अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ? – Nepal Press

अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?

काठमाडौं । चार वर्षदेखि किचलो पन्छाउँदै प्रदेश २ ले हिजो आफ्नो नामाकरण गर्न सफल भएको छ । प्रदेश सभाको दुई तिहाइ मतले ‘मधेश’ नाम पारित गरेसँगै विभिन्न खाले मतहरू प्रकट भइरहेका छन् ।

सामाजिक सञ्जालमा एकथरिले नामाकरणको स्वागत गरेका छन् त अर्कोथरीले आलोचना । आलोचकहरूले ‘मधेश’ शब्द नै गलत भएकाले नामाकरण त्रुटीपूर्ण भएको बताएका छन् । समर्थकहरूले यो शब्दले ‘पहिचान’ झल्किएको र संघीयता सार्थक बनेको दाबी गरेका छन् । प्रदेश सरकारले खुसीयाली मनाउन भन्दै सार्वजनिक बिदा नै दियो ।

हामीले नेपालको इतिहास, संस्कृति तथा संविधानका ज्ञाता दुई हस्तीलाई प्रदेश २ को नामाकरणबारे प्रश्न गर्‍यौं । संस्कृतिविद् जगमान गुरुङ र संविधानविद् डा. युवराज संग्रौलाले ‘मधेश’ शब्द प्रदेश २ को पहिचानसँग तादाम्य नराख्ने बताए । यो प्रदेशको नाम ‘मिथिला’ राखिएको भए सर्वस्वीकार्य र तार्किक हुने उनीहरूको भनाइ छ ।

डा. युवराज संग्रौला भन्छन्-

मधेश भन्ने शब्दको नेपालमा कुनै एतिहासिक मूल्य छैन । न यो भाषासँग जोडिएको छ, न संस्कृतिसँग, न भूगोलसँग । त्यसैले मधेश नामले प्रदेश २ को पहिचान बोक्यो भन्नु बेतुकको कुरा हो ।

नेपाल कहिले ठूलो, कहिले सानो थियो । पहिले भारतको उत्तर प्रदेशको धेरै ठूलो भाग नेपालमा पर्थ्यो । म त्यता जान चाहन्नँ । तर, मधेश भन्ने शब्दले ती ८ जिल्लाका जनतालाई के गौरव दिन्छ ? मलाई लाग्छ केही पनि दिँदैन । प्रदेश नामाकरण राजनीतिक हिसाबबाट भएको छ । कसैलाई खुसी पार्न खोजिएको छ ।

नेपालमा मधेशी भाषा भन्ने छैन । मधेशी सभ्यता भन्ने छैन । मधेशी संस्कृति पनि छैन । पहिलेदेखि मैले भन्दै आएको हो, प्रदेश २ को नाम मिथिला राख्दा राम्रो हुन्छ । नेपालमा विकास भएका केही महत्वपूर्ण सभ्यतामध्ये एउटा मैथिल सभ्यता हो । त्यो नेपालको आफ्नो सभ्यता हो । भारतबाट आयातित होइन । उहाँहरूले मिथिला नामाकरण गरेको भए नेपालको सभ्यताको प्रतिनिधित्व हुन्थ्यो । त्यहाँका बासिन्दाले गौरव गर्न सक्थे ।

मिथिला प्रदेश नाम राखेको भए मैथिली भाषा, मिथिला सभ्यता, त्यसको एउटा अत्यन्त लामो इतिहास, कौशिकी ब्राम्हणहरूको राज्य, हिजो जनकको त्यो क्षेत्र सबै समेटिन्थ्यो । आजको मोरङ, झापा, सिन्धुलीदेखि रामेछापसम्म पर्थ्यो हिजो त्यो सभ्यता । संसारको एउटा सभ्यताको प्रतिनिधित्वि हुन्थ्यो । भारत जेमा चुकेको थियो, त्यो उहाँहरूले पाउनुहुन्थ्यो । तर, उहाँहरू पनि चुक्नुभयो । भोलि मान्छेहरूले जतिबेला थाहा पाउँछन् यो सबै कुरा, त्यतिबेला उहाँहरूको इतिहास नकारात्मक हुन्छ ।

मधेश भन्ने त बाहिरका शक्तिहरूले नेपाललाई कमजोर बनाउनका लागि कथेको एउटा कहानी मात्रै न हो । कुनै बेला भारतमा ‘मध्यदेश’ भन्ने थियो, जुन अहिलेको लखनउतिर पर्छ । दक्षिण र उत्तरको बीचको टेरिटोरीलाई मध्यदेश भनिएको हो । मध्यदेशबाट भारतको मध्यप्रदेश नामाकरण भएको हो । त्यसको कुनै ऐतिहासिक मूल्य भने छैन । त्यो हलुका शब्द हो ।

मध्येदेशबाट आएकाहरूले आफूलाई मधेशी भन्छन् । तर, त्यसको कहीँ पनि रिसर्च छैन । रिसर्च नभएको कुराको कुनै अर्थ पनि छैन । मध्यदेशको एउटा टुक्रा त्यतिबेला नेपालको तराई पनि पर्थ्यो होला । विहारको कुनै भागमा पनि पर्थ्यो होला । उत्तर प्रदेशको तल पनि पर्थ्यो होला । त्यसो हो भने त इन्डियाको धेरै ठूलो भागलाई मधेश भन्नुपर्ने हुन्छ ।

अर्को कुरा, नेपालमा मेचीदेखि महाकालीसम्म समथल भूभाग छन् जसलाई उहाँहरू मधेश भन्ने गर्नुहुन्छ । अहिले आएर ८ जिल्लालाई मधेश नामाकरण गरियो । बाँकीलाई अब के भन्नुहुन्छ भन्ने प्रश्न पनि उब्जिन्छ । अब ८ जिल्ला बाहेककालाई मधेश भन्न मिल्दैन ।

कुनै तर्क नभएको कुरालाई खण्डन गर्न पनि सकिँदैन र पुष्टि गर्न पनि सकिन्न । मधेश शब्दले उहाँहरूको कुनै पनि भावनालाई, सभ्यतालाई, भाषा र संस्कृतिलाई, जमिनलाई प्रतिनिधित्व गर्दैन । मन परेर राख्नु खुसीको कुरा हो । तर, जनताले सोध्दा उहाँहरूले जवाफ दिन सक्नुहुन्न ।

संस्कृतिविद् जगमान गुरुङ यसो भन्छन्-

नेपालमा मधेश भनेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको समथल भूभागलाई जनाउँछ । अहिले ८ जिल्लाको प्रदेशलाई मधेश भनेर नामाकरण गर्नु धेरै हिसाबले त्रुटीपूर्ण हुन्छ ।

वास्तवमा मिथिला नाम राखिएको भए त्यसमा गौरव हुन्थ्यो । मैथिल भाषाभाषी र संस्कृतिका अनुयायी नेपालमा भन्दा भारतमा धेरै छन् । तर, जनकको राजधानी नेपालको जनकपुरमा छ । जनकपुरलाई राजधानी भन्नु राम्रो भयो । प्रदेशको नाम पनि मिथिला राखिनुपर्थ्यो । तर, बहुमतको बलमा गलत निर्णय भएको छ ।

तराईमा मधेशीहरू मात्रै पनि छैनन् । त्यहाँ पहाडी समुदाय पनि छन् । क्षेत्री, बाहुन, राई लिम्बु, दमाईं कामी सबै छन् । थारु र मुसलमान पनि मधेशी होइनन् । त्यसैले मधेश शब्द राखेर जातीय भावनालाई प्रश्रय दिइएको छ ।


प्रतिक्रिया

4 thoughts on “अध्येताको प्रश्न- ‘मिथिला’ किन लत्याइयो ? ‘मधेश’ ले कसको पहिचान बोक्यो ?

  1. तपाईं हरु जस्तै कथित बुद्धिजीवी हरुले तराईवासीहरुलाई पहिला मर्सिया वा मधेसी को पहिचान दिनु भयो। अहिले मधेस नामाकरन हुन्दा रन्थिनुपर्दैन।

    1. अब मर्स्या बस्ने मधेस भन, त्यसैमा गाैरव गरेर बस , अरू सव गाैरवमय संस्कृति लाई धाेती लगाई देउ ।

  2. नेपालीहरु को छाती माथि बम पड़कियो मधेश प्रदेश नामकरणले !! हाहाहा हाहाहा !!

  3. इतिहासविद ले मन्तब्य दिनुपर्नेमा यो कथित संस्कृतिविद र कथित संविधानविद को विचार किन छापेको होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर