विज्ञप्तिमा ‘तालीबानी प्रकरण’: किन चुकिरहन्छ मधेस प्रदेश ? – Nepal Press

विज्ञप्तिमा ‘तालीबानी प्रकरण’: किन चुकिरहन्छ मधेस प्रदेश ?

जनकपुरधाम । बुधबार जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भयो । झडपमा केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए ।

किसान आन्दोलनको नाममा जनमत पार्टी का कार्यकर्ताले गरेको प्रदर्शनका विषयमा बुधबार नै प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले विज्ञप्ति जारी गरेको समाचार आयो । तर उनले जारी गरेको भनिएको विज्ञप्ति अहिलेसम्म सार्वजनिक भएको छैन । सामाजिक सञ्जालमा उनको नामबाट वक्तव्य जारी भएको थियो । त्यसकै आधारमा पत्रकारहरुले समाचार लेखेको थिए ।

बुधवार राति करिब ९ बजे पत्रकार वैद्यनाथ यादवले ‘तालिबानी आतंककारीहरुविरुद्ध प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण’ शीर्षकको वक्तव्य अर्थमन्त्री साहको फेसबुकमा ट्याग गरे । यादव मन्त्री साहको गृहजिल्ला सप्तरीका पत्रकार हुन् ।

उनले मन्त्री साहलाई फेसबुकमा ट्याग गरेको वक्तव्यमा ‘जनमत पार्टीका कार्यकर्ताहरुले गरेको तोडफोड एवम् हिंसाजन्य गतिविधिप्रति मधेस सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न प्रदेश सरकार तालुक निकायलाई निर्देशित गर्दछ’ भन्ने उल्लेख छ ।

सो वक्तव्यमा मन्त्री साहको नाम, पद र नम्बर उल्लेख भए पनि हस्ताक्षर छैन । तर त्यसलाई नै आधार मानेर पत्रकारहरुले प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री साहले विज्ञप्ति जारी गरेको भन्दै समाचार सम्प्रेषण भयो । तर अहिलेसम्म कुनै मिडियाले आधिकारिक विज्ञप्तिबारे सोधखोज गरेको छैन ।

जनकपुरका एक पत्रकारले सामाजिक सञ्जालमा विज्ञप्ति देखेको र त्यसै आधारमा समाचार सम्प्रेषण गरेको बताए । ‘मैले जुन विज्ञप्तिको आधारमा समाचार लेखें, त्यो लेटरप्याडमा हस्ताक्षर थिएन’, उनले भने । विज्ञप्ती नै ठानेर मन्त्री साहलाई नसोधेको र हतारमा समाचार लेखेको उनको भनाइ छ ।

मन्त्री साहले जारी गरेको भनिएको विज्ञप्ति मन्त्रालयको वेभसाइटमा पनि छैन । मन्त्री साहले भने जनमत पार्टीका कार्यकर्ताले किसान आन्दोलनको नाममा गरेको तोडफोड र हिंसात्मक गतिविधिविरुद्ध विज्ञप्ति जारी गरेको बताए । विज्ञप्ति त कतै देखिन्नँ नि ? भन्ने जिज्ञासामा उनले भने, ‘पत्रकारहरुलाई मेल त गएको होला ।’ उनले विज्ञप्ति पठाइदिन्छु भनेर इमेल आइडी मागे । तर केहीबेरपछि फेसबुक म्याजेन्सरमै विज्ञप्ति आयो ।

मन्त्री साहले पठाएको विज्ञप्तिमा न हस्ताक्षर न लेटरप्याड प्रयोग गरिएको छ । अचम्म त यो भयो कि अघिल्लो दिन पत्रकार यादवले ट्याग गरेकै वक्तव्य हुबहु मन्त्री साहले सेन्ड गरेका रहेछन् । मात्र ‘तालिबानी आतंककारीहरुविरुद्ध प्रदेश सरकारका गम्भीर ध्यानाकर्षण’ भन्ने शब्द हटाइएको छ । पत्रकार यादवले ट्याग गरेकै वक्तव्यलाई मन्त्री साहले विज्ञप्ति भनेपछि अहिले विभिन्न खालका टिकाटिप्पणी हुन थालेको छ ।

यसअघि पनि प्रदेश सरकार विज्ञप्तिका मामलामा पटक–पटक चुकेको छ । माघ ३ मा प्रदेशसभाबाट प्रदेशको स्थायी राजधानी जनकपुरधाम र नाम मधेस तय भएपछि मन्त्री साहले सार्वजनिक विदा दिने निर्णय प्रदेश सरकारले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको थियो । त्यतिबेला पनि मन्त्री साहको आलोचना भयो, पछि आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले आधिकारिक रुपमा विज्ञप्ति जारी गरे ।

केहि महिना अगाडि विज्ञप्तिकै मामलामा मुख्यमन्त्री लालबाबु राउतसमेत चुकेका थिए । नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष स्व. रामानन्द गुप्ता जिउँदै रहेका बेला निधन भएको भन्दै मुख्यमन्त्री राउतले विज्ञप्ति जारी गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यतिबेला समाजिक सञ्जालमा उनको व्यापक आलोचना भयो । पछि उनले माफी मागे ।

वरिष्ट पत्रकार अर्जुन थपलियाले फेसबुकलगायतका सामाजिक सञ्जालमा जारी गरिएको विज्ञप्तिलाई आधिकारिक मान्न नसकिने तर्क गर्छन् । ‘सरकारले गरेको निर्णय दर्ता चलानी भएको लेटरप्याडमा आधिकारिक व्यक्तिको हस्ताक्षरसहित बाहिर आउनुपर्ने हो’, उनले भने, ‘सामाजिक सञ्जालमा लेखेको कुरालाई आधिकारिक मान्न सकिँदैन । यो अपरिपक्वता, गैरकानूनी र हावादारी हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर