जसपामा उपेन्द्रविरुद्ध दुई तिहाइ, बाबुरामलाई अध्यक्ष बनाउन दबाब – Nepal Press

जसपामा उपेन्द्रविरुद्ध दुई तिहाइ, बाबुरामलाई अध्यक्ष बनाउन दबाब

काठमाडौं । महन्थ ठाकुर विभाजित भएको ६ महिना नपुग्दै सत्तारुढ जनता समाजवादी पार्टी पुनः विभाजनको डिलमा पुगेको छ । यसपटक उपेन्द्र यादव जसपा केन्द्रीय कार्यकारिणी समितिभित्र चरम अल्पमतमा परेका छन् ।

निरंकुश कार्यशैली, नेताहरूसँग सल्लाह नगरी आफूखुसी निर्णय गर्ने र सीमित जातीय घेरामा मात्र रहने स्वभावका कारण यादव एक्लिएको जसपाका नेताहरूले बताएका छन् ।

पार्टी विभाजनअघि ५१ सदस्य रहेको जसपा कार्यकारिणी समितिमा हाल २६ जना सदस्य छन् । २६ सदस्यमध्ये उपेन्द्रको विपक्षमा २० जना पुगिसकेको सोही समितिका एक सदस्यले नेपाल प्रेसलाई बताएका छन् ।

राष्ट्रियसभा चुनावलगत्तै यो दुई तिहाइ बहुमतको प्रयोग पार्टीभित्र कसरी गर्ने भन्ने टुंगो लाग्ने ती नेताले बताए । बहुमत पक्ष वैशाखमा स्थानीय चुनाव हुने अवस्थामा पार्टीभित्रका कतिपय विवाद थाती राख्ने पक्षमा थियो ।

तर, सत्ता गठबन्धनको आइतबार बसेको बैठकले वैशाखमा चुनाव नगर्ने सहमति जुटाएपछि अब जसपाको विवादलाई वैधानिक ढंगले हल गर्न उपेन्द्रमाथि दबाब बढाइने नेताहरूले बताएका छन् ।

अहिले जसपामा उपेन्द्र यादवविरोधी खेमाको नेतृत्व डा. बाबुराम भट्टराईले गरेका छन् । महन्थ ठाकुरले पार्टी विभाजन गरेपछि रिक्त रहेको अध्यक्ष पदमा बाबुरामलाई चयन गर्न उपेन्द्रमाथि दबाब छ । तर, उनले जसपामा अब एकमात्र अध्यक्ष हुने भन्दै महन्थको वहिर्गमनसँगै दुई अध्यक्षको च्याप्टर क्लोज भएको बताएका छन् ।

यादवनिकट नेता योगेन्द्र यादवले अब जसपामा दुई अध्यक्ष नरहने बताएका छन् । तर, पार्टी महाधिवेशनले एकल अध्यक्ष चयन नगरेसम्म विधानको व्यवस्थाअनुसार उपेन्द्रभन्दा माथिल्लो वरीयतामा बाबुरामलाई अध्यक्ष बनाउन बहुमत जुटेको छ ।

पछिल्लो समय अशोक राईले समेत बाबुरामलाई साथ दिएका छन् । राई अहिले मौन रहे पनि निर्णायक बेलामा बाबुरामकै पक्षमा उभिने उनीनिकट नेताहरूले बताएका छन् । राष्ट्रियसभा निर्वाचनपछि अशोक खुलेर उपेन्द्रविरुद्ध लाग्ने उनीहरूको भनाइ छ ।

बाबुरामनिकट नेता नवराज सुवेदीले यथास्थितिमा जसपा रहन नसक्ने भन्दै राष्ट्रियसभा निर्वाचनपछि निर्णायक छलफल हुने बताए । उनले उपेन्द्र यादवको कार्यशैली नफेरिए जसपामा दुर्भाग्यपूर्ण परिस्थिति आउने बताए ।

केन्द्रीय कार्यकारिणी समितिका २६ मध्ये हाल उपेन्द्रको पक्षमा वनमन्त्री समेत रहेका रामसहायप्रसाद यादव, भौतिक पूर्वाधारमन्त्री रेणु कुमारी यादव र केन्द्रीय कार्यालय समिति सचिवसमेत रहेका प्रकाश अधिकारीमात्र प्रष्टसँग खुलेका छन् ।

बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्तिवाला समूह र अशोक राई नेतृत्वको संघीय समाजवादी समूहका नेताहरू सबै एकै ठाउँमा छन् । उनीहरूलाई उपेन्द्र यादव समूहका इस्तियाक राई, प्रदीप यादवलगायतले समेत खुलेर साथ दिएपछि यादव कार्यकारिणी समितिमा निरीह बनेका हुन् ।

जसपामा उपेन्द्रमाथि दबाब बढाउन राजनीतिक र सैद्धान्तिक धेरै विषयहरू विवादमा रहे पनि पहिलो शर्त बाबुरामलाई अध्यक्ष बनाउनुपर्ने रहेको र त्यसबाटै अरु विषय अघि बढ्ने नेताहरूको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर