अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ) – Nepal Press

अब ढिलाई सहन सकिन्न: मन्त्री आले (भिडिओ)

रुपन्देही । निर्माणको अधिकांश काम सकिएर पनि लामो समय रोकिएको रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी बुद्धजयन्तीमा जसरी पनि अन्तर्राष्ट्रिय उडान हुने संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् ।

शनिबार अनुगमनका लागि भैरहवा विमानस्थल आएका मन्त्री आलेले अब कुनै बहानामा ढिलाई नहुने दावी गरे । परीक्षण उडानको तयारीमा रहेको तर पटकपटक मिति सर्दै आएकाले धेरैलाई विश्वास गर्न नै कठिन भएको तर अब त्यसो नहुने उनले बताए ।

उनले भने,म पत्रकार साथीहरुलाई साक्षी राखेर भनेको छु अब कुनै बहानामा ढिलाई हुँदैन म यहीँबाट निर्देशन दिन चाहन्छु बुद्धजयन्ती यसको अन्तिम मिति बनोस् उडानका लागि, त्यो भन्दा अगाडि भए अझै राम्रो सन्देश जान्छ म विशेष धन्यवाद दिनेछु ।’

मौसम प्रतिकूलताका कारण पछिल्लो समयमा परीक्षण उडानमा ढिलाइ भइरहेको उनको भनाइ छ । यो विमानस्थलप्रति विश्वकै ध्यानाकृष्ट भएको भन्दै मन्त्री आलेले त्यसका लागि सबैको साथ आवश्यक रहेको बताए ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले मौसम अनुकूल बन्दै गए ढिलोमा पनि परीक्षण उडानका लागि थाइल्याण्डदेखि आउँदो फेबु्रअरी २१का दिनसम्म विमान नेपाल अवतरण हुने गरी कार्यतालिका तयार पारिएको जनाए ।

परीक्षण उडानका लागि विमानसहित मौसम, संचार र विमानको दिशा पत्ता लगाउने लगायतका निर्माण कार्यको जिममा लिएको थाइल्याण्डको सरकारी विमान कम्पनी एरो थाइ कम्पनीका नेपाल प्रतिनिधि बिजेन्द्र श्रेष्ठले एरो थाइ कम्पनीका तर्फबाट विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउन्ड चेकको कार्य जारी रहेको जानकारी गराए ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरिक्षणका लागि मन्त्री आलेसँगै मन्त्रालयका सचिव,नेपाल नागरिक उड्ययन प्राधिकरणका निमित्त महानिर्देशक,राष्ट्रिय गौरव आयोजनाका निर्देशक,राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक लगायतको टोली सहभागी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर