माओवादीले तोक्यो प्रदेश १ का आठ जिल्लामा संयोजक – Nepal Press

माओवादीले तोक्यो प्रदेश १ का आठ जिल्लामा संयोजक

महाधिवेशनको कार्यदिशा अनुसार उत्पादन थाल्न तीनवटा कार्यदल गठन

विराटनगर । नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ का केही जिल्लामा संयोजक तोकेको छ । माओवादी केन्द्र प्रदेश १ समितिको मंगलबार विराटनगरमा बसेको दोस्रो बैठकले १४ जिल्लामध्ये आठ जिल्लामा जिल्ला संयोजकहरू तोकेको हो ।

जसअनुसार खोटाङमा दीपक पाण्डे, उदयपुरमा विनोद कट्वाल, सोलुखुम्बुमा असिम राई, भोजपुरमा नगेन्द्र भुजेल, तेह्रथुममा इम्जुङ, संखुवासभामा टेकमान राई, पाँचथरमा होमबहादुर जबेगु र इलाममा सोममाया राई संयोजक तोकिएका हुन् ।

त्यस्तै बैठकले आफ्नै प्रदेश कार्यालयको भवन बनाउने निर्णय गर्दै कार्यालयको इन्चार्जमा टंक गिरी र सचिवमा मातृका बराललाई जिम्मेवारी दिएको छ । बैठकले निर्वाचन क्षेत्र तथा पालिका इन्चार्ज तोक्ने निर्णय पनि गरेको छ ।

माओवादीले आठौं महाधिवेशनले पारित गरेको कार्यक्रमअनुसार उत्पादन थाल्न तीनवटा कार्यदल समेत गठन गरेको छ । उपाध्यक्ष शिवकुमार डाँगी संयोजक रहेको उत्पादन सम्बन्धी अध्ययन कार्यदल, उपाध्यक्ष मणिकुमार साम्पाङ संयोजक रहेको सूचना प्रविधि उपयोग सम्बन्धि अध्ययन कार्यदल र अर्का उपाध्यक्ष देवान चाम्लिङ संयोजक रहेको सर्वेक्षण कार्यदल बनाएको हो।

त्यस्तै पार्टीले आगामि फागुन चैतसम्म संगठनात्मक अभियान चलाउने, वडा तहसम्म महाधिवेशनको मूल भाव सम्प्रेषण गर्न प्रशिक्षण आयोजना गर्ने, पार्टीले गरेका कामको प्रचार गर्ने र एक वडामा न्यूनतम ३ टोल कमिटी निर्माण गर्ने तथा एक टोल कमिटीमा ३ सेल कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै जनवर्गीय संगठन र मोर्चाको बाँकी सम्मेलन वडादेखि गर्दै वैशाखसम्म प्रदेश सम्मेलन गर्ने, पार्टी सदस्य संख्या थप १ लाख ५० हजारलाई वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

पालिका अधिवेशन सक्न बाँकी पालिकालाई माघ मसान्तसम्ममा सक्न पनि बैठकले निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर