युवर तिमीहरु को हौ ? दुई करोडदेखि धरौटी तिरेर म्यानपावर चलाएका छौ । तिमीहरुले हामीमाथी दादागिरी गर्ने ?’

उनीहरुले हाम्रो क्यामरा खोसे । अनि कुटपिट गर्न सुरु गरे । कसैले लाठीले, कसैले हेलमेटले, कसैले हाम्रै क्यामेराले, कसैले बुटले पिट्न थाले । मलगायत साथीहरु त्यहाँबाट भाग्न धेरै कोशिस गर्यौं । तर बाहिर मेनगेटमा नै ताला लगाइएकाले भाग्न सकेनाैं । मैले माफी मागेर अनुनय गर्दासमेत पिट्न छाडेनन् । मेरो ८० डीको क्यामेरा फुटाइदिए । तीन तोलाको सुनको सिक्री र घडी पनि हरायो । मलाई जिउभरी नै चोट लागेको छ । सबैभन्दा बढी टाउको, छाती, हात-खुट्टामा चोट छ । अहिले उपचार चलिरहेकाे छ ।

म्यानपावरका सञ्चालकले आफु त्यहाँ उपस्थित नरहेको भनेका छन् रे । तर, मेरो क्यामरा फुटाएको त्यही म्यानपावरका सञ्चालक हरिकाजी गुरुङले हो । यसअघि मलगायत साथीहरु वेस्टर्न, इसान, गुडलक लगायतका म्यानपावर कम्पनीले पनि ठगी गरेको विषयमा उनीहरुको कार्यालयमा भिडियो खिच्न गएको थिएँ । ती तीनवटै म्यानपावरका सञ्चालक कुटपिटमा संलग्न छन् ।

उनीहरुले ‘तिमीहरु नै हो हाम्रो म्यानपावर आएर भिडियो खिच्ने’ भन्दै हामीलाई ताकी–ताकी कुटपिट गरेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियो हेरेपनि थाहा भइहाल्छ, कति निर्घात कुटेका छन् भनेर । घटनास्थलमा प्रहरी आइपुग्दा म्यानपावरका केही मान्छेहरु त्यहीँ थिए । तर, प्रहरीले कसैलाई पनि पक्राउ गरेन । हामीलाई मात्रै नियन्त्रणमा लियो । प्रहरीकै अगाडि पनि म्यानपावर कम्पनीका सञ्चालक र गुण्डाहरु हामीलाई गाली गरिरहेका थिए । एकैछिनपछि सबैजना कता भागे, भागे । अहिले पनि हाम्रो तर्फबाट केही साथीहरु प्रहरीमा मुद्दा दर्ता गराउन गएका थिए । तर, हाम्रो मुद्दा दर्ता गर्न प्रहरीले नमानेको भन्ने सुनेको छु ।

यो घटना हुनुभन्दा करिव एक घण्टाअघि नै पीडितका परिवारले शंका लागेर प्रहरीलाई पूर्वसूचना दिएका थिए । तर, प्रहरीले यसलाई गम्भीर रुपमा नलिएर आएन । प्रहरीले बेलैमा सुनुवाई गरेर आएको भए यो घटना हुने थिएन ।

पछिल्लो समय युट्यूवरले घटनास्थलमा नै पुगेर सत्यतथ्य कुरा सार्वजनिक गरिरहेका छन् । युट्यूव अहिले आवाजविहिनहरुको आवाज बनिरहेको छ । तर, सामाजिक सञ्जालमा उल्टै युट्यूवरको नै विरोध भइरहेको देख्दा आश्चर्य लाग्छ । खासगरि, ठूला मिडियाहरुलाई युट्यूवले टाउको दुखाइरहेको छ । ठूला मिडियामा काम गर्ने पत्रकारहरु नै बढी युट्युवरलाई गाली गरिरहेका हुन्छन् ।

यस घटनालाई हेर्दा युट्यूवर असुरक्षित छन् भन्ने देखिएको छ । एक–दुईजना युटुवर र एक–दुईजना पीडित म्यानपावर कम्पनीमा जान डर हुनु भयो । त्यसैले अब एकैपटक सैयौं पीडित र पीडितका परिवार तथा युट्यूवर एकजुट भएर जानुपर्ने स्थिति आएको छ ।

मसँग खासमा व्यापार व्यवसायमा पनि संलग्न छु । सूचना विभाग वा प्रेस रजिस्टार कार्यालयबाट कार्ड लिएको छैन । तर, आफ्नो युट्यूवको कार्ड छ । मेकिङ नेपाल प्रालि दर्ता भएको कम्पनी हो । युट्युव च्यानल चाहिँ दर्ता छ कि छैन भन्ने मलाई जानकारी भएन, सञ्चालकसँगै सोध्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *